News Desk
दार्चुला — १० भाद्र २०७८
दार्चुला, दार्चुलामा महाकाली लोकमार्गअन्तर्गत गोकुलेश्वर–खलंगा सडकखण्ड अवरुद्ध भएको छ । एक साताअघि महाकाली नगरपालिका–९ बेतस्थित चुनेभिरमा सडक भासिएपछि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।भदौ २ गते भासिएको सडकमा एकतर्फी रूपमा साना सवारी साधन (जीप) चले पनि दुई दिनदेखि सडकमाथिबाट ढुंगा माटो खस्दा पूर्ण रूपमा सडक अवरुद्ध भएको हो ।दत्तुको चुन्याभिरमा सडक पहिरोले बगाउँदा बस, ट्रकलगायतका ठूला सवारी साधानहरू सदरमुकाम खलंगाबाट बाहिर जान तथा भित्रिन सकिरहेका छैनन् । पहिरोले सडक साँघुरो बनाएकाले सुरुका दिनहरूमा जीपलगायत साना सवारी साधनहरू चलिरहेका थिए । तर सडक चौडा बनाउन भीर काट्न थालिएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको दार्चुला प्रहरी प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले बताए ।
सडक भासिएपछि भीर काटेर सडक सञ्चालन गर्ने प्रयास भइरहेको छ । कडा चट्टानी भूभाग रहेकाले उक्त स्थानमा भीर काट्न अझै केही समय लाग्ने देखिन्छ । जिलेटिन अभावमा एउटा एस्क्काइभेटर मेसिनको ब्रेकर प्रयोग गरेर भीर फुटाउने काम भइरहेको छ । अवरुद्ध रहेको सडकलाई अहिले खुलाउने प्रयास भइरहेको डीएसपी भट्टले जानकारी दिए । कतिपय यात्रु सडक भासिएको ठाउँबाट पैदल हिँडेर वारपार गर्नुपर्ने अवस्था छ । अहिले यात्रुहरू बेतसम्म दार्चुलाबाट गाडीमा गइरहेका छन् ।सडक निर्माणको काम भइरहेको चुने भीरबाट पैदल हिँडेर पारिबाट सवारीसाधन बदल्दै यात्रा गरिरहेका छन् ।
चुने भीरमा सडक सञ्चालन गर्न अझै केही दिन लाग्ने निर्माण व्यवसायी नरेन्द्रसिंह धामीले बताए । हिँड्नसमेत विकल्प नहुँदा समस्या भएको छ । मानिसको आवतजावतका लागि पटक–पटक काम रोक्नुपर्दा झनै ढिलाइ भइरहेको उनको भनाइ छ । एक हप्तादेखि सडक अवरुद्ध हुँदा खलंगा बजारमा खाद्यान्न तथा ग्यासलगायत दैनिक उपभोग्य सामान आपूर्तिमा समस्या भएको छ । दत्तुसम्म आएको सामान बोकेर पहिरो खसेको ठाउँ पार गरी अन्य सवारीसाधनमा सारेर ल्याउनुपर्ने अवस्था रहेको खलंगा बजारका एक जना व्यापारीले बताए ।
( कान्तिपुर दैनिक )