News Desk
चितवन — ११ भाद्र २०७८
चितवन, पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक शुक्रबार बिहान सञ्चालनमा आएको छ । सेती दोभानमा पहिरो जाँदा यो सडक खण्ड बिहीबार साँझ साढे ८ बजेदेखि अवरुद्ध थियो । पहिरो पन्छाएपछि शुक्रबार बिहान सवा ९ बजेबाट दोहोरो गाडी चल्न थालेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी सूर्यबहादुर थापाले बताए ।
लगातार वर्षाका कारण यो सडकका अन्य ठाउँमा पनि क्षति पुगेको छ । नारायणगढदेखि १४ किलो मिटर पर लगभग ५० मिटर जति सडक नदीतर्फ भासिएको छ । तर त्यहाँ गाडी चल्न तत्काललाई समस्या नभएको भरतपुरको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए ।
अन्य केही स्थानमा पनि पहिरो झरेका छन् ।साँझदेखि रोकिएका गाडी पार गर्दा हतार नगरी आफ्नो लेनअनुसार चलाउन चितवन प्रहरीले चालकहरूलाई अपिल गरेको छ । तर, लेनअनुसार नचलाइँदा बाटोमा गाडीको जाम सुरु भएको स्थानीयले बताएका छन् ।
( कान्तिपुर दैनिक )