News Desk
काठमाडौँ — ११ भाद्र २०७८
काठमाडौँ, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो साथ छाडेर एमालेमा बसेका दोस्रो तहका नेतालाई ‘हिम्मत नभएका’ भनी टिप्पणी गरेका छन् । बिहीबार पत्रकार सम्मेलन गरेर उनले क्रान्तिकारी चेत भएकाहरू नयाँ आन्दोलनका लागि पवित्र उद्देश्य राखेर नयाँ पार्टी निर्माणमा जुटिरहेको बताए ।‘हिम्मत नभएका त्यत्तिकै थन्किरहेका हुन्छन् । अरूबाट लतारिन्छन्, पछिपछि लाग्छन् । जटिल परिस्थिति सामना गर्ने आँट गर्दैनन्,’ उनले भने ।अध्यक्ष नेपालले आफ्नो समूहका नेता छुटेकामा धेरै चिन्ता नलिने पनि जनाएका छन् । ‘आज केही सहयोद्धा मेरो साथमा हुनुहुन्न, यस्तो हुने गर्छ । मालेकालका सहयोद्धाहरू पनि साथमा हुनुहुन्न, एमालेका पनि हुनुहुन्न । तर हाम्रो यात्रा निरन्तर चलिरहेको छ,’ उनले भने, ‘ती सहयोद्धा हाम्रो यात्रामा समावेश हुन सक्नुहुन्छ । क्रान्तिकारी धारमा अगाडि बढ्नेले सबै चुनौती सामना गर्ने आँट गर्नुपर्छ ।’
एमालेमा विद्रोह अहिलेको आवश्यकता भएको अध्यक्ष नेपालको भनाइ छ । ‘केपी ओलीले पार्टीलाई दक्षिणपन्थी भासमा पारेपछि, सबैखालका मार्क्सवादी मूल्य–मान्यतालाई तिलाञ्जली दिएपछि, उनी व्यक्तिवादमा चुर्लुम्म डुबेपछि, पार्टीलाई आफ्ना निजी कम्पनी ठानेपछि, जनताको बहुदलीय जनवादका सबै मूल्य–मान्यतालाई तिलाञ्जली दिइसकेपछि र क्रान्तिकारी योद्धालाई पार्टीबाट निष्कासन गरिसकेपछि विद्रोह गर्नेबाहेक विकल्प भएन,’ उनले भने ।नेपालले आफ्नो पार्टीमा नेपाली कम्युनिस्ट आन्दोलनलाई ऊर्जा दिने देशभरका क्रान्तिकारी कार्यकर्ता रहेको बताए । ‘पूर्वएमालेमा पीडित भएका मेचीमहाकालीदेखि तराई–हिमालसम्मका सबै कार्यकताले ओलीको समूहबाट विद्रोह गर्नुभएको छ । नेकपा एकीकृत समाजवादीमा समाहित भएको घोषणा गर्दै जानुभएको छ,’ उनले भने । नयाँ पार्टी मा उनलाई केन्द्रीय कमिटीका ५५ र ३० संघीय सांसदले साथ दिएका छन् ।
अध्यक्ष नेपालले जनप्रतिनिधिहरूको पदीय सुरक्षालाई लिएर पार्टी गठनमा केही ढिलाइ भएको बताए । ‘पहिला नै हामी अर्को पार्टी खोलिसक्ने थियौं आवाज पनि आएको थियो । तर औपचारिक रूपमा अर्को पार्टी खोल्न सकेनौं किनभने जनताबाट निर्वाचित जनप्रतिनिधिको भविष्यको चिन्ता गर्नुपर्ने थियो,’ उनले भने, ‘अहिले परिस्थितिमा परिवर्तन भयो । हाम्रो मात्रै होइन अरू पार्टीका निम्ति पनि अध्यादेश जारी भयो । ओलीको पार्टीमा गुम्सिएकालाई उम्किन निकास पायौं । जनप्रतिनिधि पनि जोगाउन सक्यौं ।’ओलीले भन्दा भिन्दै तरिकाले पार्टी चलाउने दाबी नेपालको छ । ‘हामी पुरानो बाटो पछ्याउँदैनौं । क्रान्तिकारी र संस्कारी पार्टी हुनेछ । समाजवादको नेपाली मोडेल अगाडि सार्नेछ,’ उनले भने, ‘यो पार्टी राष्ट्र र जनताप्रति समर्पित हुनेछ । आफ्नो सिद्धान्तप्रति निष्ठावान् भएर लाग्नेछ । निजी स्वार्थमा लाग्ने व्यक्तिको जमात हुने छैन, कु–संस्कारीको झुन्ड हुने छैन । फोटामा आरती उतार्ने काम हुने छैन ।
मार्क्सवाद, लेनिनवादप्रति समर्पित हुनेछ ।’ अध्यक्ष नेपालले एमसीसी परियोजनासम्बन्धी सम्झौता परिमार्जन गरेर मात्रै अनुमोदन हुनुपर्ने आफ्नो पार्टीको धारणा सुनाए । ‘त्यो (एमसीसी परियोजना) कुनै पनि रणनीतिक योजनाको अंग नबनोस् । विदेशीहरूका विरुद्धमा लक्षित नहोस्,’ उनले भने । नेपालले वाग्मतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्य एमालेमै रहे उनीहरूलाई सहयोग गर्न नसक्ने पनि स्पष्ट पारे । ‘यो पार्टीमा रहे ठीक छ । विरोधी पार्टीमा रहेसम्म सहकार्य सम्भव छैन,’ उनले भने ।एकीकृत समाजवादीले बिहीबार विज्ञप्ति जारी गर्दै अनेक षड्यन्त्रका बीच विद्रोह सफल भएको जनाएको छ । यसअघि नेपाल समूहमा रहेका तर विभाजनमा नदिएका नेताहरूलाई समाजवादीले मध्यपन्थी अवसरवादीको संज्ञा दिएको छ ।
( कान्तिपुर दैनिक )