News Desk
परासी — ११ भाद्र २०७८
परासी , पश्चिम नवलपरासीका झरही, तुरिया र पानभार खोलामा आएको बाढीले २ सयभन्दा बढी घर डुबानमा परेका छन् । सयौं बिघा खेतीमा बाढीले क्षति पुर्याएको छ । सदरमुकाम परासीमा झरही खोला बस्ती पस्दा १ सयभन्दा बढी घर जलमग्न भएका छन् । मुख्य बजारको सडकमा खोला पसेपछि पसल तथा उद्योगमा समेत क्षति पुगेको छ ।यस्तै, जिल्लाका सुनवल, बर्दघाट, सरावल, प्रतापपुर र सुस्ता क्षेत्रमा पनि १ सयभन्दा बढी घर डुबेका छन् ।
बाढीले सुनवलस्थित महेन्द्र राजमार्गको डाइभर्सनमा क्षति पुर्याउँदा यातायात बन्द रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख दीपेश बस्यालले बताए । सुनवलको तुरिया पुलमा पनि क्षति पुगेको छ ।डुबान र कटान भएका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेर उद्धारकार्य थालिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए । बाढीले अहिलेसम्म मानवीय क्षतिको विवरण नरहेको प्रशासनले जनाएको छ ।
( कान्तिपुर दैनिक )