धौलीगंगा बाँध खोल्दा महाकालीमा बहाव बढ्दै
News Desk
Aug-27 , 2021 तारिख 03:26 बेलुका

दार्चुला — ११ भाद्र २०७८

दार्चुला, दार्चुलाको सीमावर्ती भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् आयोजनाको बाँध बिहीबार बिहान ७ बजेबाट खोलिएपछि महाकालीमा बहाव बढ्न थालेको छ ।बाँधमा जम्मा भएको बालुवा, माटोलगायत वस्तु सफाइ गर्नका लागि बिहीबार दिनभरि बाँध खोलिने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन दार्चुला जिल्ला प्रशासन कार्यालयले बुधबार सूचना जारी गरी जानकारी गराएको हो ।जिल्ला प्रशासन कार्यालयको सूचनाअनुसार भारतको नेसनल हाइड्रो पावर कर्पोरेसन धौलीगंगा पावर स्टेसन, धारचुलाबाट पठाइएको पत्रअनुसार जलविद्युत् आयोजनाको जलाशय सरसफाइका लागि बिहीबार बिहान ७ देखि बेलुकी ७ बजेसम्म बाँधको सरसफाइको कार्य हुने उल्लेख छ । बाँध खोलिएपछि महाकाली नदीको जलस्तर बढ्न सक्ने जनाउ दिँदै नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको हो ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले धौलीगंगा जलाशयमा पानीसँगै बालुवा, माटोलगायतका वस्तु (सिल्ट) धेरै मात्रामा जम्मा भएकाले त्यसलाई बाहिर निकालेर बाँध सफाइ गरिने जानकारी प्राप्त भएको बताए । उनले सफाइ कार्यका लागि बाँधको ढोका खोलिएपश्चात् महाकाली नदीमा सतह बढ्न जाँदा तटीय क्षेत्रमा जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।बिहानैबाट नदीको सतह धेरै बढेको त छैन, धौलीगंगाबाट बाँध खोलिएपछि ५/६ घण्टापछि मात्रै पानी सदरमुकाम खलंगा पुग्छ । बिहान १०/११ बजेबाट नदीमा बालुवा मिसिएको पानी बगिरहेको छ । नदीको सतह बिहीबार थोरै बढेको हुनाले बाँध खोलिए पनि आत्तिनुपर्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।दार्चुला सदरमुकामबाट करिब १८ किलोमिटर उत्तरपश्चिममा भारतले धौलीगंगा नदीमा जलविद्युत् उत्पादनका लागि बनाएको बाँधबाट २ सय ८० मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ । धौलीगंगा नदीमा ५९ मिटर उचाइ र ३ सय १४ मिटर चौडाइ रहेको बाँध निर्माण गरी जलाशयमा पानी जम्मा गरिएको छ ।

उक्त ड्याम खोल्दा २०७० सालमा महाकाली नदीमा बाढी आएको थियो । यति ठूलो क्षमता भएको बाँध एकैपटक खोल्दा यसको असर दार्चुलालगायत बैतडी, डडेलधुरा र कञ्चनपुरसम्म महाकाली तटीय क्षेत्रमा प्रभाव पार्छ । प्रायःजसो धौलीगंगाको ड्याम रातिको समयमा खोल्ने गरिन्छ ।दिउँसोभन्दा राति नदीमा पानीको सतह बढ्ने स्थानीय बताउँछन् । नदी तटीय क्षेत्र व्यास गाउँपालिका–५ धौलाकोटदेखि तल्लो क्षेत्रका नागरिकलाई नदी छेउछाउ आसपास नजान अनुरोध गर्दै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी सचेत गराएको छ । प्रजिअ जोशीले नदीमा तत्काल पानीको सतह धेरै नबढेको भए पनि एक/दुई दिनसम्म नदीको सतह बढ्न सक्ने भएकाले नदी किनारतिर जाँदा सतर्क रहन तटीय क्षेत्रका बासिन्दालाई सूचनाद्वारा आह्वान गरिएको बताए । बाँधबाट बढी मात्रामा पानी छोडिँदा महाकाली नदीमा बाढी आउने खतरा हुन्छ । महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाउन नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् । नदी तटीय क्षेत्रमा बसोबास गर्ने सबैलाई सुरक्षित भएर बस्न एवं तुइन, ट्युबको प्रयोग गरी महाकालीमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।  

( कान्तिपुर दैनिक )