प्राचीन कृतिका २० लाख 'डिजिटल कपी’ तयार
News Desk
Aug-27 , 2021 तारिख 03:38 बेलुका

काठमाडौँ — ११ भाद्र २०७८ 

काठमाडौँ, राष्ट्रिय अभिलेखालयले प्राचीन कृतिका २० लाख पाना ‘डिजिटल कपी’ तयार पारेको छ । यो वर्ष मात्र १ लाख पाना डिजिटल कपी तयार भएको अभिलेखालयले जानकारी दिएको छ । कार्यालयले ५ वर्षअघि ‘डिजिटाइज’ को काम सुरु गरेको हो ।अभिलेखालयमा २ लाख प्राचीन कृति संग्रह गरिएका छन् । त्यसमध्ये ३५ हजार मूल कपी छन् भने बाँकी माइक्रोफिल्म मात्र छन् । यिनै कृतिका ५३ लाखमध्ये २० लाख पाना ‘डिजिटल कपी’ तयार भएको अभिलेखालय प्रमुख शौभाग्य प्रधानाङ्गले जानकारी दिइन् ।अभिलेखालयले क्यामेराबाट डिजिटाइज गर्न सुरु गरेको थियो । अहिले ‘डिजिटल स्क्यानर’ बाट काम भइरहेको छ । ‘क्यामेराले भन्दा मेसिनले गर्दा गुणस्तर राम्रो हुन्छ,’ अभिलेखालयका प्रमुख छविकार कुमार श्रेष्ठले भने । अभिलेखालयमा पहिला ‘माइक्रोफिल्म’ बनाएर राखिएका ग्रन्थको पनि ‘डिजिटल कपी’ बनाइएको छ । २० लाख पाना नै राष्ट्रिय अभिलेखालयको ‘सर्भर’ मा राखिएको श्रेष्ठले जानकारी दिए । प्रधानाङ्गका अनुसार सिंहदरबारको राष्ट्रिय सूचना केन्द्र र हेटौंडास्थित दैवीप्रकोप उद्धार केन्द्रको सर्भरमा पनि डिजिटल प्रति राखिनेछ । ‘कुनै एक ठाउँमा क्षति भए पनि अर्को ठाउँ सुरक्षित रहन्छ,’ प्रधानाङ्गले भनिन् ।

जर्मन–नेपाल हस्तलिखित परियोजनाले २०२७ देखि २०५७ सम्म ३० वर्ष लगाएर प्राचीन कृतिको माइक्रोफिल्म बनाइदिएको हो । अहिले डिजिटाइज गर्न भने आफ्नै स्रोतमा थालेको प्रधानाङ्गले बताइन् । ‘दातृसंस्था सहयोग गर्छौं त भनिराखेका छन् तर बजेटको समस्या भए पनि सहयोग लिन मन छैन,’ उनले भनिन्, ‘जर्मनले माइक्रोफिल्म तयार गर्दा एक प्रति लग्यो । हाम्रो सम्पत्ति किन अरूलाई दिने भन्ने हो ।’ जनशक्तिको पनि कमी रहेको उनले बताइन् । ‘कम्तीमा ३० कर्मचारी थपिए भने सहज हुन्छ,’ उनले भनिन्, ‘दरबन्दी थोरै हुँदा निकै समस्या भएको छ । भएका दरबन्दी पनि कटौतीमा परेका छन् ।’ प्रमुख छविकार श्रेष्ठले पनि जनशक्ति कम हुँदा काममा कठिनाइ आएको बताए । डिजिटाइज गर्ने जनशक्ति ६ जना थिए । त्यसमा पनि दुई जनाले अवकाश पाए । ‘बाहिरबाट दुई जना ल्याएर काम गरिरहेका छौं,’ उनले भने ।डिजिटल कपी नहुँदा अनुसन्धानकर्ताले अभिलेखालयमा धाउनुपर्ने बाध्यता थियो । अब तोकिएको राजस्व र शुल्क तिरे उपलब्ध हुन सक्छ । ‘पहिला यही आउँथे, राजस्व तिरेर फोटोकपी लैजान्थे,’ श्रेष्ठले भने, ‘कृति लिन नेपालमै आउनुपर्छ भन्दै अनुसन्धानकर्ताको गुनासो हुन्थ्यो । अब यहींबाट पठाउन सक्छौं,’ श्रेष्ठले भने । अनलाइनबाटै रकम तिर्न सकिने प्रबन्ध भने हुन सकेको छैन । ‘यसको व्यवस्था गरिदिन सरकारलाई आग्रह गरेका छौं,’ श्रेष्ठले भने ।

अभिलेखालयमा हस्तलिखित ग्रन्थ, ताडपत्र, भोजपत्र, नीलपत्र, ताम्रपत्र, शिलापत्रलगायत प्राचीन कृति संग्रह गरिएका छन् । राष्ट्रिय दृष्टिकोणले महत्त्वपूर्ण कागजातलाई व्यवस्थित र सुरक्षित राख्ने व्यवस्था राष्ट्रिय अभिलेख ऐन २०४६ ले गरेको छ । विभिन्न माध्यममा लेखिएका हस्तलिखित ग्रन्थ, पुस्तक, आर्थिक विवरण, सन्धि, सम्झौता, पत्रपत्रिका, चिठीपत्र, लिखत, चित्र, तस्बिर, नक्सा, योजना, चार्ट, फाइल, मिसज वा कुनै प्रतिलिपि सुरक्षित गर्ने काम राष्ट्रिय अभिलेखालयले गर्छ ।

त्यसैगरी फिल्म, माइक्रोफिल्म, ध्वनि रेकर्ड, चलचित्र, कम्प्युटर डिस्क, मनि अर्डर फर्म, पहिलो टाँचा लागेको हुलाक टिकट, हवाईपत्र र पोस्टकार्डसमेत अभिलेखालयमा सुरक्षित राख्ने अधिकार कानुनले दिएको छ । २५ वर्ष पुगेका राष्ट्रिय महत्त्वका कागजात अभिलेखालयमा राख्नुपर्ने व्यवस्था छ । यहाँ आठौं शताब्दीको स्कन्दपुराणदेखि पृथ्वीनारायण शाहको दिव्योपदेशसम्म अभिलेख राखिएको छ ।सरकारले २०६४ सालमै यहाँका कृतिका लागि राजस्व र दस्तुर तोकेको थियो । अभिलेख सार्न प्रतिपृष्ठको राजस्व दस्तुर ५० रुपैयाँ र लागत दस्तुर सय रुपैयाँ तिर्नुपर्छ । विदेशीका लागि भने राजस्व र लागत दस्तुर दुवै सय/सय रुपैयाँ तय गरिएको छ । अभिलेखको प्रतिलिपि लिन छुट्टै राजस्व र लागत दस्तुर तिर्नुपर्छ ।

यसमा पनि स्वदेशी र विदेशीलाई फरक दर तोकिएको छ । ‘पोजिटिभ माइक्रोफिल्म’ को एक पृष्ठको १५ रुपैयाँ राजस्व तिर्नुपर्छ ।यसमा लागत दस्तुर लाग्दैन । विदेशीलाई भने लागत दस्तुर २५ रुपैयाँ राजस्व लाग्छ । पोजिटिभ माइक्रोफिल्म फिटमा लिनुपरे प्रतिफिटको ३० रुपैयाँ लागत तिर्नुपर्छ । विदेशीले भने ५५ रुपैयाँ तिर्नुपर्छ । माइक्रोफिल्म रिडर प्रिन्टबाट लिँदा राजस्व प्रतिपृष्ठ १५ रुपैयाँ र लागत दस्तुर २० रुपैयाँ निर्धारण गरिएको छ ।विदेशीले भने राजस्व २५ रुपैयाँ र ३५ लागत दस्तुर रुपैयाँ बुझाउनुपर्छ । त्यसैगरी डिजिटल फोटो क्यामेराबाट लिन प्रतिस्न्याप १५ रुपैयाँ राजस्व र ६० रुपैयाँ लागत दस्तुर बुझाउनुपर्छ । विदेशीलाई भने २५ रुपैयाँ राजस्व र सय रुपैयाँ लागत दस्तुर बुझाउनुपर्छ । कृतिको फोटोकपी लिन राजस्व प्रतिपृष्ठ १० रुपैयाँ र लागत दस्तुर ५ रुपैयाँ तिर्नुपर्छ । विदेशीलाई भने त्यसका लागि राजस्व २० रुपैयाँ र लागत दस्तुर १५ रुपैयाँ तोकिएको छ । ‘यहाँबाट दस्तुर तिरेर सबैले कृति लैजान पाउँछन्,’ श्रेष्ठले भने । 

( कान्तिपुर दैनिक )