News Desk
सिन्धुली — ११ भाद्र २०७८
सिन्धुली , लगातार वर्षापछि खहरेहरूमा आएको बाढीले बीपी राजमार्ग शुक्रबार बिहानदेखि अवरुद्ध भएको छ । राजमार्गको बर्दिवास–सिन्धुलीमाडी खण्डअन्तर्गत कमलामाई नगरपालिका–९ भिमान क्षेत्रका खहरेहरूमा आएको बाढीले लच्कामा ढुंगासहितको गेग्रान थुपार्दा राजमार्ग अवरुद्ध बनेको प्रहरीले जनाएको छ । छ वटाभन्दा बढी खहरेमा आएको बाढीले ठूलो परिमाणमा गेग्रान थुपारेकाले मेसिनमार्फत हटाई यातायात नियमित गर्न सडक आयोजनालाई जानकारी गराइएको सिन्धुली प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए ।
उता पहिरो खस्दा मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डसमेत अवरुद्ध बनेको छ । गोलन्जोर र फिक्कल गाउँपालिकामा आधा दर्जनभन्दा बढी ठाउँमा सानाठूला पहिरो खसेर लोकमार्ग अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।त्यस्तै मदन भण्डारी राजमार्गको सिन्धुलीमाडी–हरिहरपुरगढी खण्डमा पहिरो खस्दा अवरुद्ध बनेको छ । हरिहरपुर गढीको हाक्पारानजिक ठूलो पहिरो खसेकाले राजमार्ग अवरुद्ध बनेको हो ।
( कान्तिपुर दैनिक )