News Desk
काठमाडौँ — ११ भाद्र २०७८
काठमाडौँ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र मानिएका भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतको निमन्त्रणामा नेपाल भ्रमणमा आएको भनिन्छ । तर, भ्रमणको शैली, भेटवार्ता र छलफलका विषय हेर्दा उनी महतले बोलाएर होइन, मोदीले पठाएर आएको अनुमान लगाउन सकिन्छ । पाँचदिने भ्रमणका क्रममा उनले राष्ट्रपतिसँग शिष्टाचार भेट गरे भने नेपालका प्रधानमन्त्रीसहित उच्च तहका नेतासँग भेट्न भ्याए । उनको यो राजनीतिक अध्ययन भ्रमणजस्तो देखिएको छ । काठमाडौं उत्रिनेबित्तिकै उनले आइतबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, सोमबार पूर्वप्रधानमन्त्रीहरू एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तथा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरे । मंगलबार गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, अर्थमन्त्री जनार्दन शर्मा र केही पूर्वमन्त्रीसँग भेटवार्ता गरे । विष्णु पौडेल, विमलेन्द्र निधि र वर्षमान पुनसँग पनि भेटे । स्रोतका अनुसार मेरियट होटलमा बसेका उनले अन्य धेरै व्यक्तिसँग भेटघाट गरेका छन् ।
नयाँ गठबन्धन सरकारसँग सहकार्य गर्न आएका चौथाइवालेले जो, जसलाई भेट्न चाहे, सहजै पाए । ६ महिनाअघि तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमण भने ठीकविपरीत देखिन्छ । ज्ञवाली २०७७ माघ पहिलो साता नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकका लागि नयाँदिल्ली पुगेका थिए । ज्ञवालीले मोदीलाई भेट्न संघर्ष गरे तर सफल भएनन् । सामान्यतया कुनै मुलुकका विदेशमन्त्रीको विदेश भ्रमण हुँदा त्यहाँका सरकार प्रमुखसँग शिष्टाचार भेटवार्ता गर्ने परम्परा छ ।पूर्वपरराष्ट्रमन्त्री एवं वरिष्ठ कूटनीतिज्ञ भेखबहादुर थापाले नेपालबाट परराष्ट्रमन्त्री जाँदा भारतमा प्रधानमन्त्रीलाई भेट्न नपाउने र भारतबाट आउने जोकोहीले नेपालका प्रधानमन्त्रीसहित उच्च तहका पदाधिकारीलाई भेट्न पाउनुले मुलुकलाई सही बाटोमा नडोर्याउने बताए । उनी विदेशी मुलुकसँग नेपालको भेटघाट असमान भएको देख्छन् । ‘प्रत्येक पटक शासनमा रहेका व्यक्तिहरूले आफ्नो कूटनीतिक मर्यादा पालना गर्न सकेका छैनन्, आफैंलाई अपहेलना गरेका छन्,’ उनले भने, ‘मलाई अहिलेसम्म कसैले पनि कूटनीतिक मर्यादा राखेको थाहा छैन ।’
थापाले मुलुकको प्रतिष्ठा कायम गर्न परराष्ट्र मन्त्रालयले विदेशी पदाधिकारीसँग भेटवार्ताका लागि जारी गरेको आचारसंहिताअनुकूल जिम्मेवार व्यक्तिहरूले काम गर्नुपर्ने सुझाव दिए ।नेपालमा भारत, चीन, अमेरिका वा अन्य मुलुकका पदाधिकारी भ्रमणमा आउँदा कूटनीतिक आचारसंहिता पालना गरिँदैन । तत्कालीन प्रधानमन्त्री ओलीले २०७७ पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन नेकपाभित्रको विवाद बुझ्न र त्यसलाई मिलाउन बेइजिङबाट राष्ट्रपति सी चिनफिङले पुस १२ मा चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको चार सदस्यीय विशेष टोली पठाएका थिए ।उक्त टोलीले नेपाल उत्रिएकै दिन राष्ट्रपति भण्डारी र तत्कालीन प्रधानमन्त्री ओलीलाई भेटेको थियो । टोलीले भोलिपल्ट पूर्वप्रधानमन्त्रीहरू माधव नेपाल, पुष्पकमल दाहाल र झलनाथ खनाललाई भेट्यो ।
घर फर्कनुअघि पुस १४ मा तत्कालीन विपक्षी दलका नेता देउवालाई उनको निवास बूढानीलकण्ठ पुगेर भेटवार्ता गरेको थियो । यी सबै भ्रमण कूटनीतिक आचारसंहिताअनुसार भएका थिएनन् । चिनियाँ टोलीसँग त्यस बेला भएको भेटवार्तामा परराष्ट्र मन्त्रालयलाई सहभागी नै गराइएको थिएन । केही वर्षयता भारतीय, चिनियाँ, अमेरिकी र अन्य विदेशी मुलुकका नेता वा कूटनीतिज्ञले नेपाल भ्रमण गर्दा हुने राजनीतिक भेटवार्ताबारे परराष्ट्र मन्त्रालयलाई जानकारी नदिने चलन बढेको देखिन्छ ।पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराई नेपालमा विदेशीसँगको भेटवार्तालाई लिएर तीन मुख्य कुरा रहेको मान्छन् । ‘विदेशीलाई भेट्न पाएपछि के–के न हुन्छ भन्ने छ, हामी विदेशी बढी जान्ने हुन्छन् भन्ने सोच्छौं । दोस्रो, हामी प्रोटोकल (मर्यादा) मा बस्दैनौं । र, तेस्रोचाहिँ हामी अलिकति खुला र अतिथिलाई स्वागत गर्ने स्वभावका पनि हौं,’ उनले भने ।
सामान्यतया पदमा बहाल गरेर सेवा पाउने र सेवापछि पनि राज्यबाट नै सेवासुविधा पाउने उच्च तहका पदाधिकारीले आफूले गर्ने क्रियाकलापमा ख्याल गर्नुपर्छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, अन्य मन्त्री, सभामुखलगायतले पदमा हुँदा र पदबाट बाहिरिएपछि पनि विदेशीसँग भेटघाट गर्दा परराष्ट्र मन्त्रालयसँग समन्वय गर्नुपर्छ । तर जो विदेशी आए पनि मर्यादा नै नहेरी भेटवार्ता गर्ने प्रचलन बढेको छ । पूर्वसचिव भट्टराई विदेशमा एक जना पदाधिकारीलाई भेट्न पनि गाह्रो हुने बताउँछन् ।२०७२ मा नेपालमा संविधान बन्नुअघि भारतबाट हुने भ्रमणका दौरान नेपाली नेताहरू होटलमा लाम लागेर भेट्न पुगेको जगजाहेरै छ । चिनियाँ राष्ट्रपति सीले नेपाल भ्रमण गर्नुअघि सीपीसीका विदेश विभाग प्रमुख सोङ ताओ आउँदा नेपाली नेताहरूले उनलाई भेट्न हानथाप गरेका थिए । परराष्ट्र मन्त्रालयका पूर्वशिष्टाचार महापाल प्रमुख अर्जुनकान्त मैनाली भेटवार्ता गर्न प्रोटोकल हेर्नुपर्ने सुझाव दिन्छन् । ‘कुनै विदेशीसँग उच्च तहका पदाधिकारीले भेटवार्ता गर्दा त्यसको आउटपुट के हो र त्यो मर्यादाअनुकूल छ कि छैन भनेर हुनुपर्छ,’ उनले भने ।
२०७७ कात्तिक ५ मा भारतको अन्तर्राष्ट्रिय क्षेत्रमा गुप्तचरी गर्ने सुरक्षा निकाय ‘रअ’का प्रमुख सामन्त गोयलले प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटवार्ता गरेका थिए । त्यहाँ के भयो कसैलाई थाहा छैन । त्यस भेटमा परराष्ट्रका अधिकारीलाई सामेल गरिएको थिएन । त्यसमा पनि भारतका जासुसी निकायका प्रमुख र नेपालका प्रधानमन्त्रीबीच प्रोटोकल नै मिल्दैन ।पूर्वपरराष्ट्र सचिव भट्टराईले चौथाइवालेको भ्रमणलाई इंगित गर्दै कूटनीतिक मर्यादामा ध्यान दिनुपर्ने बताए । पूर्वपरराष्ट्रमन्त्री थापाले कूटनीतिक र राजनीतिक तहको भेटघाट नियमन गर्न सरकारले बनाएको आचारसंहिता पालना नभएको बताए । दुई जना पूर्वप्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकारसमेत रहिसकेका कूटनीतिविज्ञ दिनेश भट्टराई भ्रमण र भेटवार्ता हुनुलाई सकारात्मक मान्छन् । ‘यसले दुई मुलुक बीचका सम्बन्धलाई थप मजबुत बनाउँछ तर ती भेटवार्तालाई संस्थागत गर्नुपर्छ ।’
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्साल विदेशीसँग हुने भेटवार्तामा परराष्ट्रका अधिकारीलाई खबर गर्नुपर्ने आचारसंहिताको व्यवस्था पालना नभएको स्वीकार गर्छिन् । ‘बहालवाला उच्च पदाधिकारी र पूर्व उच्च पदाधिकारी आफैंले आचारसंहिताको पालना गर्दा उचित हुन्छ,’ उनले भनिन् ।
किन भेटेनन् भट्टराई र यादवलाई ?
भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई भने भेटेनन् । स्रोतका अनुसार भट्टराई र चौथाइवालेबीच राम्रो सम्बन्ध छैन । उनीहरूबीच ट्वीटरमै सवालजवाफ भएको थियो । पछिल्लो पटक गत साउन ६ मा भट्टराईले उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गंगा नदीमा दूध अर्पण गरेको तस्बिर ट्वीट गर्दै लेखेका थिए, ‘आस्था खतरनाक चीज हो । यसले तिमीलाई दूध फाल्ने र पिसाब खाने बनाउँछ ।’जवाफमा चौथाइवालेले लेखेका थिए, ‘प्रिय बाबुरामजी, तपाईं र तपाईंका साथीहरूले हिन्दुको आस्था र परम्परालाई इदको अवसरमा समेत होच्याउँछन् ।’
दुई दिनपछि भट्टराईले धर्मबारे लेखेका थिए । जवाफमा चौथाइवालेले ‘जोक अफ द इयर’ भन्दै भट्टराईजस्तो हिन्दु परम्परालाई केही दिनअघि दुर्व्यवहार गर्नेले धर्मको उपदेश दिएकामा व्यंग्य गरेका थिए । त्यसअघि जेठ १५ मा भारतको पत्रिका ‘द हिन्दु’ मा लेखेको लेखमा भट्टराईले नेपालको आन्तरिक राजनीतिमा भारत र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले हस्तक्षेप गरेको उल्लेख गरेका थिए । लगत्तै चौथाइवालेले भट्टराईलाईट्वीटरमा मेन्सन गर्दै लेखेका थिए, ‘नेपालको आन्तरिक राजनीतिमा भट्टराई जे पनि टिप्पणी गर्न स्वतन्त्र छन् तर लेखमा आरएसएस र भारतमाथिको टिप्पणीले उनी अहिले पनि आफ्नो सपनाको भूमि जेएनयू (जवाहरलाल नेहरू विश्वविद्यालय) मै बसिरहेका जस्ता छन् ।’ भट्टराईले आफ्नो असफलतामा आफूबाहेक अरू सबैलाई आरोप लगाइरहेको चौथाइवालेले उल्लेख गरेका थिए ।
जसपा अध्यक्ष यादवसँग भने चुच्चे नक्सा संसद्बाट अनुमोदन हुँदादेखिको समस्या हो । चुच्चे नक्सालाई संविधानको अनुसूचीमा राख्ने गृहकार्य भइरहँदा जसपा नेत्री सरिता गिरीले विरोध गर्दै भोट नहाल्ने बताएकी थिइन् । लगत्तै उनलाई पार्टीले कारबाही गर्यो । उक्त कारबाही यादवको जोडबलमा भएको भारतीय बुझाइ छ । दोस्रोचाहिँ भारतले ओली नेतृत्वको तत्कालीन सरकारलाई समर्थन गर्न जसपालाई अनुरोध गरेको थियो । त्यसलाई यादव समूहले स्विकारेन । आवश्यकता पर्दा आफूहरूले सहयोग गरे पनि यादवले साथ नदिएको भन्दै चौथाइवालेले नभेटेको स्रोतले जनाएको छ ।
( कान्तिपुर दैनिक )