News Desk
काँकडभिट्टा — पूर्वोत्तर भारतको मिजोरम राज्यसँगको सीमा विवाद सुल्झिएको दुई साता बित्न नपाउँदै अर्को छिमेकी राज्य मेघालयसँग असमको विवाद सुरु भएको छ । चार दिनयता अन्तर राज्य सीमा विवाद चर्किँदा पश्चिमी असमको कार्बीयाङलाङ जिल्ला तनावग्रस्त छ । कार्बीयाङलाङका नेपालीभाषी अर्जुन शर्माकाअनुसार असमको कार्बीयाङलाङ र मेघालयको केरीभोइ जिल्लाबिच दैनिक विवाद जारी छ । ‘प्रहरी र स्थानीयबिच दिनहुँ झडप र भागदौड भइरहेको छ’, शर्माले फोनमा भने, ‘तनाव समाधान हुनेभन्दा पनि बढ्दै जाने सम्भावना छ ।’
खासमा असम–मेघालयको सीमानामा गत सोमबारदेखि तनाव सुरु भएको हो । तनावको कारण सामान्य छ । असममा रहेका आफन्त भेट्न जान लागेका मेघालयका सर्वसाधारणलाई असम प्रहरीले नाकामै दुर्व्यवहार गरेपछि तनाव चर्किएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । कोरोना संक्रमणका कारण नाका वारपारमा निषेध गरिएको थियो । प्रशासनले गरेको निषेधका बाबजुद वारपार गर्न खोजेपछि प्रहरीले रोक्न खोज्दा तनाव भएको हो । पछि दुवै देशका नागरिकबिच पनि कुटाकुट भएको थियो ।
यो क्षेत्रमा नेपालीभाषीको पनि बाक्लो आवादी छ । अन्तर राज्य सीमा विवाद चर्किँदै गए नेपालीभाषीहरूलाई समेत समस्या हुन सक्ने सम्भावना छ ।पूर्वोत्तर भारतका चार राज्यसंँग असमको वर्षौं पुरानो सीमा विवाद छ । मेघालयसँंग करिब ५० वर्षयता निरन्तर सीमा विवाद रहेको छ । ‘सन् १९७२ मा असमवाट अलग्गिएर छुट्टै मेघालय प्रान्त बनेको हो,’ असमका पत्रकार रोहित गौतमले भने,‘त्यही समयदेखि नै निरन्तर असमसँंग सीमा विवाद छ ।’मेघालय सरकार भने असमले मेघालयका १२ क्षेत्र कब्जा गरेर आफ्नो बनाएको दाबी गर्छ । असमले भने उक्त क्षेत्र आफ्नै भुभाग भएको अडान छाडेको छैन । यी १२ विवादित क्षेत्रमा मेघालयसँगको समन्वयबिना असमले अहिले पनि कुनै भौतिक संरचना निर्माण गर्न पाउँदैन । .
महिना दिनअघि अर्थात २६ जुलाईका दिन असम–मिजोरमबीचको सीमानामा विवाद हुँदा असमका ६ सहित ७ जनाको मृत्यु भएको थियो । ५० बढी घाइते भएका थिए । असमको कछार र मिजोरमको लुसाइ हिलबीच लामो समयदेखिको विवादले रणभूमि बनेको त्यो क्षेत्र करिब महिना दिन लामो तनावपछि ५ अगस्टमा साम्य भएको थियो । असम र मिजोरमबीचको करिब एक सय ६५ किलोमिटर लामो सीमामध्ये केही ठाँउमा दुई राज्यबीच विवाद छ ।असमद्वारा मिजोरमलाई अघोषित आर्थिक नाकाबन्दी लगाएको थियो । यी दुइ राज्यबीच पटक–पटक सीमा विवादको घाउ बल्झिरहन्छ । गत वर्षको अक्टोबरमा र २०१८ मा पनि यहाँ सीमा विवाद भएको थियो । त्यसबेला दुवै राज्यका सुरक्षाकर्मीसहित ८ जनाले ज्यान गुमाएका थिए ।
यसपालिको विवाद साम्य पार्न केन्द्रीय गृह मन्त्रालयले सोझो हस्तक्षेप गरेको थियो । जसका कारण छिमेकी राज्यबीचको विवाद समयमै सुल्झियो । दुवै राज्यका सीमानामा केन्द्रीय रिजर्भ पुलिस फोर्स (सीआरपीएफ) खटाइने, केन्द्र सरकारले स्याटेलाइटमार्फत् वैज्ञानिक ढंगले सीमाको नक्सांकन गर्ने आदि कुरामा असम र मिजोरम दुवै राज्यका सरकारी अधिकारी सहमत भएका थिए ।संयुक्त रुपमा जारी वक्तव्यमा असमका वरिष्ठ मन्त्री अतुल बोरो र मिजोरमका गृहमन्त्री लालचमलियानाले हस्ताक्षर गरेका थिए ।