रद्द राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत युनाइटेड नेसन्स पुलिस (अनपोल)को ‘प्रि–स्याट’ (प्रारम्भीक छनोट) परीक्षाप्रहरी प्रधान कार्यालयले एकै चरणमा गर्ने
News Desk
Aug-28 , 2021 तारिख 06:30 बिहान

काठमाडौँ - परीक्षा अगावै प्रश्नपत्र आउट भएपछि रद्द गरिएको संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत युनाइटेड नेसन्स पुलिस (अनपोल)को ‘प्रि–स्याट’ (प्रारम्भीक छनोट) परीक्षा प्रहरी प्रधान कार्यालयले एकै चरणमा गर्ने भएको छ ।

प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालय र सातवटै प्रदेश प्रहरी कार्यालयमार्फत भदौ १७ गते एकै समयमा परीक्षा सञ्चालन गर्ने निर्णय भएको बताए । ‘परीक्षा संचालनमा खटिने प्रहरी अधिकृतहरुले परीक्षाको गोपनियता लगायत तोकिएको मापदण्ड पूर्ण पालना गरी आवश्यक पूर्व तयारी हुनुपर्छ,’ थापाले भने, ‘नियतवश हुने गल्ती/लापरबाही क्षम्य हुँदैन ।’

यसअघिको परीक्षा र प्रश्नपत्र रद्द गरिएपछि नयाँ विधिबाट प्रश्नपत्र तयार पारिएको छ । युएन शाखामा कार्यरत प्रहरीकै मिलेमतोमा घुस लिएर प्रश्नपत्र आउट भएको अनुसन्धानबाट पुष्टि भएपछि साउन १५ र १६ गते लिइएको परीक्षा रद्द भएको थियो ।

प्रश्नपत्र आउट गरेको आरोपमा सई जनक थापा, हवल्दार कुमार शाह र कार्यालय सहयोगी सुरज बम निलम्बनमा परेका छन् । डीआईजी वसन्त लामाको संयोजकत्वमा गठित छानबिन समितिले तीनै जनालाई बर्खास्तको सिफारिस गरेको थियो । यस्तै एसपी अनुपमशमशेर राणासहित ११ प्रहरीमाथि विभागीय कारबाहीको सिफारिस गरिएको थियो ।

त्यसपछि रोकिएको परीक्षा नयाँ प्रश्नपत्र बनाएर एकैदिन सञ्चालन गर्ने निर्णय भएको हो । यसपटक प्रश्नपत्र तयार, परीक्षा सञ्चालन र जाँचमा फरक–फरक प्रहरी कर्मचारी खटाइने छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालय र सातवटै प्रदेशमा परीक्षा सञ्चालनमा खटिने अधिकृतहरुलाई बोलाएर ‘गैरव्यवसायिक कार्य गरिएको पाइए निर्मम रुपमा प्रस्तुत हुने’ चेतावनी दिएका थिए । प्रश्नपत्र आउट गरेर केही प्रहरीले संगठनको छबि धुमिल बनाउने दुष्प्रयास गरेको भन्दै गल्ती गर्ने कसैलाई पनि उन्मुक्ति नदिइने बताएका छन् । आगामी परीक्षा त्रुटि रहित ढंगले सञ्चालन गर्न पन निर्देशन दिएका छन् ।