बाढीपीडितलाई छाक टार्ने चिन्ता
News Desk
Aug-29 , 2021 तारिख 11:08 बिहान

परासी/कपिलवस्तु/लुम्बिनी/सिन्धुली/कञ्चनपुर — १३ भाद्र २०७८

परासी/कपिलवस्तु/लुम्बिनी/सिन्धुली/कञ्चनपुर, पश्चिम नवलपरासीको रामग्राम–१ का रामनाथ बासखोरको कच्ची घर बिहीबार राति बाढीले भत्कायो । मध्यरात बस्तीमा पसेको बाढीले अन्नपात र लत्ताकपडा सबै बगायो । परिवारले छिमेकीको छतमा गएर ज्यान जोगाए । शनिबार पानी सुकेपछि घर रहेको ठाउँ हेर्न आउँदा केही बाँकी थिएन ।घरसँगै बन्दोबस्तीका सामान बगाएपछि परिवार भोकै छन् । ‘घरसँगै सबै सम्पत्ति बगायो, दुई दिनदेखि पेटभरि खाएका छैनौं,’ उनले भने, ‘एकसरो कपडा छ, त्यो पनि भिजेको छ ।’ छिमेकीले शुक्रबार बिहान दिएको चाउचाउ र चिउरा खाएर बसेको उनले बताए । प्रशासन र नगरपालिकाबाट सोधखोज गर्न कोही नआएको उनले गुनासो गरे ।उक्त वडाका घरबारविहीनले अहिले छिमेकीकहाँ आश्रय लिएका छन् । पाल्हीनन्दन–१ का कविता केवटको घरमा पानी पस्दा १० मुरीभन्दा बढी धान नष्ट भएको छ । लत्ताकपडा र भाँडाकुँडा बगाएको छ । ‘अर्काले दिएको राहतले सधैं पुग्ने होइन, भोकै परिने भइयो,’ उनले भनिन्, ‘घरमा भएको अन्नपात नष्ट भयो, धानबालीमा पनि बाढी पस्यो ।’

केवट मात्र होइन, जिल्लाका अधिकांश बाढीपीडितको अवस्था दयनीय छ । छाक टार्न नै धौधौ परेको छ । सुनवल नगरपालिकाले १ सय ९६ घरपरिवार बाढीबाट प्रभावित भएको भन्दै मृत्यु भएका र घर भत्किएका परिवारलाई आर्थिक सहायता दिने, आय प्रभावितलाई कम्तीमा एक महिना पुग्ने खाद्यान्न दिने निर्णय गरेको छ । तर, जिल्लाका अन्य ६ स्थानीय तहले भने शनिबारसम्ममा क्षतिको विवरण संकलनसमेत गरेका छैनन् । रामग्राम नगरमा एक दर्जनभन्दा बढी घर भत्किएका छन् । सडक तथा खानेपानीका पाइपमा क्षति पुगेको छ । मुख्य बजारका पसलमा पानी पसेर लाखौं रुपैयाँको सामान र खाद्यान्न नष्ट भएको छ । विस्थापितका लागि परासीमा पवन माध्यमिक विद्यालयमा खानबस्न व्यवस्था गर्न लागिएको रामग्राम नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले बताए ।

‘पानी नघट्दासम्म हामी उद्धारमा लागेका थियौं । शनिबार पानी घट्यो,’ उनले भने, ‘बाढीपीडितलाई खानबस्नको समस्या हुन दिने छैनौं ।’जिल्लामा बाढीका कारण शुक्रबारयता दुईको मृत्यु र एक जना बेपत्ता छन् । सयौं पशुचौपाया बगाएको छ । एक हजारभन्दा बढी घरमा पानी पसेको छ । सुनवल, परासी र प्रतापपुरमा ४ सयभन्दा बढीले स्थानीय विद्यालयमा आश्रय लिएका छन् । बहाव घटेपछि खोलाले कटान गरेर बस्तीमा पसेको क्षेत्र मर्मत र खाद्यान्नको व्यवस्था गर्न स्थानीय तहसँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए । बाढीले सयौं बिघाको धानबाली पनि नष्ट गरेको छ ।कपिलवस्तु नगरपालिका–११ बनगाईका रामकिसुन केवटले ठूलठूला दुई डेहरी (माटोका भकारी) मा चार/चार क्विन्टल साँवा मसिनो चामल र गहुँ राखेका थिए । ‘बिहीबार राति २ बजेतिर अचानक बाख्रा कराउन थाले,’ उनले भने, ‘स्याल आएर हो कि भनेर उठें । हेर्दा खाटमुनिबाट भेल बगिरहेको थियो ।’ आफूले हेर्दाहेर्दै पानीको सतह बढेर कम्मरसम्म पुगेको उनले सुनाए ।

‘भकारी गल्दै गयो । क्षणभरमै गर्लाम्यै खस्यो । चामल र गहुँ भेलमा बग्न थाल्यो,’ उनले भने, ‘चाहेर पनि जोगाउन सकिनँ ।’आफूमात्र नभएर लालाबालादेखि १२ जनाको आफ्नो परिवारलाई अब निकै गाह्रो हुने उनले सुनाए । बनगाईकै फूलमती कहारको भान्सामा सिलौटो र जाँतोमात्रै छ । उनले भनिन्, ‘जिन्दगीमा यस्तो आपत् कहिल्यै परेको थिएन ।’ वर्षा अझै भइरहेको छ । घर ओभाएको छैन । ‘ढल्नै लागेको फुसको छानोमुनि बसेका छौं,’ उनले भनिन् ।बनगाईका ११ र वाणगंगा–११ ओदारीका १९ घरलाई चुलोचौको गर्न निकै समस्या परेको छ । छिमेकी, आफन्तले दिए खाने अवस्था छ । ‘अरूकहाँ बस्दा समस्या हुन्छ,’ ओदारीकी पवित्रा अधिकारीले भनिन्, ‘सानो परिवार बस्न बनाएको घरमा थपिँदा बोझिलो बनेको छ ।’हुडरहवा खोलामा आएको बाढी बनगाई गाउँमा पस्दा क्षति पुगेको छ । ७ वटा घर भत्केका छन् । धेरैजसो माटोका भीत्ता र फुसका घर लडेका छन् । यहाँका ११ वटा घरमा बस्न सक्ने अवस्था छैन । बाढीले बगाएको टीभी शनिबार भेट्टाएर ल्याएको हुबराम केवटले बताए । ‘नागरिकता र मतदाता परिचयपत्र भेटिएन,’ उनले भने, ‘अब ती कागजपत्र बनाउन पनि सास्ती हुन्छ ।’

घोडाहा पुलमा ठूला सवारी ठप्प

पूर्व–पश्चिम राजमार्गअन्तर्गत देवदहमा पर्ने घोडाहा खोलाको पुल भासिएपछि ठूला सवारी आवागमन ठप्प छ । देवदह–७ र ९ को सीमामा रहेको उक्त पुल भासिएपछि बुटवल–नारायणगढ खण्डमा चल्ने गाडी बन्द भएका हुन् । हलुका सवारी साधन जोखिम मोलेर गुडिरहेका छन् ।बिहीबार राति ठूलो पानी परेपछि पुल भासिएको हो । जरुरी काम भएकाहरूले वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन् । बुटवल–नारायणगढ खण्ड पूर्वी नवलपरासीको गैंडाकोटसम्म बिग्रिएकाले थप सास्ती भएको छ ।

सडक डिभिजन बुटवलका कर्मचारीले पुलको तल्लो भागबाट जाली बाँधेर ढलान धान्ने प्रयास गरिरहेका छन् । पुल तत्कालै बनाउन नसकिने सडक डिभिजन कार्यालय रूपन्देहीका प्रमुख जयलाल मरासिनीले बताए । वैकल्पिक यात्राका लागि परासी, भुमही, भैरहवा डाइभर्सन बनाई उतैदेखि बुटवल आई अन्य स्थान जान सकिने उनले जानकारी दिए । ‘तत्कालै पुल बन्दैन,’ उनले भने, ‘डाइभर्सन बनाएका छौं ।’ विशेषज्ञ टोली आएर हेरेपछि मात्रै मर्मत कसरी गर्ने भन्ने टुंगो हुने उनले बताए । ‘पुल भासिएको नभई बाढीले पियर डिस्ब्यालेन्स भएको हो,’ उनले भने ।

खुलेन पुष्पलाल राजमार्ग, बीपीमा एकतर्फी

सिन्धुलीको गोलन्जोर–६ हैबार नजिक अक्करे भीरमा खसेको पहिरोले तीन दिनदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग शनिबार पनि खुलेन । सडक करिब तीन सय मिटर अवरुद्ध छ । डीएसपी मनोजकुमार लामाका अनुसार खुर्कोट र हैबार दुवैतर्फबाट मेसिनहरू एस्क्काभेटर र डोजर प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको छ । मध्यपहाडीकै कालीआँप, कुखुरेटार र सुम्नामबेंसीमा पहिरो हटाएर यातायात खुलाइएको छ । खुर्कोट–घुर्मी खण्ड अवरुद्ध हुँदा उदयपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बुबाट काठमाडौं चल्ने गाडी बीचमै अलपत्र छन् ।पहिरोले अवरुद्ध बीपी राजमार्गमा भने आवागमन एकतर्फी खुलेको छ । बर्दिबास–सिन्धुली खण्डको कमलामाई–११ को फाल्चुरी नजिक खसेको पहिरो झर्ने क्रम अझै नरोकिएको सडक आयोजनाले जनाएको छ ।

‘हेर्दाहेर्दै बस्ती डुब्यो’

कञ्चनपुरको दोदा नदीमा जलस्तरले खतराको सतह नाघेको शुक्रबार बिहान ४ वजेतिर फोनबाट खबर पाएपछि पुनर्वास–५ सिमरीका हरिद्वारी राना घरका सामान अग्लो ठाउँमा सार्न थाले । दोदाको भेलको आवाज आउन थालिसकेको थियो । त्यतिकैमा साइरन पनि बज्यो । हेर्दाहेर्दै घरभित्रै पानी पसिहाल्यो । सबैको भागाभाग हुन थाल्यो । भित्रका सामान जस्ताका तस्तै रहे ।आधा घण्टामा सिमरी गाउँ जलमग्न भयो । घरभित्र तीन/चार फिटसम्म पानी भरियो । ‘सबै जना निस्किसकेका थियौं,’ रानाले भने, ‘दुई/तीन जना बूढापाकाहरूलाई प्रहरी र स्थानीय युवाले उद्धार गरेर सुरक्षित निकाले ।’ चुरे क्षेत्रमा भएको अविरल वर्षापछि दोदा नदीमा आएको बाढीले सिमरी गाउँ डुबानमा परेको हो । शुक्रबार दिनभरि उक्त बस्ती जलमग्न रहृयो । रातिदेखि पानी घटे पनि घरभित्र हिलो भरिएका छन् । घर छाडेर सडकमा रात बिताएको स्थानीय पदम रानाले बताए ।

लालझाडी–१ नौरंगाबाट दोदा नदी सिमरी बस्तीमा पसेको थियो । उक्त क्षेत्रमा तटबन्ध नहुँदा बर्सेनि बाढी बस्तीमा पस्ने गरेको छ । बाढीका कारण सिमरीमा मात्रै ६० परिवार विस्थापित भएका छन् । दिनदयाल रानाले भने ‘पानी घटे पनि घरमा हिलो छ, आँगनमा पनि हिँड्न सकिँदैन ।’ यस्तो अवस्थामा सर्पको समेत डर हुन्छ । विस्थापित परिवार भीमसेन मन्दिरमा बसेका छन् । उनीहरूलाई सोही क्षेत्रमा नगरपालिका र विभिन्न संघसंस्थाले खाना खुवाउनेदेखि बसोबासको व्यवस्था गरेका छन् । शुक्रबारको बाढीले उक्त क्षेत्रमा निर्माणाधीन हुलाकी सडक पनि बगाएको छ । तटीय क्षेत्रका धानबाली पुरिएको छ । ‘सिमरीको आधा गाउँ विस्थापित भएको छ,’ पुनर्वास–५ का वडाध्यक्ष वीरबहादुर बोगटीले भने ।  

( कान्तिपुर दैनिक )