News Desk
सिन्धुली — १३ भाद्र २०७८
सिन्धुली, यातायात सञ्चालनमा आएको दुई साता नहुँदै सिन्धुलीमाडी–चकमके सडक बाढीपहिरोले लथालिङ भएको छ । लगातारको वर्षापछिको बाढीपहिरोले क्षति पुगेको हो ।सिन्धुलीमाडी–चकमके सडकअन्तर्गत कमलामाई नगरपालिकाको एकपाखेमा पहिरोले करिब सय मिटर सडक झरेको छ । स्थानीयको घर नै जोखिममा पर्ने गरि खसेको पहिरोले सडकको निसानै नराखेको तीनपाटन गाउँपालिका–१ चन्द्रावती मावि बेलघारीका शिक्षक जर्नादन कोइरालाले बताए ।असारमा आएको बाढीपहिरोले बिगारेको सडकमा दुई साताअघिबाट यातायात सञ्चालनमा आएको थियो । सडक फेरि भत्किएपछि यतायात सञ्चालन हुने टुंगो नभएको उनले बताए । सदरमुकाम सिन्धुलीमाडीसँग तीनपाटन गाउँपालिका केन्द्र जोड्ने एकमात्र चकमके सडक छियाछिया भएपछि स्थानीयलाई सास्ती भएको छ । सदरमुकामबाट तीनपाटन गाउँपालिका केन्द्र ४० किलोमिटर टाढा छ । तीन दिनको वर्षाले ५० स्थानमा सडक बिगारेको छ ।
संघ, प्रदेश र स्थानीय तहको करोडौं रकम उक्त सडकमा खर्चिएको छ । ‘बर्सेनि बजेट सडक निर्माणमा खर्च हुन्छ, तर दिगो भएन,’ स्थानीय श्रीनाथ दाहालले दुखेसो पोखे । तीनपाटनबाहेक जिल्लाका सबै स्थानीय तह राजमार्गको सडक सञ्जालमा जोडिएका छन् । उनले भने, ‘तर निर्माण सुरु भएको तीन दशक हुन लाग्दासमेत यो सडक दिगो कहिल्यै बनेन ।’ सदरमुकामबाट तीनपाटन गाउँपालिका केन्द्र ४० किलोमिटरको दूरीमा रहेको छ । तीन दिनको वर्षाले ५० स्थानमा सडक बिगारेको दाहालले बताए । तीनपाटन क्षेत्रको सडक खुलेको चार दशक जति भयो । ‘धेरै पछि खोलिएका बाटाहरूमा कालोपत्रे भइसके तर हाम्रो बाटोको हालत दिनानुदिन खस्किँदो छ,’ उनले थपे ।महाभारत क्षेत्रका उत्तरतर्फका सडकहरू लगातारको वर्षाले पहिरो खस्दा सबैजसो बन्द भएका छन् ।
रतनचुरा हुँदै तीनकन्या पुग्ने सडकको २५ किलोमिटर पार गर्न अझै तीन घण्टा जति सवारीसाधनमै खर्च हुने गरेको स्थानीय नेत्रविक्रम थापाको भनाइ छ ।लगातारको वर्षापछि बीपी राजमार्गको पीपलभन्ज्याङ–हायुटार सडकको दर्जनौं स्थानमा पहिरो खस्दा घ्याङ्लेख गाउँपालिकासँग सडक सम्बन्ध टुटेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीका अनुसार सडक मर्मत गरेर गाउँपालिकाले खुलाउने प्रयास गरिरहे पनि धेरै स्थानमा पहिरो गएकाले कठिन भएको छ । सुनकोसी, फिक्कल, मरिण र हरिहरपुरगढीका ग्रामीण सडकहरू वर्षाका कारण सबैजसो अवरुद्ध छन् । ३८ करोडको लागतमा निर्माणाधीन आडगढी–जलकन्या–मझुवा सडकको हालत पनि वर्षाले उस्तै भएको स्थानीय शिक्षक खिलराज देवकोटाले जानकारी दिए । सडकको धेरैस्थानमा पहिरो झरेकाले यातायात पूरै अवरुद्ध भएको छ ।
( कान्तिपुर दैनिक )