घर भत्किएर पाल्पामा एकको मृत्यु
News Desk
Aug-29 , 2021 तारिख 12:05 बेलुका

पाल्पा — १३ भाद्र २०७८  

पाल्पा , अविरल वर्षाले घर भत्किँदा आइतबार बिहान १० वर्षीया बालिकाको मृत्यु भएको छ । तानसेन नगरपालिका–५ कैलाशनगरस्थित नारायण दर्जीको एक तले कच्ची घर भत्किँदा १० वर्षीया छोरी नैना दर्जीको मृत्यु भएको हो । ढुंगा माटोले पुरिएको अवस्थामा उनको उद्धार गरेर उपचारका लागि मिसन अस्पताल लगिएको थियो । नैनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।यसैबीच, वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्ग लगायत जिल्लाका अधिकांश सडक अवरुद्ध भएका छन् । राम्दीदेखि चिडियाखोलासम्म ठाउँठाउँमा पहिरो खसेको छ । दोभान प्रहरी चौकीका अनुसार सिद्धबाबा, पैठेडाँडा, हेडबक्स, झरना लगायतकाक स्थानमा पहिरो खसेको छ । यस्तै, राजमार्गकै झुम्सा, पानीमिल, हिउँदेखोला, गिट्टी खानी लगायतका स्थानमा पहिरो खसेको छ ।

वर्षा रोकिएपछि पहिरो फालिने दोभान प्रहरी चौकीले जनाएको छ । राम्दी प्रहरी चौकीका अनुसार राजमार्गको पाल्पास्थित आर्यभन्ज्याङ–राम्दी सडकको पिपलडााडा राम्दी क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।माथागढी गाउँपालिकाको भालुखोला, धेरेनी क्षेत्रमा पहिरो खसेको छ । साथै, रम्भा गाउँपालिकाको पिपलडाँडा र बगनासकाली गाउँपालिकाको सेरा क्षेत्रमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राजमार्गको सीता पहाडमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक त्वातीले जानकारी दिए । बगनासकाली गाउापालिका खानीछापको जल्लावीरे, सेरा क्षेत्रमा पनि पहिरो खसेको छ ।वर्षा भइरहेकाले डोजर आइनसकेको राम्दी प्रहरी चौकीले जनाएको छ । 

 सडक डिभिजनले समयमा डोजर नपठाएकाले राजमार्गको पहिरो सफाई गर्न ढिलाइ भएको प्रहरी चौकी राम्दीले जनाएको छ । वर्षा नरोकिएकाले राजमार्गको पिपलडाँडा सीता पहाड क्षेत्रमा ढुंगा खसिरहेकाले पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ ।सिद्धा राजमार्ग अवरुद्ध भएपछि बीच बाटोमै सवारी साधन र यात्रु अलपत्र परेका छन् । पाल्पाको पूर्व भेग जोड्ने आर्यभन्ज्याङ–रामपुर सडक खण्ड पनि अवरुद्ध भएको छ । ६० किलोमिटर लामो सडकको सेफद, गल्धा, सिलुवा लगायतका स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको स्थानीयले जानकारी दिए ।यसैगरी, कालीगण्डकी करिडोर अन्तर्गत पिपलडाँडा–रामपुर सडकखण्डको भोवर क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । जिल्लाका ग्रामीण सडकमा पनि पहिरो खसेको र वर्षा रोकिएपछि खुलाउने स्थानीय तहले जनाएका छन् ।  

( कान्तिपुर दैनिक )