News Desk
धनगढी — ११ भाद्र २०७८
धनगढी , एमाले विभाजनपछि माधव नेपाल नेतृत्वको दल नेकपा (एकीकृत समाजवादी) तर्फ खुलिसकेका सांसदहरूले आफूहरूको पक्षमा बहुमत सांसद तान्ने कसरत गरिरहेका छन् । प्रदेश सभामा एमालेका २४ जना (सभामुख बाहेक) सांसद छन् । २४ जनामध्ये १४ जना आफ्नो समूहमै तान्ने कसरतमा नेकपा (एकीकृत समाजवादी) का सांसदहरू लागेका देखिएका छन् । उक्त समूहका नेताहरूको दाबीअनुसार १३ जना पुगिसकेका छन् र थपिने सम्भावना बढी छ ।हालसम्म आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी र पूर्वमन्त्री माया भट्ट एकीकृत समाजवादीमा लागिसकेका छन् । उनीहरू दुवै जना केन्द्रीय सदस्यसमेत भइसके । भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीले पनि आफूलाई एकीकृत समाजवादीको यात्रामा अघि बढ्नुपर्ने अवस्था आएको सार्वजनिक गरिसकेका छन् । सामाजिक विकासमन्त्री लालबहादुर खड्का पनि हालसम्मको अवस्था त्यसैतर्फ रहेको बताएका छन् ।
संसदीय दलका प्रमुख सचेतक दुर्गा कामीले पनि माधव नेपालले नेतृत्व गरेको विचार समूहमै रहेको बताइन् ।हाल संसदीय दलका नेता प्रकाशबहादुर शाह, हर्कबहादुर कुँवरले एमालेमै रहने संकेत गरेका छन् । प्रदेशसभामा ७ जना एमाले सांसदहरू विगतदेखि नै केपी ओली विचार समूहको एमालेकै पक्षमा थिए । संसदीय दलका नेता शाह आफंै पनि विगतमा माधव नेपाल नेतृत्वको विचार समूहमा आबद्ध भए पनि पार्टी विभाजन भएको अवस्थामा एकीकृत समाजवादीको पक्षमा लाग्ने सांसदहरूको संख्या भने धेरै नहुने आकलन गर्छन् ।दुवैतर्फ भित्रभित्रै रस्साकसी चलिरहेको भए पनि कतिपय सांसदहरूले आफू कता लाग्ने भन्ने सार्वजनिक गरिसकेका छैनन् । धेरैजसो सांसदहरू अवसरको प्रतीक्षा गरिरहेको एक सांसदले बताए । सुदूरपश्चिममा हाल माओवादी केन्द्रले नेतृत्व गरिरहेको प्रदेश सरकारमा विगतमा एमालेभित्र माधव नेपाल समूहमा आबद्ध भएका नेताहरू पनि छन् ।
( कान्तिपुर दैनिक )