चितुवाको छाला र खप्परसहित तीनजना पक्राउ
News Desk
Aug-29 , 2021 तारिख 02:55 बेलुका

तनहुँ —  ११ भाद्र २०७८ 

तनहुँ, जिल्लाको व्यास नगरपालिका–५ पतेनीस्थित पक्कीपुल नजिक बाखेतर्फ जाने स्थानबाट चितुवाको आखेटोपहारसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथबाट चितुवाको छाला, खप्पर लगायत शरीरका विभिन्न अंगका हड्डी बरामद गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौं र प्रहरी कार्यालय तनहुँबाट खटिएको संयुक्त टोलीले उक्त स्थानबाट शनिबार राति ती युवाहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा व्यास–६ सिरुबारीका ३९ वर्षीय अर्जुन श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका–१ ओखल्दी बस्ने ४० वर्षीय सन्जित गुरुङ र शुक्लागण्डकी–१ रतनपुरका ३२ वर्षीय सन्तोष गुरुङ रहेको जिल्लाका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी गराए ।

‘एकान्त स्थानको चोकमा शंकास्पद गतिविधि गरिरहेका उनीहरुलाई स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको रोहवरमा नियन्त्रणमा लिई खानतलासी गर्दा उनीहरुको साथबाट चितुवाको छाला, दाँत, हड्डी र खप्पर लगायतका वस्तु बरामद गरिएको हो,’ उनले भने, ‘पक्राउ परेकालाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय तनहुँमा पठाइएको छ ।’प्रहरीले अर्जुनको साथबाट ५ फिट ७ इन्च लम्बाइ २ फिट ५ इन्च चौडाइ भएको र ३ फिट लम्बाइ एक फिट ५ इन्च चौडाइ भएको चितुवाको दुईवटा छाला र स्कुटर बरामद गरेको छ । यस्तै, सन्जितको साथबाट चितुवाका शरीरको विभिन्न भागका हड्डीहरु सानो ठूलो गरी १२२ थान र कालो रङको पल्सर मोटसाइकल बरामद गरिएको छ । 

प्रहरीले सन्तोषको साथबाट पल्सर मोटरसाइकल र ३ हजार पाँच सय रुपैयाँ नगद बरामद गरेको छ ।बरामद भएका खप्पर र हड्डी प्रहरीले बाघको भनेपनि प्रयोगशालामा अनुसन्धान गरेपछि मात्र एकिन गर्न सकिने डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत अरुण पराजुलीले बताए । उनले भने, ‘छालाको फोटो हेरेरै चितुवाको हो भन्न सकिन्छ तर बरामद भएका छाला, खप्पर र हड्डी भने अहिलेसम्म वन कार्यालयमा आइपुगेको छैन ।’   

 ( कान्तिपुर दैनिक )