एकै खोलामा तीन विद्युत् आयोजना
News Desk
Aug-29 , 2021 तारिख 03:19 बेलुका

रुकुम पूर्व —  ११ भाद्र २०७८  

रुकुम पूर्व , रुकुम पूर्वको एउटै खोलामा तीन विद्युत् आयोजना बन्दै छन् । एउटा विद्युत् आयोजना यसअघि नै निर्माण भएको छ भने दुईवटा निर्माणका क्रममा छन् । भूमे गाउँपालिकाको रुकुमगाडबाट ६ मेगावाट उत्पादन क्षमताका दुई आयोजना बन्दै छन् ।रुकुमगाड मिसिने लुकुमखोलाबाट एउटा आयोजना निर्माण सम्पन्न भएर बिजुली उत्पादन भइरहेको छ । भूमे गाउँपालिका–६ स्थित लुकुमखोला (सिसाघारी) साना जलविद्युत् आयोजना २०७५ कात्तिकमा निर्माण सम्पन्न भएको थियो । १ सय ३५ किलोवाट विद्युत् उत्पादन गरिरहेको उक्त आयोजनाले भूमे गाउँपालिकाका महत, सीमा, सिसाघारी, मोराबाङलगायत गाउँ झलमल्ल छन् ।

सोही आयोजनाभन्दा तल थबाङखोलाको समेत पानी मिसिएपछि अरु थप दुई आयोजना बन्दै छन् । यो खोलामा बन्दै गरेका दुवै आयोजना जिल्लाकै ठूला आयोजना हुन् । रुकुमगाड विद्युत् आयोजना ५ मेगावाट विद्युत् उत्पादन क्षमताको हो । यसको काम लगभग ७० प्रतिशत सकिएको छ । राप्ती हाइड्रोले यसको काम गरिरहेको छ । यसबाट उत्पादित विद्युत् रुकुम पश्चिमस्थित नेपाल विद्युत् प्राधिकरणको सव स्टेसनमा जडान गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

यसको सिरानमा अर्को विद्युत् आयोजना निर्माणको तयारी भइरहेको छ, थबाङखोला जलविद्युत् आयोजना । १ मेगावाट विद्युत् उत्पादन हुने गरी भूमे गाउँको अग्रसरतामा यो आयोजना बन्ने अन्तिम तयारीमा छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ ।  

 ( कान्तिपुर दैनिक )