दुर्घटनामा चालकको मृत्यु, ११ घाइते
News Desk
Aug-30 , 2021 तारिख 12:17 बेलुका

 

कालीकोट — १४ भाद्र २०७८   

कालीकोट , कर्णाली करिडोरको खुलालु–लैफु सडक खण्डअर्न्तगत सान्नीत्रिवेणी–२ आमतडामा आइतबार बिहान यात्रुबाहक जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।११ जना यात्रु घाइते भएका छन् । सान्नीगाडबाट जितेतर्फ आउँदै गरेको मानसरोवर यातायातको कर्णाली१ज २३ नम्बरको यात्रुबाहक जिप आमतडाको उकालोमा चढ्न नसकेर पछाडि जाँदा दुर्घटनामा परेको हो । जिप कर्णाली नदीको किनारामा खसेको छ ।दुर्घटनामा परी सान्नीत्रिवेणी–२ सेरिजिउलाका २२ वर्षीय चालक विक्रम गिरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी चक्रबहादुर शाहले बताए । उनका अनुसार उकालोमा जिप नढ्न नसक्दा दुर्घटना भएको हो । ‘अप्ठेरो सडकमा ब्रेक नलागेर गाडी पछाडि गुडेछ,’ उनले भने ‘खसेको ठाउँ नजिकै भएकाले यात्रु बाँच्न सफल भए ।’ पानी परिरहेको बेला उकालोमा गाडी नचढेर पछाडि आएर पल्टिएको रास्कोट–९ का घाइते नरपति लुवारले बताए ।

उनका अनुसार १० जनाको सिट भएको गाडीमा १२ जना यात्रु सवार थिए । घाइतेमध्ये ४ जना गम्भीर छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको स्वास्थ्य सेवा व्यवस्थापक डा. रत्नवीर सुनारले बताए । घाइतेमा रास्कोटका ६ जना, सान्नीत्रिवेणीका ४ जना र पचालझरनाका १ जना रहेको प्रहरीले जनाएको छ । सामान्य घाइतेको सान्नीत्रिवेणी–१ स्थित रकु स्वास्थ्यचौकीमा उपचार भइरहेको उनले जानकारी दिए ।बिहान साढे ११ बजे जिप दुर्घर्टना भए पनि कर्णाली करिडोरमा पहिरो गएको र अविरल वर्षा भएकाले घाइतेलाई उपचारका लागि सदरमुकाम मान्म ल्याउन ६ घंण्टा लागेको उद्धारमा खटिएका युवा ललितजंग बमले बताए । घाइतेलाई हेलिकप्टरमा सुर्खेत लैजान पहल गरिए पनि प्रतिकूल मौसमले हेलिकप्टर उड्न नसकेपछि हुल्मसम्म पानीमा भिज्दै स्टेचर र त्यसभन्दा माथि मान्मसम्म एम्बुलेन्समा ल्याइएको प्रजिअ कृष्णप्रसाद आचार्यले बताए । उनले सुर्खेतबाट उडेको नेपाली सेनाको हेलिकप्टर दैलेखसम्म पुगेर फर्किएको जानकारी दिए ।

चालकका आफन्तले भने १० लाख रुपैयाँ क्षतिपूर्ति माग गर्दै शव उठाउन मानेका छैनन् । कर्णाली करिडोरको खुलालु–लैफु–सल्लीसल्ला सडक वर्षाले ठाउँ–ठाउँमा पहिरो जाँदा अवरुद्ध बनेको छ । करिडोरको ठाउँ–ठाउँमा पहिरो खसेर हिलाम्मे भएको र केही ठाउँमा खोला बढेकाले बाटो अप्ठेरो अवरुद्ध भएको पचालझरना गाउँपालिका अध्यक्ष खडकराज सेजुवालले बताए । कालीकोटको खुलालुदेखि सल्लीसल्लासम्मको १ सय २२ किमि सडक नेपाली सेनाले निर्माण सम्पन्न गरेर गत असार ३१ गते सडक विभागलाई हस्तान्तरण गरेको थियो ।  

( कान्तिपुर दैनिक )