जानकी मन्दिरका ‘होर्डिङ बोर्ड’ हटाइए
News Desk
Aug-30 , 2021 तारिख 01:03 बेलुका

धनुषा — १४ भाद्र २०७८

धनुषा, जानकी मन्दिर परिसरमा प्रदेश सरकारले राखेको सन्देशमूलक ‘होर्डिङ बोर्ड’ युवाको समूहले हटाएको छ । मुख्यमन्त्री लालबहादुर राउतको तस्बिर राखेर प्रदेश सरकारले राखेको स्वच्छता अभियानको होर्डिङ बोर्ड शनिबार हटाइएको हो ।मुख्यमन्त्री स्वच्छता अभियानमा परिवारका सदस्यलाई भर्ना गरी भ्रष्टाचारको केन्द्र बनाएको युवाको आरोप छ । यस्ता बोर्डले जानकी मन्दिरलाई अस्वच्छ बनाएका कारण हटाइएको जनकपुरका युवा सरोज मिश्रले बताए ।‘जानकी मन्दिरलगायत कुनै पनि धार्मिक पर्यटकीय स्थलमा प्रचारप्रसार सामग्री, बोर्ड, पम्प्लेट लगाएर फोहोर नगर्न आग्रह गर्दछु,’ मिश्रले भने, ‘मुख्यमन्त्रीको फोटोसहितको स्वच्छता अभियान र बेटी पढाऊ बेटी बचाऊ अभियानको पोस्टरसहित मन्दिरमा लगाएका अन्य पोस्टर हटाइएको छ । मन्दिर परिसरमा लगाइएको अन्य विज्ञापनको बोर्डसमेत हटाइएका छौं ।’

बोर्ड तोडफोडबारे गुनासो आएपछि बुझ्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले बताए । उनका अनुसार नियमपूर्वक राखिएको सूचना सामग्री हटाउनेलाई कारबाही गरिनेछ । ‘सहरभित्र विज्ञापन गर्न दिने/नदिने विषय उपमहानगरसँग सम्बन्धित हुन्छ,’ रानाभाटले भने, ‘बोर्ड च्यातिएको विषयमा मौखिक गुनासो आएको छ । अनुसन्धान अगाडि बढाइएको छ ।’ जानकी मन्दिर र परिसरमा विज्ञापनका लागि अनुमति नदिएको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद खड्काले बताए ।तर, जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले मन्दिरको अनुमति लिएर बोर्ड राखिएको जानकारी दिए । ‘विज्ञापनबापत बोर्ड राख्दा मन्दिरलाई आम्दानी भएको छ,’ रामरोशनले भने, ‘तीर्थस्थल र पर्यटकको जानकारीका लागि मन्दिर परिसरमा सूचनामूलक बोर्ड राख्दा खासै असर पर्दैन ।’  

( कान्तिपुर दैनिक )