News Desk
कञ्चनपुर — १४ भाद्र २०७८
कञ्चनपुर , दोदा नदीको बाढीले कञ्चनपुरको पुनर्वास–५ सिमरीमा विस्थापित परिवार अझै घर फर्किन सकेका छैनन् । बाढी घटे पनि घरभित्र भरिएको हिलो पन्छाउन नसकेका कारण फर्किन गाह्रो परेको हो ।‘केही फर्किए, अधिकांश मन्दिर र आफन्तकहाँ आश्रय लिई बसेका छन्,’ पुनर्वास–५ का वडाध्यक्ष वीरबहादुर बोगटीले भने, ‘गहिरो ठाउँमा जताततै हिलो छ, घरभित्र पसेर बस्नै नसकिने भएको छ ।’ उनका अनुसार अग्लो स्थानका २० परिवार घर फर्के पनि ४० परिवार अहिले पनि नजिकैको भीमसेन मन्दिरमा बसेका छन् ।विस्थापित परिवारलाई साँझबिहानको खाना नगरपालिकाले उपलब्ध गराएको छ ।
रेडक्रसले स्वास्थ्य सामग्री र चिउरा–चाउचाउ उपलब्ध गराएको वडाध्यक्ष बोगटीले बताए । दोदा नदीमा आएको बाढी शुक्रबार बस्तीमा पसेपछि करिब ६० परिवारले घर छाडेका थिए । लालझाडी–१ को नौरंगाबाट दोदाको बाढी सिमरीको बस्तीमा पसेको हो । दोदा नदीकै बाढीले विस्थापित भएको लालझाडी–३ नन्दगाउँ, कञ्ज र कसुवाका विस्थापित परिवार भने घर फर्किएका छन् । प्रहरीका अनुसार बाढी कम भएसँगै विस्थापित परिवार शनिबारदेखि घर फर्किन थालेका हुन् ।यसैबीच महाकालीमा आएको बाढीका कारण सीमा क्षेत्रको बनवसा ब्यारेजको पुलमा बन्द गरिएको सवारी आवागमन आइतबार तेस्रो दिनदेखि खुला गरिएको छ । पानीको बहाव घटेपछि पुलमा आवागमन खुला गरिएको हो ।
( कान्तिपुर दैनिक )