News Desk
कञ्चनपुर — १४ भाद्र २०७८
कञ्चनपुर, रंगुन खोलाले २०६० मा घरखेत सबै बगाएपछि टीका बोहरा परिवारसहित डडेलधुराको परशुराम नगरपालिकाको जोगबुढाबाट तराई झरे । बेसहारा भएर डुल्दै जाँदा कञ्चनपुरको बनहरा नदी किनारमा पुगे । त्यहाँ विभिन्न ठाउँबाट विस्थापित भएकाहरू टहरा बनाएर बसेका थिए । नदी किनारमै उनले पनि टहरा बनाए । बाँझो खनजोत गरेर सानो बारी पनि बनाए । बोहराले अग्लो ठाउँमा टहरो बनाए । नदीछेउमै रहेका एक/दुई गह्रामा धान, गहुँ र तील लगाउन थाले । शुक्रबार बिहान बनहरा नदीमा आएको बाढीले उनको जमिन सबै कटान गरेर लग्यो । अब घर मात्रै बाँकी छ । उत्तरपूर्वबाट ओदाल खोला र उत्तरपश्चिमबाट धारापानी खोला । दुवै खोलाको मिलन बोहराकै जमिननजिक हुन्छ । धारापानी खोला ठूलो भएका कारण बोहराकै जमिनतिर ठोकिन्छ । ‘धारापानी खोलामा ठूलो बाढी आएको थियो, सिधै जमिनमै ठोक्कियो,’ बोहराले भने, ‘आधा/एक घण्टामा मेरा दुवै गह्रा बगाएर लग्यो ।’
बनहरा नदीले भेटघाट शिविरमा कटान गर्न थालेको ४/५ वर्ष भयो । यसअघि कम कटान हुन्थ्यो । यस पटक भने निकै ठूलो बाढी आयो । दोभान भएका कारण पनि भेटघाट शिविरिमा अझ बढी कटान भएको हो । ‘५/६ परिवारको जमिन एकै दिन बगायो,’ भेटघाट शिविरमै बसोबास गरिरहेका रतनबहादुर खत्रीले भने, ‘पहाडबाट विस्थापित भएर यहाँ आयौं, अब यहाँबाट कहाँ जानू ।’ उनका अनुसार शुक्रबार ३ बजेबाट बाढी आएको हो । सुरुमा अलि कमै आएको थियो । बिहान उज्यालो हुँदा त नदीले विकराल रूप लिइसकेको थियो । भेटघाट शिविरको सिरानबाट बनहरा पुलसम्मै नदीले दुवैतर्फ कटान गरेको छ । प्रेमबहादुर खत्रीको पनि पूरै जमिन कटान गरेको छ । उनको पनि घरमात्रै बाँकी छ । भेटघाट शिविर नजिकै दुई वर्षअघि कटान रोक्न तारजालीसमेत गरिएको थियो । तर अहिले उक्त तारजाली नदीको बीच भागमा पुगेको छ । नदी बस्तीतिर सोझिएको छ ।
‘हामी सबै विभिन्न ठाउँबाट विस्थापित भएर यहाँ आएका छौं, अब यहाँ पनि बस्न नसकिने भयो,’ बाढीले जमिन कटान गरेका तिलकबहादुर खत्रीले भने, ‘बनहरा नदीले बर्सेनि दुःख दिने भयो ।’ उनका अनुसार भेटघाट शिविरमा तीन सय परिवारको बसोबास छ । कटान नियन्त्रणका लागि वडा कार्यालय र नगरपालिकामा अनुरोध गरे पनि कतैबाट सुनुवाइ नभएको उनीहरूको गुनासो छ । प्रदेश र संघीय सांसदसँग पनि कटान नियन्त्रणका लागि आग्रह गरिएको तिलकले बताए ।नदी कटानकै कारण बनहरा पुल छेउमै बसोबास गरिरहेका सिगास टोलका सुकुम्बासी पनि उच्च जोखिममा परेका छन् । एकातिर सामुदायिक वनबाट आउने नाला र अर्कोतिर बनहरा नदीको कटानका कारण जोखिम बढेको उनीहरू बताउँछन् । ‘पानी परेपछि पुलमुनि जान्थ्यौं, अब त्यहाँ पनि कटान गर्न थाल्यो,’ सिगास टोलका दलबहादुर बोहराले भने, ‘हाम्रो बस्तीमा त चारैतिरबाट कटान हुन थाल्यो ।’ सिगास टोलमा एक दर्जन परिवारको बसोबास छ ।
( कान्तिपुर दैनिक )