News Desk
काठमाडौँ — १४ भाद्र २०७८
काठमाडौँ, वरिष्ठ साहित्यकार आनन्ददेव भट्टको निधन भएको छ । लामो समयदेखि निमोनियालगायत समस्याबाट ग्रसित भट्टको काठमाडौंको कालिकास्थानस्थित निवासमा ८५ वर्षको उमेरमा सोमबार बिहान निधन भएको हो । त्रिभुवन विश्वविद्यालयमा लामो समय अंग्रेजी विषयको प्राध्यापन गरेका भट्ट नेपाली साहित्यका स्रष्टा, समालोचक र चिन्तकका रूपमा परिचित छन् । उनको जन्म जुम्लाको खलङ्गामा वि.सं.१९९३ असोजमा भएको थियो ।
भट्टका ‘९७ साल’, ‘गुराँस’, ‘साहिँली मैयाँ’ खण्डकाव्य, ‘यमर खय्यामलाई जवाफ’, ‘आमा बोलाउँछिन्’, ‘जोवनकै थुम्कोबाट’लगायत कविता संग्रह प्रकाशित छन् ।त्यसैगरी ‘समालोचनाको बाटोतिर’, ‘व्यवहारिक समालोचना’, ‘जनताको साहित्य’लगायत समालोचना कृति प्रकाशित छन् । ‘जगतको सृष्टि र सञ्चालन प्रक्रिया’ दर्शन, ‘हाम्रा प्रतिभाहरू’, ‘प्रतिभा पहिचान’ जीवनी संग्रह, ‘स्वतन्त्रता र कम्युनिस्टहरू’ राजनीतिक समालोचनालगायत २७ वटा कृति प्रकाशित छन् । उनले अंग्रेजी भाषाका विभिन्न कृतिलाई नेपाली अनुवादसमेत गरेका छन् ।
‘भट्ट सर त्रिविको अंग्रेजीका प्राध्यापकदेखि नेपाली भाषा, साहित्यका स्रष्टा, समालोचक, चिन्तक, राजनीतिज्ञका रूपमा चिनिनु हुन्छ,’ नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्राध्यापक जगतप्रसाद उपाध्यायले भने, ‘२०४८ सालपछि कम्युनिस्ट आन्दोलनमा संलग्न रहेर संगठन विस्तारमा पनि लाग्नु भयो ।’ उपाध्यायका अनुसार भट्टको योगदानलाई लिएर ‘अभिनन्दन ग्रन्थ’ प्रकाशोन्मुख रहेको थियो । भट्ट प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष र प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य थिए ।भट्टका श्रीमती प्रा. सुशीला भट्ट र दुई छोरा (निर्झरदेव र सौरभ) छन् । पशुपति आर्यघाटमा श्रद्धाञ्जलीपछि सोमबार बिहानै उनको अन्त्येष्टि गरिएको छ ।
( कान्तिपुर दैनिक )