मुख्यमन्त्री शाक्यविरुद्ध विपक्षीको मोर्चाबन्दी
News Desk
Aug-31 , 2021 तारिख 01:13 बेलुका

मकवानपुर — १५ भाद्र २०७८ 

मकवानपुर, नेकपा एमाले औपचारिक रूपमा विभाजन भएसँगै वाग्मती प्रदेशमा मुलुककै पहिलो महिला मुख्यमन्त्रीका रूपमा सत्तारोहण गरेकी अष्टलक्ष्मी शाक्यको पद संकटमा परेको छ ।एमाले उपाध्यक्ष रहेकी शाक्य संविधानको धारा १६८ (१) अनुसार बहुमतका आधारमा मुख्यमन्त्रीमा नियुक्त भएकी थिइन् । त्यसका आधारमा उनले विश्वासको मत लिनु पर्दैनथ्यो । तर एमाले विभाजन भएर नयाँ दल नेकपा (एकीकृत समाजवादी) गठन भएसँगै शाक्यको सरकार अल्पमतमा पर्ने देखिएको छ ।१ सय ९ सदस्यीय प्रदेशसभामा एमालेका सभामुखसहित ५६ सांसद छन् । सरकार गठनका लागि ५५ सांसद चाहिन्छ । हालको अवस्थामा दुई जनाले मात्रै अर्को दल रोजे मुख्यमन्त्रीको पद धरापमा पर्नेछ । तर एमालेका आधा दर्जनभन्दा बढी सांसद नवगठित नेकपा (एकीकृत समाजवादी) मा खुलिसकेका छन् । केही अझै खुल्ने क्रममा छन् । यस्तोमा शाक्यले अब सदनबाट विश्वासको मत लिनुपर्ने अवस्था आएको छ ।

त्यसका लागि नयाँ दल दर्ता भएको औपचारिक पत्र निर्वाचन आयोगबाट प्रदेशसभामा प्राप्त हुनुपर्छ ।पत्र प्राप्त भएको ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । शाक्यले विश्वासको मत नलिए विपक्षी दलबाट अविश्वासको प्रस्ताव सामना गर्नुपर्ने हुन सक्छ । एमाले एकढिक्का हुँदा अध्यक्ष केपी शर्मा ओली पक्षमा ३४ र माधवकुमार नेपाल पक्षमा २२ सांसद थिए । प्रदेशसभामा माओवादी केन्द्रका २३, कांग्रेसका २२, नेपाल मजदुर किसान पार्टीका ३, विवेकशील साझा पार्टीका ३, राप्रपाका २ र स्वतन्त्र एक सांसद छन् ।केन्द्रमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको गठबन्धन रहेकाले प्रदेशमा पनि यही गठबन्धन सरकारमा आउने निश्चित छ । कांग्रेस र माओवादी केन्द्रसँग नमिल्दा साना दललाई मात्र समेटेर एमालेले सरकार बनाउन सक्ने अवस्था छैन ।

मुख्यमन्त्री शाक्य एकीकृत समाजवादीतर्फ नखुलेको खण्डमा कांग्रेस, माओवादी केन्द्र र जसपासँगको गठबन्धनले उनीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने संकेत विपक्षी सांसदले गरिसकेका छन् । ‘मैले एमालेको विभिन्न जिम्मेवारीमा बसेर काम गरेको छु । दल परिवर्तन गर्ने मनस्थितिमा छैन । सरकार ढल्छ भन्ने पनि चिन्ता छैन । मुख्यमन्त्री जोगाउन पार्टी परिवर्तन गर्दिनँ । यो मबाट हुँदैन । पद पाए पनि नपाए पनि यही पार्टीमै रमाउँछु,’ शाक्यले भनिन् ।उनले आफ्नो फरक मत एमालेमै राख्ने र वैचारिक संघर्ष गरिरहने बताइन् । ‘मैले २०२८ सालबाट समर्पण, त्याग र नैतिकताको राजनीति गर्दै आएको छु । पद र सत्ताका लागि राजनीति गरेको होइन । फुटको पक्षमा छैन । नयाँ पार्टीमा हस्ताक्षर गर्न सक्दिनँ । यस विषयमा माधवकुमार नेपाललाई जानकारी गराइसकेको छु,’ उनले भनिन् ।

प्रदेश सरकारविरुद्ध लामो समयदेखि मोर्चाबन्दी गरिरहेका विपक्षी दलहरूले भने शाक्यविरुद्ध पनि एउटै कित्तामा उभिने बताएका छन् । माओवादी केन्द्र, कांग्रेस र विवकेशील साझा शाक्यको नेतृत्वको सरकारविरुद्ध एउटै कित्तामा उभिने भएका हुन् । माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेलले वर्तमान सरकार गणितीय हिसाबमा अल्पमतमा परिसकेको र अब सदनबाट विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको बताए । ‘विश्वासको मत लिनुपर्ने अवस्था देखिएपछि हतारमा सदनको अधिवेशन अन्त्य गरिएको छ ।

तत्कालै सदन नबोलाए हामी विशेष अधिवेशनको माग गर्नेछौं,’ उनले भने । उनले शाक्य पनि ‘ओलीपथ’ मा हिँड्न सुरु गरेको भन्दै यो अत्यन्त खेदजनक भएको टिप्पणी गरे ।कांग्रेस सचेतक छिरिङ दोर्जे लामाले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विषयमा विपक्षीहरूले आन्तरिक कसरत सुरु गरिसकेको पुष्टि गरे । ‘हामी पार्टी केन्द्रीय नेतृत्वसँग छलफलमा छौं,’ उनले भने । एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले शाक्यलाई मुख्यमन्त्रीबाट प्रक्रियागत रूपमा हटाइने बताए । ‘हामीसँग प्रदेशसभामा २१ सदस्य छन् । अझै थप्ने कोसिसमा छौं । यो सरकार ढल्छ,’ उनले भने, ‘गठबन्धनमा रहेका ३ पार्टी मिलेर नयाँ सरकार बनाउँछौं ।’  

( कान्तिपुर दैनिक )