News Desk
गोरखा — १५ भाद्र २०७८
गोरखा, उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका छेकम्पार र चुम्चेतमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको चरम अभाव भएको छ । बर्खाअघि लगिएका चामल, नुन, तेल, चिनीलगायत दैनिक उपभोग्य सामग्री सकिएको छ ।स्थानीयले गहुँको ढिँडो र फापरको रोटी खाएर छाक टारिरहेका छन् । चुम उपत्यकाको छेकम्पार र चुम्चेत प्रवेश गर्ने नाकाअन्तर्गत लोक्पामा दुई सातायताको लगातार पहिरोले बाटो र क्यान्टिलिभर पुल भत्किएपछि पैदलमार्ग छैन । उत्तरी गोरखा सडकले जोडिएको छैन । दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने खच्चड २ महिनादेखि गाउँ पुग्न नसकेको छेकम्पारको छेकमका तेन्जिङ लामाले बताए । ‘चामल कसैकोमा पनि छैन,’ उनले भने, ‘किनेर खान्छौं भन्दा पनि पाइँदैन । किराना पसल रित्तै छन् ।’
लामा उपभोग्य वस्तु खरिदका लागि गाउँपालिकाको केन्द्र सिर्दिबासस्थित फिलिम झरेका छन् । पहिरो छल्दै जोखिमसाथ झरेका उनी दुई दिनदेखि फिलिममै रोकिएका छन् । ‘खच्चड जान सक्दैनन्, मान्छेले बोकाएर लान सकिन्छ जस्तो लागेर झरिहालें । बाटो सारै खत्तम छ, एक्लै हिँड्न पनि सकिँदैन । भारी बोकेर सम्भावनै छैन,’ उनले भने, ‘अब एकजना साथी पाए रित्तै फर्कने सुरमा छु, एक जना पहिरो हेर्ने अर्को दौडने गर्दा जोखिम कम हुन्छ ।’गाउँमा खाद्यान्न सकिएपछि गहुँको ढिँडो र फापरको रोटी खाएर छाक टार्न थालेको लामाले बताए । कोरोना र पहिरोले गाउँमा नाकाबन्दीको झल्को आएको स्थानीयको भनाइ छ । ‘यो वर्ष फापर र आलु पनि राम्रो फलेको छैन, गाउँमा उब्जनी भएको अन्नले धेरै दिन धान्दैन,’ उनले भने, ‘चीन (तिब्बत) को नाका बन्द भएको २ वर्ष भयो, तलबाट आउने अन्न लोक्पामै रोकिएपछि मर्कामा पर्यौं ।’
खच्चडबाट ढुवानी भएको चामल २५ केजीको प्रतिबोरा ४ हजार ५ सयदेखि ५ हजार, नुन प्रतिप्याकेट २ सय ५० र आधा लिटर खाने तेललाई २ सय ५० रुपैयाँमा खरिद गरी उपभोग गर्दै आएका थिए ।
तर २ महिनादेखि ढुवानी हुन सकेको छैन । मौज्दात पनि सकिएपछि जे भेटिन्छ त्यसैबाट गुजारा चलाउन थालेको छेकम्पारका नेम्वाङ लामाले बताए । ‘६ हजार रुपैयाँ तिर्छु भन्दा पनि चामल पाइएन,’ उनले भने । चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिबासको फिलिममा मात्र खाद्यको गोदाम छ । फिलिम खाद्यको डिपोमा रहेको सामग्री कम्तीमा २ दिनको यात्रापछि मात्र खच्चडमार्फत छेकम्पार पुग्छ । ‘खाद्यको चामल ल्याउने तयारी गर्दागर्दै लोक्पामा पहिरो गयो, बाटो नभएपछि चामल गाउँ ल्याउन सकेनौं,’ नेम्वाङले भने ।जेठ दोस्रो साता स्थानीय बासिन्दा यार्चागुम्बु संकलन गरी बेच्दा आएको पैसाले उपभोग्य सामग्री किन्ने योजना बनाएर लेकतिर उक्लिए । असार दोस्रो साता गाउँ फर्किएका उनीहरूले जेठ अन्तिम साताको वर्षात्ले बाटो अवरुद्ध भएको थाहा पाए । ‘किरा टिपेर फर्किएपछि सामान ल्याउने सोचमा थियौं, बाटो रोकिएपछि जानै पाइएन । गाउँका किराना पसलमा पनि खाद्यान्न छैन,’ लामाले भने । चुमभ्याली पुग्न अर्को वैकल्पिक मार्ग नरहेको छेकम्पारका निमा लामाले बताए । ‘घुमेर जाने अर्को बाटो छैन, लोक्पाको पहिरो खोंचमा छ,’ उनले भने, ‘अहिले पनि पहिरो खसिरहेकाले मर्मत गरिहाल्ने अवस्था छैन ।’ तत्कालका लागि आवश्यक खाद्यान्न सरकारसँग माग गर्ने उनले बताए ।
‘सधैं हेलिकप्टरबाट बोकेर साध्य छैन, तत्कालका लागि भने सबैका घरमा एक–एक बोरा चामल पुर्याउन हेलिकप्टरबाटै प्रबन्ध भए सहज हुन्थ्यो,’ उनले भने । कोभिडको जोखिम बढेसँगै चीनसँग जोडिएको छेकम्पारको नाका बन्द छ । त्यसअघि यहाँका बासिन्दा तिब्बतको बजार पुगेर उपभोग्य सामग्री खरिद गर्थे ।असार पहिलो साता मनास्लु पदमार्गअन्तर्गत यारुबगर र जगत खण्डको पैदलमार्ग बुढीगण्डकी कटानले अवरुद्ध बनेको थियो । आउजाउमा सहजताका लागि दुवै ठाउँमा ग्याबिन जाली भरेर बाटो मर्मत भएसँगै खाद्यान्न ढुवानी सुरु भएको थियो । तर भदौ पहिलो साताबाट लोक्पाको डुयुखोलामा पहिरो खसेर चुमनुब्री–६ चुम्चेत र ७ को छेकम्पार पुग्ने बाटो अवरुद्ध भएको हो । सर्दिभीरको क्यान्टिलिभर पुललाई पनि पहिरोले क्षति पुर्याएको छ ।
( कान्तिपुर दैनिक )