News Desk
कपिलवस्तु — १५ भाद्र २०७८
कपिलवस्तु, यशोधरा गाउँपालिकाको खोरिया गाउँमा बनाइएको तटबन्ध भासिन थालेपछि गाउँले बाढीको त्रासले जाग्राम बस्न थालेका छन् । दुई सातायता दैनिकजसो भइरहेको वर्षाले वाणगंगा नदीमा बाढी आउँदा बस्ती कटान भइरहेको छ । पाँच मिटर चौडा र २० मिटर लामो तटबन्ध भासिएर नदीतिर खस्न थालेपछि गाउँ उच्च जोखिममा परेको हो ।दिनभरि गाउँले नदी हेर्दै बस्छन् । रात परेपछि पनि गाउँ बगाउने डरले नदीकिनारमा पालैपालो पहरा दिने गरेको स्थानीय सोमई पासीले बताए । गाउँसँगै जोडिएर ६ सय मिटर दुरीमा नदी बग्दै आएको छ । तटबन्धसँगै पश्चिमतिर १२ वटा घर छन् ।
तिनलाई नदीले छोइसकेको छ । तटबन्धको पूर्वतर्फ २ सय ८० घर छन् । यी पनि उच्च जोखिममा छन् । यस वर्ष नदी ५ देखि १० मिटर कटान भई गाउँछेउ आइपुगेको हो ।बाढीले २ सय हेक्टरमा लगाइएको धानबाली क्षति गरेको छ । १ सय ५० हेक्टरमा लगाएको तरकारी बाली पनि क्षति भएको कृषकले जनाएका छन् । सातायतादेखि पूर्वमन्त्री, प्रदेश सभासद्, संघीय सांसद र प्रदेश मन्त्री आई तटबन्ध मर्मत र पुनर्निर्माण गर्ने आश्वासन दिँदै फर्कने गरेका छन् । तर, काम सुरु नहुँदा गाउँले चिन्तित छन् ।कटानको स्थायी समाधानका लागि योजना बनाई लागतसहितको प्रतिवेदन सक्दो छिटो दिन निर्देशन गरिएको प्रदेशका भौतिक पूर्वाधार मन्त्री सहसराम यादवले बताए । ‘प्रतिवेदन प्राप्त हुनासाथ बजेट पठाइनेछ,’ उनले भने ।
( कान्तिपुर दैनिक )