वाग्मती सरकार अल्पमतमा, नयाँ सरकारको पहल सुरु
News Desk
Sep-01 , 2021 तारिख 01:56 बेलुका

मकवानपुर/मोरङ/धनगढी/धनुषा/रूपन्देही/गण्डकी — १६ भाद्र २०७८ 

मकवानपुर/मोरङ/धनगढी/धनुषा/रूपन्देही/गण्डकी, वाग्मती प्रदेशमा १२ सांसदले नवगठित एकीकृत समाजवादी दल रोजेपछि एमालेले एकल बहुमत गुमाएको छ । प्रदेश १ मा पनि एकल बहुमतको सरकार बनाएको एमाले अल्पमतमा पर्ने भएको छ । दल विभाजनपछि दुवै प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने भएको छ । एमालेले गण्डकी र लुम्बिनीमा भने एमालेले दल विभाजनअघि नै सत्ता गुमाएको थियो । प्रदेश निर्वाचन आयोगको कार्यालयमा मंगलबार सनाखतपछि सुदूरपश्चिम प्रदेशका एकीकृत समाजवादीका सांसद ।वाग्मतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको एमाले सरकार दुई साता नबित्दै अल्पमतमा परेको हो । शाक्यले गत २ गते पहिलो महिला मुख्यमन्त्रीका रूपमा शपथ लिएकी थिइन् । एमालेका तर्फबाट प्रदेशसभा सदस्य भएका १२ जनाले मंगलबार वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नयाँ दल एकीकृत समाजवादी रोज्दै सनाखत गरेका छन् ।

१ सय ९ सांसद रहेको प्रदेशसभामा अब एमाले ४४ सिटमा सीमित भएको छ । बहुमतका लागि ५५ सिट चाहिन्छ । पार्टी विभाजनअघि एमालेमा सभामुखसहित ५६ सदस्य थिए । सांसदहरू राजेन्द्र पाण्डे, कृष्ण खनाल शर्मा, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, वसन्त मानन्धर, रमा आले मगर र कुसुमकुमार कार्की एमाले छाडेर एकीकृत समाजवादीमा लागेका हुन् । ‘हामी पहिलो चरणमा जम्मा भएका साथीहरूले सनाखत गरेका हौं । अझै थपिनुहुन्छ,’ सांसद बसुन्धरा हुमागाईंले भने । उनले नवगठित पार्टीमा वाग्मती प्रदेशका २१ सांसद रहेको दाबी गरे ।दल विभाजनको जानकारी प्रदेशसभामा प्राप्त भएकाले बढीमा ३० दिनभित्र नवनियुक्त मुख्यमन्त्री शाक्यले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने भएको छ । उनी संविधानको धारा १६८ (१) अनुसार प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेताका रूपमा नियुक्त भएकी थिइन् । पार्टी विभाजन नभएको भए शाक्यले विश्वासको मत लिनुपर्दैनथ्यो ।

मुख्यमन्त्री शाक्यको सरकार ढल्ने निश्चित भएसँगै एमाले इतरका दलहरू गठबन्धन सरकार बनाउने तयारीमा लागेका छन् । सरकारले विश्वासको मत लिन आलटाल गरे विपक्षी गठबन्धनले विशेष अधिवेशन बोलाएर भए पनि नयाँ सरकार निर्माण गर्ने उनीहरूको भनाइ छ । प्रदेशसभामा माओवादीको २३ र कांग्रेस २२ मत छ । सरकार गठनका लागि गठबन्धनलाई थप १० मत भए पुग्छ । एकीकृत समाजवादीमा १२ सांसद खुलिसकेका कारण गठबन्धनको सरकार बन्ने निश्चित छ ।केन्द्रदेखिकै गठबन्धन भएका कारण सरकारको नेतृत्व कसले गर्ला भनेर बहस सुरु भइसकेको छ । कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ वा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेमध्ये एक जना मुख्यमन्त्री हुने सम्भावना छ । बानियाँ प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र हुन् भने पाण्डे पूर्वप्रधानमन्त्री माधव नेपालनिकट हुन् । ‘मुख्यमन्त्री को बन्छ वा कसको नेतृत्वमा सरकारमा जाने विषय हामीले चाहेर हुँदैन । हामी गठबन्धन भएका कारण केन्द्रीयस्तरमा भएको निर्णयअनुसार अगाडि बढ्नुको विकल्प छैन,’ कांग्रेसका एक सांसदले भने, ‘मुख्यमन्त्रीको दौडमा बानियाँ र पाण्डे रहेका छन् ।’

पाण्डेले मुख्यमन्त्रीको दाबी गरिसकेका छन् भने बानियाँले कुनै प्रतिक्रिया जनाइसकेका छैनन् । माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेलले आफ्नो दलले मुख्यमन्त्री प्राप्त गर्ने सम्भावना नरहेको बताए । ‘हाम्रो नेतृत्वमा देशभर तीनवटा प्रदेश सरकार छन् । त्यसैले हामीले मुख्यमन्त्री प्राप्त गर्ने सम्भावना छैन । तर हामी सरकारमा जान्छौं ।’ प्रदेशसभामा ३ सिट रहेको विवेकशील साझा पार्टीले भने सरकारमा नजाने स्पष्ट पारेको छ । ‘हामीलाई प्रतिपक्षमा बस्ने म्यान्डेट हो । कामका आधारमा सरकारलाई सहयोग वा असहयोग गर्छौं,’ विवेकशीलका सांसद रमेश पौड्यालले भने । प्रदेशसभामा २ सिट रहेको राप्रपाका साथै नेमकिपा तथा स्वतन्त्र सांसदले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रदेश १ मा १० सांसद एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् । राजेन्द्रकुमार, राजन राई, पदमकुमारी गुरुङ, गणेशकुमार काम्बाङ, खिनुलङ्वा लिम्बू, सुनिताकुमारी चौधरी, सरिता थापा, कृष्णकुमारी राई, सावित्रीकुमारी रेग्मी र उपेन्द्र घिमिरेले निर्वाचन आयोगको प्रदेश १ कार्यालय विराटनगरमा बुधबार सनाखत गर्ने तयारी छ । ‘कम्तीमा १० सांसद बुधबार बिहान ११ बजेसम्ममा निर्वाचन आयोगको कार्यालयमा सनाखतका लागि पुग्छौं,’ एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रदेश सांसद राजेन्द्रकुमार राईले भने ।मुख्यमन्त्री भीमप्रसाद आचार्यले शपथ लिएको दिनदेखि विराटनगरस्थित एक होटलमा बस्दै आएका एकीकृत समाजवादीमा संगठित प्रदेश सांसदहरू सोमबार विराटनगर छाडेर धनकुटातिर लागेका छन् । एमालेले जुनसुकै मूल्यमा रोक्ने रणनीति बनाएको सुइँको पाएपछि उनीहरू संगठित रूपमै धनकुटातिर लागेको एक प्रदेश सांसदले बताए ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य राईले भने कसैको दबाब, प्रभावमा नभई निर्वाचन आयोगको कार्यालयमा सनाखत गर्नका लागि कागजात लिन सबै जना आ–आफ्ना घर गएको बताए । ‘हामीलाई कसैको जस्तोसुकै दबाब र प्रभावले सनाखत गर्नबाट रोक्न सक्दैन किनकि हामी सबै आ–आफ्ना ठाउँमा जिम्मेवार छौं,’ उनले भने, ‘विराटनगरको एक होटलमा सर्वपक्षीय र सामूहिक परामर्शका लागि केही दिन बसेका थियौं । अहिले कागजात लिन सबै आ–आफ्ना घर आएका छौं ।’ उनले सनाखत गर्नेको संख्या बढ्न सक्ने तर नघट्ने दाबी गरे ।निर्वाचन कार्यालयमा सनाखत भएपछि मुख्यमन्त्री आचार्य नेतृत्वको सरकार अल्पमत पर्नेछ । सनाखतपछि निर्वाचन कार्यालयले प्रदेशसभा सचिवालयमा पत्र पठाएको दिनदेखि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको गठबन्धनको सरकार निर्माण प्रक्रिया सुरु गर्ने राईले बताए । ९२ सदस्यीय प्रदेशसभामा एमालेमा ५१, कांग्रेसमा २१, माओवादी केन्द्रमा १५, जनता समाजवादीमा ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपामा १/१ सांसद छन् ।

सुदूरपश्चिम प्रदेशसभाका २४ एमाले सांसद (सभामुखबाहेक) मध्ये १० जनाले नवगठित एकीकृत समाजवादी रोजेका छन् । प्रदेश सरकारका दुई मन्त्रीसहित उनीहरूले मंगलबार औपचारिक रूपमा सुदूरपश्चिम प्रदेश निर्वाचन आयोगको कार्यालय धनगढीमा उपस्थित भएर सनाखत गरेका हुन् ।एकीकृत समाजवादी रोज्नेमा हाल प्रदेश सरकारमा मन्त्री रहेका पूर्णा जोशी र लालबहादुर खड्का, राज्यमन्त्रीहरू चुनकुमारी चौधरी र मनाकुमारी साउद, प्रमुख सचेतक दुर्गाकुमारी कामी, पूर्वमन्त्री माया भट्ट र सांसदहरू सुशीला बुढाथोकी, कुलवीर चौधरी, अमर साउद र बलबहादुर सोडारी छन् । एकीकृत समाजवादी समूहको नेतृत्व गरिरहेका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीसहित समाजवादीको कित्तामा रहने चर्चामा रहेका पूर्वप्रमुख सचेतक तारा लामा तामाङ र आर्थिक मामिला तथा योजना राज्यमन्त्री अर्चना गहतराजले भने मंगलबार सनाखत गरेनन् । मन्त्री जोशीले सोडारीसहित कम्तीमा थप ४ जनाले बुधबार सनाखत गर्ने बताइन् । ‘आवश्यक कागजात ल्याउन ढिला भएकाले हो । हामी १४ जना पुग्छौं,’ मन्त्री जोशीले भनिन् ।

यसअघि नेपाल समूहमा रहेका आर्थिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह, पूर्वराज्यमन्त्री प्रकाश रावल र सांसद हर्क कुँवरले आफूहरू एमालेमै रहने बताएका छन् । पूर्वमन्त्री कृष्णराज सुवेदीलाई दुवै पक्षले आफ्नो पक्षमा आउने दाबी गरिरहेका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले जेठ २५ गते विश्वासको मत लिएका थिए । नेकपा (माओवादी केन्द्र) का नेता भट्टलाई त्यसबेला एमालेको नेपाल समूहमा रहेका १७ जना सांसदले समर्थन गरेका थिए । त्यसबेलादेखि नै माओवादी केन्द्र र नेपाल समूहको प्रतिनिधित्व रहेको संयुक्त सरकार छ । यसअघि प्रदेशसभामा एमालेका २४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जसपाका २ जना सांसदहरू थिए ।यस्तै, लुम्बिनीमा एमालेकी प्रदेशसभा सदस्य रमा घर्तीले मात्र एकीकृत समाजवादी रोजेकी छन् । पाल्पाबाट समानुपातिक निर्वाचित सांसद घर्ती यसअघिदेखि नै माधव नेपाल समूहमा थिइन् । मंगलबार निर्वाचन आयोगको प्रदेश कार्यालय दाङ पुगेर उनले प्रदेश निर्वाचन अधिकारी मीनराज भट्टराईको रोहबरमा सनाखत गरेकी हुन् । ‘अरू दुई–तीन जना पनि आउँदै हुनुहुन्छ,’ उनले भनिन्, ‘केही दिन बाँकी भएकाले उहाँहरूले पनि तयारी गर्दै हुनुहुन्छ ।’ घर्तीले नयाँ दल रोजेसँगै लुम्बिनी प्रदेशसभामा राजनीतिक दलको संख्या ६ पुगेको छ । अब प्रदेश सभाका ८० सदस्यमध्ये एमालेका सांसद संख्या ३६ भएको छ । जनता समाजवादीबाट टुक्रिएको लोकतान्त्रिक समाजवादी पार्टीमा भने मंगलबारसम्म कसैले पनि सनाखत गरेका छैनन् । प्रदेशमा जसपाका ६ सदस्यमध्ये तीन जना कारबाहीमा परेका छन् । बाँकी तीनै जना जसपामै रहेको जसपा नेता सहसराम यादवले बताए ।

कर्णाली प्रदेशमा एमालेको २० सदस्यीय संसदीय दलमा विवाद सुरु हुँदा नेपाल पक्षका ९ सांसद थिए । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ‘फ्लोर क्रस’ गरेको विश्वासको मत दिएपछि चार सांसदलाई एमालेले कारबाही गरेको थियो । प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दबहादुर बुढा कारबाहीमा परेपछि सांसद पद रिक्त छ । कारबाहीका विषयमा अदालतमा मुद्दा रहेकाले केही दिनभित्रै फैसला हुने विश्वासमा सनाखतलाई कुर्ने तयारी छ । निर्वाचन आयोगले नयाँ दलका लागि सनाखत गर्ने म्याद २२ गतेसम्मलाई तोकेको छ । एमालेको आन्तरिक विवादका बेला नेपाललाई साथ दिँदै आएका कतिपय सांसद भने एमालेमै रहने भएका छन् । गत चुनावमा बहुमत ल्याए पनि यस माओवादी केन्द्रसँगको भागबन्डाका कारण एमालेले सरकारको नेतृत्व गर्न पाएको थिएन ।

प्रदेश २ मा एमालेका २१ सांसदमध्ये संसदीय दल नेता शत्रुधन महतोसहित १३ जनाले एकीकृत समाजवादी रोज्ने भएका छन् । बिहीबार संसदीय दलको बैठक बसेर निर्वाचन कार्यालयमा सनाखत गराउने तयारी रहेको सांसद बेची लुंगेलीले जानकारी दिइन् । उनका अनुसार सर्लाहीका प्रदेश सांसद दिल्ली उप्रेती उपचारका लागि भारतमा रहेकाले उनको अवस्था बुधबारसम्म यकिन भएपछि बिहीबार दलको बैठक बस्ने तयारी छ  । ‘सांसद उप्रेती आउन नसक्ने अवस्था भए अन्य विकल्पबारे संसदीय दलको बैठकमा छलफल गर्छौं,’ उनले भनिन् । उनले एमालेबाट थप सांसद पनि आउन इच्छुक रहेको दाबी गरेकी छन् ।महतो र बेचु लुंगेलीका साथै गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोक यादव, मदन जैन श्रीवास्तव, मञ्जु यादव, दिल्ली उप्रेती, रवीन्द्र बैठा, खुसीमा खातुन, नागेन्द्र यादव, सुन्दर विश्वकर्मा र सीता गुरुङले एमाले छाड्ने भएका हुन् । जनता समाजवादी पार्टी विभाजन भएर गठन भएको लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूले पनि बुधबार जनकपुरमा प्रदेश सांसदहरूसंग छलफल राखेका छन् । लोसपा अध्यक्ष महन्थ ठाकुरसँगको बैठकपछि मात्रै निर्वाचन कार्यालयमा सनाखत हुने जनाइएको छ ।

जनता समाजवादीका ५४ सांसदमध्ये पूर्वराजपाका २५ जना थिए । पूर्वराजपामध्येका १० सांसद जसपा अध्यक्ष उपेन्द्र यादवतर्फ लागेका छन् ।गण्डकी प्रदेशसभामा एकीकृत समाजवादीका जाने सांसद देखिएका छैनन् । यसअघि एमालेमा माधव नेपाल पक्षधर रहेका बाग्लुङका सांसद इन्द्रलाल सापकोटा एमालेमै बसेपछि एकीकृत समाजवादीमा एउटै सांसद नभएका हुन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा एमालेका मात्रै २७ सांसद छन् । एमाले संसदीय दलका उपनेता किरण गुरुङले गण्डकीमा कुनै पनि सांसद नयाँ दलमा नगएको बताए । ‘उता कोही पनि जाँदैनौं,’ एमाले संसदीय दलका उपनेता किरण गुरुङले भने, ‘हामी २७ जना सांसद नेकपा एमालेमै रहन्छौं ।’   

( कान्तिपुर दैनिक )