News Desk
काठमाडौँ — १७ भाद्र २०७८
काठमाडौँ , सर्वोत्तम सिमेन्टको भित्री सेयर कारोबारमा धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भीष्मराज ढुंगानाको संलग्नता सम्बन्धमा छानबिन गर्न सरकारले जाँचबुझ समिति गठन गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा छानबिन समिति गठन गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार समितिको सदस्यमा कानुन आयोगका सहसचिव अर्जुनकुमार खड्का र विज्ञ सदस्यमा नारायणप्रसाद पौडेल छन् ।सरकारले धितोपत्र ऐन, २०६३ को दफा ७ को उपदफा ७ बमोजिम समिति गठन गरेको हो । उपदफा ७ मा अध्यक्षले बोर्डलाई हानि नोक्सानी पुर्याई बोर्डको हित वा पुँजी बजारको विकास विपरीत हुने गरी कामकारबाही गरेमा नेपाल सरकारले तोकिएबमोजिम जाँचबुझ समितिको गठन गरी सो समितिको सिफारिसमा निजलाई अध्यक्षको पदबाट हटाउन सक्ने व्यवस्था छ । तर यसरी पदबाट हटाउनुअघि अध्यक्षलाई आफ्नो पक्षमा सफाइ पेस गर्ने उचित अवसर दिनुपर्ने प्रावधान पनि ऐनमा छ ।
सर्वोत्तम सिमेन्ट बुक बिल्डिङ विधिबाट मूल्य निर्धारण गरी सेयर निष्कासनको तयारीमा रहेको कम्पनी हो । सोही कम्पनीको संस्थापक सेयर धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले छोरीको नाममा, नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले श्रीमतीका नाममा खरिद गरेको भेटिएको थियो । यो विषयमा अर्थ मन्त्रालयले पनि कानुन महाशाखाका सहसचिवको संयोजकत्वमा ५ सदस्यीय अध्ययन समिति बनाएर अनुसन्धान गरिरहेको छ । तर धितोपत्र ऐनमा यस्तो अनुसन्धान पूर्वन्यायाधीशको संयोजकत्वमा हुनुपर्ने प्रावधान छ । सोही व्यवस्थाअनुसार सरकारले छानबिनका लागि न्यायिक समिति गठन गरेको हो । छानबिनका क्रममा दोषी पाइए समितिको सिफारिसका आधारमा सरकारले सेबोन अध्यक्षलाई कारबाही गर्नेछ । अर्थ मन्त्रालयले छानबिन सुरु गरिसकेपछि नेप्सेका प्रमुख कार्यकारी साउदले गत साता पदबाट राजीनामा दिइसकेका छन् ।
( कान्तिपुर दैनिक )