News Desk
काठमाडौँ — १८ भाद्र २०७८
काठमाडौँ , एमाले उपाध्यक्ष भीम रावलले सरकारले एमसीसी सम्झौता अघि बढाउन षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत रावलले एमसीसी उपाध्यक्षलाई नेपाल बोलाएर सरकारले एमसीसी सम्झौता अघि बढाउन लागेको बताएका हुन् । देशलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश वर्तमान सरकारलाई प्राप्त नभएको उल्लेख गर्दै उनले लेखेका छन्, 'नेपालमा द्वन्द्वपछि अस्थिर राजनीतिक स्थितिमा एमससी सम्झौताको चाँजो मिलाइयो । फेरि अहिले अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र हुँदैछ। सरकार जनअनुमोदित होइन।'
आगामी साता आउने एमसीसीकी उपाध्यक्ष फतेमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले सम्झौताका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग वार्ता गर्ने कार्यतालिका छ ।नेपाल सरकारले एमसीसीसँग सम्झौता गर्दाको समझदारीअनुसार संसद्बाट अनुमोदन गराउने/नगराउने विषयमै अल्झिँदा परियोजना कार्यान्वयन सुरु भएकै छैन । ५ सय मिलियन अमेरिकी डलर अनुदानको परियोजना अघि नबढेपछि अमेरिकाले उच्च चासो व्यक्त गर्दै आएको छ । सम्झौता कार्यान्वयन भने गत वर्ष असार १६ मा सुरु गर्ने समझदारी थियो ।
प्रधानमन्त्री देउवा एमसीसी सम्झौता अनुमोदन गराउन तत्पर भए पनि सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादी हुबहु अनुमोदनका लागि तयार भइसकेका छैनन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा दर्ता भइसकेको सम्झौता अनुमोदनका लागि अघि बढाउन चाहे पनि नेकपाभित्रै सहमति जुटाउन सकेका थिएनन् ।
अमेरिकी दूतावासका अनुसार एमसीसी उपाध्यक्ष सुमार र सहायक उपाध्यक्ष ब्रुक्स ५ दिन नेपालमा रहनेछन् ।
( कान्तिपुर दैनिक )