स्वास्थ्य मापदण्ड अपनाएर अधिवेशनमा सहभागी हुन देउवाको निर्देशन
News Desk
Sep-03 , 2021 तारिख 11:34 बिहान

काठमाडौँ — १८ भाद्र २०७८   

काठमाडौँ, प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भएको भन्दै स्वस्थ प्रतिस्पर्धा गर्न आग्रह गरेका छन् । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि वडा तहको अधिवेशन सुरु हुँदै छ ।देउवाले शुक्रबार बिहानै भिडियो सन्देश जारी गर्दै यस्तो आग्रह गरेका हुन् । ‘स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र संगठनको जग मजबुत बनाउँदै जन–जनमा लोकतन्त्रको रक्तसंचार गर्छ । देशभरका साथीहरूलाई लोकतान्त्रिक प्रक्रियाअनुसार सर्वसम्मत वा स्वस्थ प्रतिस्पर्धामार्फत अधिवेशनमा सहभागी हुन अनुरोध गर्दछु,’ देउवाले भनेका छन्, ‘लोकतन्त्रको पर्यायका रूपमा रहेको कांग्रेस लोकतान्त्रिक अभ्यासमा आफूलाई सधैं अग्रणी साबित गर्दै आएको छ । नेपालका हरेक राजनीतिक आन्दोलनको नेतृत्व गर्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा पनि कांग्रेस सधैं अगाडि छ ।’ 

देउवाले बलियो कांग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव रहेको बताएका छन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नेपाली कांग्रेसलाई बलियो बनाउन जरुरी छ । त्यसैले ‘बलियो कांग्रेस, समृद्ध देश’ भन्ने नारालाई साकार पार्न म पार्टीका हरेक तहका साथीहरुलाई आग्रह गर्न चाहन्छु,’ उनले भनेका छन् ।संवैधानिक बाध्यताले कोरोना महामारीकै बीच महाधिवेशन गर्नुपरेको भन्दै देउवाले सामाजिक दुरी कायम गर्दै आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर मात्रै वडा अधिवेशनमा सहभागी हुन आग्रह गरेका छन् । कांग्रेसको विगतको योगदान, परिपक्वता र अनुभवका कारण मुलुकको नेतृत्व अहिले फेरि कांग्रेसकै काँधमा आएको भन्दै देउवाले भिडियो सन्देशमार्फत् जनताको विश्वास जित्ने गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।    

( कान्तिपुर दैनिक )