पोखरामा कतै पहिरो र डुबान, कतै भ्वाङ
News Desk
Sep-03 , 2021 तारिख 01:47 बेलुका

पोखरा —  १८ भाद्र २०७८  

पोखरा, माथिल्लो गाउँबाट फोन आएपछि पोखरा–२० भलामका कालीप्रसाद पौडेलको परिवार बुधबार मध्यरात घरबाहिर निस्कियो । भलबाढी खेतखेतै झरिरहेको सूचना रिपबहादुर केसीले पौडेललाई दिएका थिए । कालीप्रसादले दाइ सेतुप्रसादको परिवारलाई खबर गरे ।  ‘राति १२ बजेतिर भागेर अलि उता मात्रै के पुगेका थियौं, झ्याम्मै पहिरो खस्यो,’ सेतुप्रसादले भने, ‘दुई–तीन सेकेन्ड ढिला भएको भए ६–७ जना नबाँचिने रहेछ ।’ झरी कम भएपछि उनीहरूले बस्ती नजिकै बच्चा रोएको आवाज सुने । छिमेकी ९ वर्षीय राजकुमार श्रेष्ठ आधा पुरिएका रहेछन् । उनको उद्धार गरिसकेपछि नजिकै उनकी आमा सुनमाया तामाङको शव भेटियो । मध्यरातमा आएको पहिरोले कृष्ण श्रेष्ठको घर बगाएर झन्डै डेढ सय मिटर तल पुर्‍याएको छ । पहिरोमा ४५ वर्षीय श्रेष्ठ, उनकी श्रीमती ३५ वर्षीय सुनमायाको निधन भएको हो ।

श्रेष्ठलाई राति नै स्थानीय र प्रहरीले उद्धार गरी मणिपाल शिक्षण अस्पताल पुर्‍याए पनि बिहीबार बिहान चिकित्सकले मृत घोषणा गरेका थिए । त्यही पहिरोमा ३ वर्षीय छोरा सन्तोष बेपत्ता भएको जिल्ला प्रहरी प्रवक्ता एवं डीएसपी सुवास हमालले बताए ।बुधबार दिउँसोदेखिको अविरल वर्षापछिको पहिरोमा परी पोखरामा ५ जनाले ज्यान गुमाएका छन् भने एक जना बेपत्ता छन् । पाँच जना घाइते भएका छन् । भलामकै मुलाबारी देउरालीमा बुधबार राति आएको अर्को पहिरोमा पुरिएर आमाछोराको निधन भएको हो । सुतिरहेकै अवस्थामा ढिस्को खस्दा २९ वर्षीया विष्णु नेपाली र उनका ८ वर्षका छोरा सन्तोष घरभित्रै पुरिएका हुन् । स्थानीय टेकबहादुर खत्रीका अनुसार घरको एकापट्टि पहिरो पसेको थियो । आमाले छोरालाई च्यापेर सुतिरहेकै अवस्थामा सेना र प्रहरीले शव निकालेका थिए । विष्णुका श्रीमान् रोजगारीको सिलसिलामा कतारमा छन् ।

यस्तै, पोखरा–११ नमुना टोलमा पहिरोले कच्ची घर पुर्दा ४२ वर्षीय लक्ष्य नेपालीको मृत्यु भएको छ । घरमै रहेकी उनकी १४ वर्षीया छोरी सृष्टि उपचारपछि घर फर्किएकी छन् । अन्य घाइतेको भने मणिपालमा उपचार भइरहेको छ । अविरल वर्षाले पोखरामा पहिरो मात्रै ल्याएको छैन, केही स्थान डुबानमा पारेको छ भने फेरि भ्वाङ पर्न थालेको छ । ढुंगा, माटोसहितको गेग्रानले पोखरा–१३ को काहुँखोला थुनिँदा काहुँखोला र कमलपोखरी क्षेत्र डुबानमा परेको हो । पानीको निकास नहुँदा कमलपोखरी बर्सेनि डुबानमा पर्छ । खेतमा प्लटिङ गरेर घर भरिएपछि प्राकृतिक रूपमा बग्ने पानी थुनिने गरेको हो ।

पोखराको मुख्य सहरभित्रका जमिन फेरि भासिन थालेका छन् । गत साता मुख्य बजार महेन्द्रपुल र लेकसाइडमा सडकमा भ्वाङ पर्दा घर पनि जोखिममा परेका थिए । बिहीबार भ्वाङ पर्दा पोखरा–३ नदीपुरको तीन घर र सडकमा क्षति पुगेको छ । भासिएको ठाउँमा तत्काल पुरेर सम्याइएको वडाध्यक्ष रवीन्द्रबहादुर प्रजुले बताए ।

यसकारण पर्छ भ्वाङ

वरिष्ठ जियो टेक्निकल इन्जिनियर नारायण गुरुङका अनुसार अन्नपूर्ण हिमालय क्षेत्रबाट करिब १२ हजार वर्षअघि र पछिल्लोपटक ८ सय वर्षअघि आएका भीषण बाढीपछि चुनयुक्त लेदोसहितको बालुवा, गिट्टी र ठूला ढुंगाले पुरिएर पोखरा उपत्यका बनेको वैज्ञानिक तथ्य छ । उनका अनुसार १२ हजार वर्ष पहिलेको बाढीले थुपारेको भूभागलाई घाचोक फर्मेसन र ८ सय वर्ष पहिलेको बाढीले थुपारेको भूभागलाई पोखरा फर्मेसन भनिन्छ । हेर्दा उस्तै देखिए पनि घाचोक फर्मेसन, पोखरा फर्मेसनभन्दा बलियो र कडा छ ।‘पोखराको माटो चुनयुक्त छ, जुन पानीसँग मिसिएपछि घुलेर जान्छ,’ पोखरामा प्राकृतिक प्रकोप र विपद् विषयमा फ्रान्सको पेरिस विश्वविद्यालयबाट विद्यावारिधि गर्दै गरेका उनी भन्छन्, ‘जसले गर्दा माटोभित्र खोक्रोपन उत्पन्न हुन्छ ।

त्यसपछि माटोको आफ्नो भारवहन शक्ति घट्दछ र अन्ततः माथिको माटो तल भासिन्छ, जसलाई हामी भ्वाङ अर्थात् सिंक होल भनेर जान्दछौं ।’भ्वाङ पर्न नदिने सबैभन्दा उत्तम उपाय भनेकै पानी परेपछि बगेर आउने भलपानी सकेसम्म जमिनभित्र पस्नबाट रोक्नु हो । भलपानी उचित तरिकाले सुरक्षित ठाउँसम्म निकास दिँदा यो समस्या हट्ने उनले बताए । ‘त्यस्ता ठाउँहरूमा सकेसम्म संरचना बनाउनु हुँदैन । बनाउनुपरे वरिपरिबाट बगेर आउने पानीको उचित निकास गर्नुपर्छ,’ उनले भने ।   

( कान्तिपुर दैनिक )