विपद्‌मा मृत्यु भएका र बेपत्ताका परिवारलाई  १ लाख रुपैयाँ
News Desk
Sep-04 , 2021 तारिख 06:40 बिहान

कास्की - केही दिनयता वर्षाका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लामा बाढी, पहिरोले व्यापक जनधनको क्षति पुर्‍याएको छ । क्षतिग्रस्त जिल्लामा उद्धार र राहतमा कुनै कसुर बाँकी नराख्न गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले निर्देशन दिएका छन् ।

पछिल्ला दिनमा कास्की, पर्वतसहितका जिल्लामा बाढी पहिरोले बढी क्षति पुगेको बताउँदै मुख्यमन्त्री नेपालीले शुक्रबार प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक राखेर जिल्ला र स्थानीय तहका विपद् व्यवस्थापन समितिलाई निर्देशन दिएका हुन् ।

विपद् व्यवस्थापनको काम तीन तहकै सरकारको समन्वयमा हुने भएकाले पीडितले महसुस गर्ने गरी काम गर्न उनले आग्रह गरे । प्रदेश सरकारले विपद्‌मा मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति १ लाख रुपैयाँ, बेपत्ताका परिवारलाई पनि १ लाख रुपैयाँ दिने गरी कार्यविधि बनाएको छ । यसैगरी खाद्यान्नका लागि १५ हजार, अस्थायी आवासका लागि २५ हजार र उपचार खर्च ५० हजार रुपैयाँसम्म प्रदेशले बेहोर्छ ।

बाढी पहिरोमा परेर बिहीबार र शुक्रबार मात्रै कास्की र पर्वतमा १८ जनाको मृत्यु भएको छ । असारयता मात्रै बाढी पहिरोमा गण्डकीमा ३४ जनाले ज्यान गुमाएका छन् भने ८ बेपत्ता छन् ।