एमालेको क्षेत्रीय भेला धमाधम
News Desk
Sep-05 , 2021 तारिख 03:21 बेलुका

दाङ — २० भाद्र २०७८  

दाङ, नेकपा एमालेले धमाधम क्षेत्रीय भेला गर्न थालेको छ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीबाट पदमुक्त भएपछि नेता शंकर पोखरेल अहिले भेलालाई सम्बोधन गर्न व्यस्त छन् । शुक्रबार दाङ–१ को लमही र शनिबार क्षेत्र नम्बर ३ को तुलसीपुरमा भेला सम्पन्न भएका छन् । आइतबार क्षेत्र २ को घोराहीमा भेला हुने जिल्ला सचिव मनोहर बुढाथोकीले बताए । शनिबार तुलसीपुरको भेलालाई सम्बोधन गर्दै पोखरेलले एमाले जनताको बीचमा आएको बताए । ‘सरकारबाट हटाइए पनि एमाले जनताको बीचमा आएको छ ।

हामीले निर्वाचनमार्फत पनि जनताकै बीचमा जान खोजेका थियौं,’ उनले भने, ‘जनतामा विश्वास हुनेहरू निर्वाचनमा जान डराउनु हुँदैन । कांग्रेस र माओवादीलाई जनमतमा विश्वास छैन । त्यसैले चुनावदेखि डराइरहेका छन् ।’ दल फुटाउने अध्यादेश कांग्रेस र माओवादीका लागि समेत घातक रहेको उनले बताए । ‘कुनै दिन अध्यादेशले सबैलाई समस्या पार्नेछ । जनमतको अपमान गर्दै सरकार ढाल्नेहरूबाट केही आश गर्न सकिँदैन,’ उनले भने, ‘सत्ता स्वार्थका लागि पार्टी फुटाउनेहरूलाई पनि जनताले चिनेका छन् । एमाले अब पनि जनमत पाएर फेरि सरकारमा जानेछ ।’ भेलालाई एमाले केन्द्रीय सदस्य सुजिता शाक्य, सचेतक शान्ता चौधरी, केन्द्रीय सदस्य नरुलाल चौधरीलगायतका नेताले सम्बोधन गरेका थिए ।  

 ( कान्तिपुर दैनिक )