News Desk
सल्यान — २० भाद्र २०७८
सल्यान , कालीमाटी गाउँपालिका–५ दम्दबालीका ३९ वर्षीय सुरेश गाहामगर पेसाले शिक्षक हुन् । एक दशकदेखि जनता मावि काल्चेमा अध्यापन गराउँदै आएका उनले लामो समयदेखि बाख्रापालन गरिरहेका छन् । कोरोना महामारी र निषेधाज्ञाका कारण विद्यालय लामो समयदेखि बन्द भएपछि उनको अधिकांश समय बाख्राको स्याहारसुसारमै बितिरहेको छ । विद्यालय सञ्चालन हुँदा साँझ–बिहान मात्र फार्मलाई समय दिने उनी आजभोलि बिहान सबेरैदेखि राति अबेरसम्म गोठमै व्यस्त हुन्छन् । ९ वटा बाख्राबाट उनले सुरु गरेको व्यवसाय अहिले १ सय २० वटा बाख्रा र खसीबोकामा विस्तार भएको उनले बताए । उनले ३० रोपनी जग्गामा उन्नत जातको घाँस पनि लगाएको जानकारी दिए ।
उनले बारीमा सुपर नेपियर, पासपालम, मुलाटोलगायतका घाँस लगाएका छन् । बाख्रा र खसीबोका बिक्री गरी गत वर्ष ७ लाख र घाँसबाट ५ लाख रुपैयाँ कमाएको उनले बताए । उनका अनुसार गत वर्ष १६ देखि ३६ हजारसम्मका ४० वटा खसीबोका फार्मबाटै बिक्री भएका थिए । उनले २ देखि १० रुपैयाँ प्रतिमुठा घाँस बिक्री गरिरहेका छन् । गत वर्ष करिब १ लाख ५० हजार मुठा घाँस बिक्री गरेको उनले जानकारी दिए । ‘बजारको अभाव पनि छैन,’ उनले भने, ‘भाउ पनि बढेको बढ्दै छ ।’ बजार र भाउको समस्या नहुँदा व्यवसाय फस्टाएको मगरले बताए । बाख्रापालन र घाँसखेतीबाट भएको आम्दानीले १२ जनाको परिवार सजिलै पालेको मगर बताउँछन् । उनले २०६९ मा सुशान्त एवम् सुशांक एग्रिकल्चर फार्म दर्ता गरी व्यावसायिक बाख्रापालनलाई निरन्तरता दिइरहेको बताए ।
‘आफैंले घाँसखेती गरेकाले बाख्रा पाल्न पनि समस्या छैन,’ उनले भने, ‘घाँसखेतीबाट पनि बर्सेनि फाइदा भइरहेको छ ।’ उनले व्यवसायमा करिब ५० लाख लगानी गरेको बताए । उनले पालेका बोयर जातका बाख्रा र खसीबोका सुर्खेत, दाङ, नेपालगन्ज, बुटवललगायत ठाउँमा पुगिरहेका छन् । उनले कोरोना महामारीका कारण विद्यालय बन्द भएपछि व्यवसायमा पूरै समय दिएको उनले बताए । ‘विद्यालय नखुल्दा पूरै समय व्यवसायमा दिइरहेको छु,’ उनले भने, ‘विद्यालय खुले समय व्यवस्थापन गरेर व्यवसायलाई निरन्तरता दिनेछु ।’ पशुपालन र घाँसखेतीमा लागे पनि जिल्ला पशुसेवा कार्यालयले बेवास्ता गरिरहेको उनको गुनासो छ । नजिकै प्राविधिकको सुविधा नहुँदा खसीबोका बिरामी भए उपचारमा समस्या हुने उनले बताए ।
( कान्तिपुर दैनिक )