News Desk
स्याङ्जा — २१ भाद्र २०७८
स्याङ्जा , भदौ १३ मा गल्याङ नगरपालिका–१ राम्दीमा सिद्धार्थ राजमार्ग माथिबाट पहिरो खसेको थियो । पहिरोमा वालिङ नगरपालिका–१४ की धनमाया उम्रामगरको मृत्यु भयो । पहिरोबाट चार जना घाइते भए भने चार घर पुरिए । पहिरोले राजमार्गको राम्दी सडकखण्ड अझै पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको प्रहरीले जनाएको छ । पहिरोका कारण राम्दीबजार जोखिममा रहेको जिल्ला प्रहरी प्रमुख एसपी होवीन्द्र बोगटीले बताए । ‘पहिरोले सडकमाथिको डाँडो चिराचिरा परेको छ,’ उनले भने, ‘यहाँका करिब ५० घर पहिरोको जोखिममा छन् ।
पानी पर्दा स्थानीय घरमा बस्ने अवस्था छैन ।’ पहिरोले प्रहरी चौकी, मन्दिर र स्थानीयका घर जोखिममा रहेको उनको भनाइ छ । कालीगण्डकी नदीको बहाव बढेकाले पनि किनार वरपरका बस्तीसमेत उच्च जोखिममा रहेको उनले बताए स्याङ्जा र पाल्पा दुई जिल्ला जोड्ने सकड पुल पनि जोखिममा रहेको स्थानीयको भनाइ छ । ‘राम्दी पाल्पा र स्याङ्जाको नाका नाका हो । यसतर्फ बेलैमा सोच्न सकिएन भने पछि केही भन्न सकिन्न,’ बोगटीले भने । राम्दीको सिंगो डाँडै जोखिमयुक्त भएकाले कतिबेला के हुन्छ भन्न नसकिने उनले बताए । गल्याङ–३ मा रहेको बसपार्क पनि पहिरोको उच्च जोखिममा छ ।
( कान्तिपुर दैनिक )