जलमग्न च्यासल रंगशाला
News Desk
Sep-07 , 2021 तारिख 01:14 बेलुका

काठमाडौँ — २२ भाद्र २०७८   

काठमाडौँ , पुनर्निर्माण सम्पन्न भइनसकेको च्यासल रंगशाला आइतबार राति अविरल वर्षाका कारण मनोहरा खोलामा आएको बाढीले डुबानमा परेको छ । आइतबार रातिदेखि काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भएको भारी वर्षाका कारण आएको बाढी रंगशालामा पसेको हो । च्यासलस्थित मनोहरा खोला छेवैमा रहेको रंगशालामा आवश्यक तटबन्ध पनि निर्माण गरिएको छ । तर, सोमबार बिहान काठमाडौं र ललितपुर जोड्ने च्यासल पुलनजिकैबाट रंगशालाको मुख्य प्रवेशद्वार हुँदै पानी मैदानमा पसेको थियो । बिहान करिब २ घण्टासम्म डेढ फिटभन्दा बढी पानी जमेको थियो । ‘रंगशालाको मुख्य गेटबाटै पसेको पानी निकास हुन नपाएपछि मैदानमा जमेको रहेछ,’ डुबानपछि सबैभन्दा पहिले रंगशाला पुगेका च्यासल युथ क्लबका सचिव तथा फुटबल म्यानेजर शंकर व्यञ्जनकारले भने, ‘मैदानबाट खोलातर्फको गेट खोलेर त्यहाँको माटो पन्छाएपछि पानीले निकास पाएको हो ।’

च्यासल रंगशालामा तीन महिनाअघि बर्मुडा ग्रास (फुटबल मैदानमा प्रयोग हुने उच्चस्तीय दुबो) रोपिएको थियो । दुबो सरेर हराभरा भइसकेको थियो । यो बाढीले रंगशाला पुनर्निर्माण सम्पन्न गर्न आलटाल गरिरहेको निर्माण कम्पनीलाई पुनः म्याद थप गराउने बहाना हुनसक्छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पुनर्निर्माण गरिरहेको च्यासल रंगशालाका साइट इन्जिनियर पूर्ण सुन्दासले बाढी र डुबानले दुबोमा केही क्षति भएको हुनसक्ने अनुमान गरेका छन् । तर च्यासलका सचिव व्यञ्जनकारले भने धेरै समय डुबान नभएकाले क्षति नभएको बताए । सुरुमा उनीसहित क्लबका तीन पदाधिकारी बाढीको निकास दिन रंगशाला पुगेका थिए । ‘बाढीको पानी पसेपछि केही न केही क्षति भएकै छ,’ इन्जिनियर सुन्दासले भने, ‘भोलिसम्ममा क्षति निर्क्यौल गर्नेछौं । उनले रंगशालाको सुरक्षाका लागि मनोहरामा निर्माण गरिएको तटबन्धमा क्षति पुगेकोबारे पनि परीक्षणपछि मात्रै भन्न सकिने बताए । ‘अहिले पानी बढेको छ । मनोहराको बाढी कम भएपछि परीक्षण गर्नेछौं,’ उनले कान्तिपुरसँग भने ।

मनोहरा खोला बढ्ला च्यासलको मैदान डुबानमा पर्ने नयाँ घटना भने होइन । यसअघि २०७५ सालमा पनि डुबान हुँदा ठेकेदार कम्पनीले सोही बहानामा म्याद थप गराएका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) ले टेक्निकल सेन्टरका रूपमा सञ्चालन गरेको १५ वर्षपछि राखेपले च्यासल रंगशाला पुनर्निर्माणका लागि २०७४ साल वैशाखमा डाँफे–प्रेरणा प्रतिष्ठा जेभीसँग २ वर्षमा निर्माण सम्पन्न गर्ने गरी ३३ करोड रुपैयाँमा सम्झौता गरेको थियो । च्यासल क्लबले प्रशिक्षण केन्द्र बनाएको र मनोहराको बाढीले काम गर्न नसकेको भन्दै समयमै निर्माण पूरा नगरेको कम्पनीले २०७६ वैशाखयता ६–६ महिनाका दरले पाँचपल्ट म्याद थपको सुविधा पाइसकेको छ । पछिल्लोपल्ट थपिएको म्याद पुस मसान्तमा सकिँदै छ । निर्धारित मितिमा सम्पन्न भएको भए च्यासल रंगशालामा १३ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत हकीको स्पर्धा आयोजना गर्ने तयारी राखेपको थियो । ठाउँ नभएपछि प्रतियोगिताबाटै उक्त खेल हटाइयो । सागकै लागि फुटबलको अभ्यासस्थल बनाउने पनि भनिएको थियो । अन्तिममा अभ्यासस्थल बनाइएन । यो मैदान च्यासल युथ क्लबले घरेलु मैदानका रूपमा प्रयोग गर्दै आएको छ । तर यहाँ ५ वर्षदेखि फुटबल गतिविधि भएको छैन ।

इन्जिनियर सुन्दासले निर्माण काम लगभग सकिएको जानकारी दिए । ‘मैदानको घाँस, रंगरोगनसहित फिनिसिङ र विद्युत्को काम अलि–अलि बाँकी छ । मुख्य कामहरू सम्पन्न भइसकेका छन्,’ उनले भने, ‘सायद अब म्याद थप्नु नपर्ला ।’ रंगशालाको दर्शक क्षमता १० हजार रहेकामा मनोहरा करिडोरको मापदण्डअनुसार खोलाबाट २० मिटरसम्म संरचना बनाउन नपाउने भएपछि ८ हजारमा झरेर प्यारापिट निर्माण गरिएको थियो । मैदानको तीनपट्टि प्यारापिट बनाइएको छ भने खोलातर्फ खुला छाडिएको छ । रंगशालाको मैदान १ सय २० मिटर लम्बाइ र ७० मिटर चौडाइको छ । पूर्व र पश्चिमतर्फ तीन–तीन तलाको प्यारापिट निर्माण गरिएको छ । दक्षिणतर्फ दुईतले प्यारापिट छ । हरेक ब्लकमा दुई शौचालय तथा दक्षिणतर्फको ब्लकमा चेन्जिङ रूम, रेफ्री रुम, मिडिया सेन्टर र मेडिकल रुम छन् । एन्फाले फिफाको गोल प्रोजेक्टअन्तर्गत २०५९ सालमा च्यासल टेक्निकल सेन्टर स्थापना गरेको थियो । यो सेन्टरको उद्घाटन २०६३ सालमा एसियाली फुटबल महासंघ (एएफसी) का तत्कालीन अध्यक्ष मोहम्मद बिन हमामले गरेका थिए ।  

( कान्तिपुर दैनिक )