राजनीतिमा युवा आकर्षण बढ्दै
News Desk
Sep-07 , 2021 तारिख 03:44 बेलुका

दैलेख — २२ भाद्र २०७८   

दैलेख , नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि भएको वडा अधिवेशनमा युवाहरूको आकर्षण देखिएको छ । अधिवेशन सम्पन्न भएका जिल्लाका ९० वडाबाट झन्डै ६० प्रतिशत युवायुवती छनोट भएको कांग्रेस दैलेखले जनाएको छ ।  दुल्लु–३ की १९ वर्षीया स्वस्तिका महत वडा सभापतिमा निर्वाचित भएकी छन् । उनी नेपाली कांग्रेसका तत्कालीन उपसभापति स्वर्गीय भूपेन्द्रबहादुर महतकी छोरी हुन् । नेपालगन्ज टेक्निकल कलेजबाट एचए उत्तीर्ण महत सभापतिमा सर्वसम्मत बनेकी हुन् । घुमघामको सिलसिलामा भारत पुगेका महतको २०७६ साल कात्तिकमा भारतमै मृत्यु भएको थियो । बाबुको इच्छा पूरा गर्न आफू राजनीतिमा आएको महतले बताइन् । ‘केही गर्छु भन्ने उमेरमा बाबाको मृत्यु भयो,’ उनले भनिन्, ‘जसरी पनि उहाँको अपूरो इच्छा पूरा गर्छु ।’ उनका अनुसार यसअघि वडा सभापतिमा १४ जना आंकाक्षी थिए । सबै आकांक्षीले आफ्नो साहस र हिम्मत देखेर सभापतिको जिम्मेवारी दिएको उनले बताइन् । उनको वडामा कांग्रेसका १ सय ३३ जना क्रियाशील सदस्य छन् । उनले आफ्नो नेतृत्वमा अधिकांश युवाहरू समावेश भएको जानकारी दिइन् ।

दुल्लु–५ मा पनि ३१ वर्षीय सरोज रिजाल वडा सभापतिमा निर्वाचित भएका छन् । उनी विद्यार्थी राजनीति हुँदै पार्टीमा आएका हुन् । ‘सबै विषय राजनीतिसँगै जोडिने भएकाले पार्टी राजनीतिमा आएको हुँ,’ उनले भने, ‘अब समाज सेवासँगै राजनीतिलाई निरन्तरता दिन्छु ।’ दुल्लुकै वडा नम्बर १० मा पनि ३१ वर्षीय दीपेन्द्र पुरी वडा सभापतिमा निर्वाचित भएका थिए । २०६१ सालमा नेपाल विद्यार्थी संघको जिल्ला सदस्य रहेका उनले यसै वर्ष पार्टीको क्रियाशील सदस्यता प्राप्त गरेका थिए । राजनीतिमा पुस्तान्तरण जरुरी रहेकाले अधिकांश युवाले राजनीति रोजेको उनको भनाइ छ ।

 

दैलेख क्षेत्र नंं.–१ का ४६ वडामा सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको क्षेत्रीय सभापति गणेश उपाध्यायले बताए । उनका अनुसार क्षेत्रमा झण्डै आधाभन्दा बढी युवाहरू प्रतिनिधिको रूपमा चयन भएका छन् । क्षेत्र नं. २ मा पनि करिब ७० प्रतिशत युवाहरू प्रतिनिधि र वडा पदाधिकारी चुनिएको क्षेत्रीय सभापति घनश्याम भण्डारीले बताए । ‘राजनीतिमा युवाको आकर्षण बुझेर नै हामीले जिम्मेवारी दिएका छौं,’ उनले भने, ‘निर्वाचित भएकाहरू अधिकांश १८ देखि ३० वर्ष उमेर समूहका छन् ।’

दैलेखका सबै वडामा अधिवेशन सकिएको पार्टी जिल्ला सभापति कृष्णकुमार बिसीले बताए । ‘लामो समयपछि नेतृत्व चयनको प्रक्रिया भएकाले पनि युवाको आकर्षण देखिएको छ,’ उनले भने, ‘ग्रामीण क्षेत्रमा पनि युवाले आफ्नो सहभागिता खोजे ।’ योपल्ट महिलाको सहभागिता पनि उल्लेख्य देखिएको उनले बताए । उनका अनुसार जिल्लाभरि १ हजार ५ सय ८९ जना प्रतिनिधि छनोट भएका छन् ।   

( कान्तिपुर दैनिक )