चेपाङले मनाए सामूहिक न्वागी
News Desk
Sep-08 , 2021 तारिख 11:25 बिहान

राक्सिराङ (मकवानपुर) — २३ भाद्र २०७८  

राक्सिराङ (मकवानपुर) , चेपाङ समुदायले राक्सिराङको चैनपुरमा मंगलबार राति सामूहिक रूपमा छोनाम (न्वागी) पर्व मनाएको छ  । यो पर्व विगतमा घर/घरमा मनाइँदै आएकोमा यस वर्ष भने नेपाल चेपाङ संघले चैनपुरमा  सामूहिक कार्यक्रम आयोजना गरेको हो ।  कार्यक्रमको प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले चेपाङ समुदायको ढ्यांग्रो ठोकेर शुभारम्भ गरे । राक्सिराङ चेपाङहरूको बाहुल्य रहेको गाउँपालिका हो । उक्त गाउँपालिकाले छोनाम पर्वका दिन सार्वजनिक बिदा दिएको छ ।

चेपाङ समुदायको सबैभन्दा ठूलो धार्मिक पूजा छोनाम प्रत्येक वर्ष भदौ २२ मा पर्छ । न्वागी पर्वमा सहभागी भएकाहरूलाई चेपाङ समुदायका अगुवा गायक रविन चेपाङले चेपाङ भाषाको गीतबाटस्वागत गरेका थिए । कार्यक्रममा मकवानपुर, चितवन र धादिङका अगुवा चेपाङहरूको सहभागिता थियो । चेपाङ समुदायले पितृलाई नचढाई र पूजाआज नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । न्वागी पर्वका दिन घैया धानको चामल, पिँडालु, निबुवालगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ । पान्देले पूजाआज गरेपछि सहभागी चेपाङहरूलाई नयाँ फलफूल र खाद्यान्न दिन्छन् ।

 

वर्ष दिनमा कम्तीमा नौ महिना जंगली कन्दमूल खाएर प्राण धान्दै आएको लोपोन्मुख चेपाङ जातिले यो पर्वमा मिठो–मसिनो खाएर मुख फेर्छन् । उनीहरूले पाखापखेरामा लगाएको मकैलगायत फलफूल भदौमा पाक्ने कारणले यही बेला छोनाम (न्वागी) मनाउने गरेका हुन् । चेपाङहरू नयाँ अन्न खाने दिनलाई छोनाम भन्छन् । यो पर्वसँग चेपाङ जातिको जीवनशैली र संस्कृति जोडिएको छ । ‘यो चेपाङ जातिको सबैभन्दा ठूलो पर्व हो,’ पूर्वसभासद गोविन्द चेपाङले भने, ‘नयाँ अन्न र फलफूल भूमि र पितृलाई नखुवाएसम्म खान नहुने मान्यता छ ।’ छोनाम (न्वागी) का दिन एकपाखे ढ्यांग्रो ठोकेर झाँक्रीहरूले मन्त्रोच्चारण गर्छन् । झाँक्रीलाई चेपाङहरू पान्दे भन्छन् । ती पान्दे पनि चेपाङ नै हुने गर्छन् ।

‘छोनामका दिन यसरी ढ्यांग्रो ठोकिएन र मन्त्रोच्चारण गरिएन भने पितृ र देवता रिसाउँछन्,’ सोमदास चेपाङले भने, ‘यसरी विधि पुर्‍याएपछि मात्र नयाँ अन्न र फलफूल खाने बाटो खुल्छ । विधि नपुर्‍याईकन आफ्नो खुसीमा नयाँ अन्न खाएमा पितृ र देवताले दु:ख दिन्छन् ।’ २०६८ सालको जनगणनाअनुसार मुलुकमा चेपाङको जनसंख्या ६८ हजार ३ सय ९९ छ । मकवानपुरमा ९ हजार ७ सय ७८ पुरुष र ९ हजार ३ सय ७४ महिलासहित १९ हजार १ स ५२ जना चेपाङको बसोबास छ ।   

( कान्तिपुर दैनिक )