News Desk
काठमाडौँ — २४ भाद्र २०७८
काठमाडौँ , प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदानसम्बन्धी एमसीसी सम्झौता अनुमोदन प्रक्रियालाई जतिसक्दो छिटो अघि बढाउन खोजिरहेका बेला सत्तारूढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशभित्र र बाहिरबाट गठबन्धन भत्काउने षड्यन्त्र भइरहेको टिप्पणी गरेका छन् । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा उनले ‘प्रतिगमन परास्त गर्न बनेको गठबन्धनलाई एमसीसी प्रयोग गरेर फुटाउन सकिन्छ कि भनेर एकथरी लागिराखेको’ बताएका हुन् । पार्टीको भ्रातृ संगठन वाईसीएलको बैठकमा मंगलबार पनि उनले सत्ता गठबन्धन भत्काउने षड्यन्त्र भइरहेको बताएका थिए । ‘कहाँनेर प्वाल छ भनेर टर्च बालेर खोजी भइरहेको छ । एमसीसी, आईपीएसलाई अगाडि सारिदियो भने यिनीहरूभित्र झगडा पर्ला कि भनेका छन् । हामीले यो बुझिराख्न जरुरी छ,’ उनले भनेका थिए । दाहालले षड्यन्त्र कोबाट भइरहेको छ भन्नेबारे नखुलाए पनि प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको ‘कानेखुसी’ लाई इंगित गरेको चर्चा राजनीतिक वृत्तमा छ । दाहालको अभिव्यक्तिले सत्ता गठबन्धनभित्र असन्तुष्टि र अविश्वास उत्पन्न भएको संकेत पनि गरेको छ । प्रधानमन्त्री देउवाले बुधबार सुरु भएको संसद् अधिवेशनबाटै एमसीसी सम्झौतालाई अनुमोदन गराउन चाहे पनि सत्ता साझेदार माओवादी केन्द्र सम्झौता परिमार्जन हुनुपर्ने पक्षमा छ ।माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनले गठबन्धनमा कुनै समस्या नभएको दाबी गरे ।
आशंकाका आधार
‘एमसीसीका विषयमा कसैले असाध्यै विरोध र कसैले असाध्यै समर्थन गर्ने भइरहेको छ । यही मुद्दाले गठबन्धनमा कतै दरार आउँछ कि भनेर एकथरी मान्छे लागेका छन् भन्ने सन्दर्भमा अध्यक्षले बोल्नुभएको हो । गठबन्धनमा केही कचपच छैन,’ उनले भने । जसपा नेता राजेन्द्र श्रेष्ठले पनि गठबन्धनमा समस्या नआएको दाबी गरे । गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा एमसीसी सम्झौताको विरोधमा संघर्षमा उत्रिसकेको छ । यही मुद्दामा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन पनि सडकमा छ । ‘एमसीसीलाई देखाएर आन्तरिक झगडा बढाउने प्रयत्न भएका छन्, ती सफल हुँदैनन्,’ एकीकृत समाजवादीका नेता विरोध खतिवडाले भने । तर, सत्ता गठबन्धनमा रहेका दलका नेताहरू सरकार सञ्चालनमा प्रधानमन्त्री देउवाको कार्यशैलीलाई लिएर केही आशंका रहेको बताउँछन् । गठबन्धनका एक शीर्ष नेताको भनाइमा साझा न्यूनमत कार्यक्रम तय भइसकेपछि त्यसैको जगमा सरकारका नीति तथा कार्यक्रम अगाडि बढ्नुपर्नेमा प्रधानमन्त्री एक्लै हिँड्न खोज्दा समस्या आएको छ । ‘न्यूनमत साझा कार्यक्रममा सहमतिका आधारमा परराष्ट्र नीति अगाडि बढाउने भनिएको छ तर गठबन्धनभित्र सहमति नजुटाई विपक्षीलाई विश्वासमा लिएर प्रधानमन्त्रीले एमसीसी अनुमोदन गराउन खोज्नुभयो, यसले आशंका जन्मायो,’ उनले भने ।
माओवादी केन्द्रका अध्यक्ष दाहालले प्रधानमन्त्री देउवासँग भएको हरेक भेटमा ‘मन्त्रिपरिषद् विस्तार ढिलाइ हुँदा राम्रो सन्देश नगएको’ भन्दै ध्यानाकर्षण गराउँदै आएको स्रोतको भनाइ छ । पछिल्लो समय देउवा सरकारभन्दा पार्टी महाधिवेशनमा बढी केन्द्रित हुन थालेको सत्ता साभेदार दलको बुझाइ छ । प्रधानमन्त्री देउवाले भारतसँगको सम्बन्धमा लिएको नीतिप्रति पनि गठबन्धनभित्र असन्तुष्टि देखिएको छ । खास गरेर महाकालीको तुइन घटना, दार्चुलामा नेपाली आकाशमा भारतीय हेलिकप्टर उडान र गृह मन्त्रालयबाट जारी पछिल्ला विज्ञप्तिलाई लिएर प्रधानमन्त्री र गठबन्धनका अन्य नेताहरूबीच मतैक्य देखिएको छैन । महाकालीको तुइन घटना र नेपाली आकाशमा भारतीय हेलिकप्टर उडानमा सरकारले ढिलामात्रै अग्रसरता लिएको गठबन्धन दलहरूको बुझाइ छ । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देव गुरुङले पछिल्ला केही मुद्दामा मतभेद रहेको बताए । ‘सबै विषयमा समस्या होइन । एमसीसी सहमति नभई अगाडि बढ्न सक्दैन, तुइन र हेलिकप्टर उडानको विषय भारतसँग छिटो कुरा गर्नुपर्छ भन्ने छ । चीनसँगको सीमा विवादमा कार्यदल बनाएको विषयमा जसरी प्रचार गरियो, त्यो प्रभोकेटिभ (उत्तेजना बढाउने खालको) देखिन्छ,’ उनले भने, ‘पछिल्लो समयमा गृह मन्त्रालयले प्रकाशित गरेको विज्ञप्ति लोकतान्त्रिक अधिकार हनन गर्ने खालको देखियो भन्ने कुरा उठिरहेको छ, जोड र कोणबाट फरक भइहाल्छ । खटपट नै भन्न मिल्दैन ।’
गठबन्धनका तर्फबाट गत साउन २४ मा सरकारको ११ बुँदे साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको थियो । तर प्रधानमन्त्रीले त्यही कार्यक्रमअनुसार सरकारको काम प्रभावकारी बनाउन ध्यान केन्द्रित नगरेको भन्ने असन्तुष्टि पनि गठबन्धनभित्र देखिएको छ । माओवादी केन्द्र र एकीकृत समाजवादीप्रति अनुदार मानिने एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री देउवाले ‘सम्बन्ध सुधार’ का लागि गरेको पहललाई लिएर पनि गठबन्धनभित्र आशंका उब्जिएको एक नेताले बताए । सदन सञ्चालन र एमसीसी सम्झौता अनुमोदनका लागि भन्दै देउवाले कानुनमन्त्री ज्ञानेन्द्र कार्कीलाई ओलीसँग वार्ता गर्न पठाएका थिए । ‘गठबन्धनप्रति अनुदार ओलीलाई फकाउनुपर्ने कारण के रहेछ ?’ गठबन्धनका एक नेताले भने, ‘यस्ता व्यवहारले आशँका जन्माउछ नै ।’ एमाले र जसपा विभाजनपछि भदौ १४ मा भएको पाँच दलीय सत्ता गठबन्धनको बैठकमा सरकार सञ्चालनलगायत एजेन्डामा छलफल भएको थियो । त्यसयता गठबन्धनको अर्को औपचारिक बैठक बसेको छैन ।
( कान्तिपुर दैनिक )