बन्द नाकाबाट भित्रिँदै हतियार
News Desk
Sep-09 , 2021 तारिख 04:10 बेलुका

सर्लाही — कोभिडका कारण नेपाल–भारत सीमा बन्द रहे पनि भारतबाट अवैध हतियार भित्रने क्रम भने रोकिएको छैन । पछिल्ला दिनमा अवैध हतियारको कारोबारसमेत बढेको देखिएको छ । विगतमा दक्षिणी सीमावर्ती गाउँमा सहजै पाउइने अवैध हतियार प्रहरीको निगरानी कमजोर बन्दा बिस्तारै उत्तरी क्षेत्रमा समेत फेला पर्न थालेका हुन् ।  सर्लाहीको उत्तरी क्षेत्र लालबन्दीबाट सशस्त्र प्रहरीले गत शुक्रबार एकथान पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोली बरामद गर्‍यो । सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प हरिवनबाट गस्तीमा निक्लेको टोलीले लालबन्दी नगरपालिका–५ स्थित रेलवेको निर्माणाधिन ड्यामबाट हतियार बरामद गरेको हो । गस्तीमा रहेको प्रहरीले टोलीले नियमित चेकजाँचका क्रममा प्रदेश–२–०२–००४प७७५७ नम्बरको मोटरसाइकलको लेगगार्डमा झुन्ड्याइएको झोलामा राखिएको कपडाभित्र लुकाएइको एकथान कटुवा पेस्तोल र ५ राउन्ड गोली बरामद गरेको हो ।

सशस्त्र प्रहरी हरिवन बेस क्याम्पका प्रमुख प्रहरी नायव उपरीक्षक दीपेन्द्र थापाका अनुसार चालक भने मोटरसाइकल छाडेर फरार भएका थिए । ५ मध्ये एक गोली पेस्तोलमा लोड गरिएको र अन्य कपडामा राखिएको अवस्थामा भेटिएको थापाले जनाए । पछिल्लो समय हतियार किन्न खासै समस्या नभएको स्थानीय बताउँछन् । सीमा पारि २ हजार भारतीय रुपैयाँमा पाइने कटुवाका लागि सर्लाहीको उत्तरी भेगमा भने १० हजार रुपैयाँ तिर्नुपर्ने नवलपुरका एक स्थानीयले बताए । उनका अनुसार हतियारको मुख्य कारोबारी भने अधिकांश सीमावर्ती क्षेत्रकै छन् । संयोजन गर्ने जिम्मा लिएका गाउँ टोलका मानिसले नै ग्राहक खोज्ने गरेका उनले जनाए । ‘गाउँमा समान्य विवाद हुनपर्छ, नशामा लागेका केही युवा हतियार किन्न प्रस्ताव गरिहल्छन्,’ उनले भने, ‘१० हजारमै घरमा हतियार आइपुग्छ ।’ आपूर्तिकर्ताले सीमाबाट प्रहरी सेटिङमा हतियार भित्र्याउने गरेको बताएका उनले दाबी गरे ।

साताअघि मात्र मलंगवा–११ मा दाजुभाइबीचको घरायसी विवादमा भाइ समसुद्दिनले कम्मरमा लुकाएको कटुवा बरामद गरिएको थियो । उनले पनि भारतबाट नै हतियार मगाएको बताएका छन् । सशस्त्र प्रहरी १० नम्बर गणका गणपति गंगाराम श्रेष्ठले पछिल्लोसमय अवैध हतियार पक्राउ पर्ने क्रम बढेको जनाए । श्रेष्ठले खुला सीमाको फाइदा उठाउँदै हतियारको कारोबार भएको हुनसक्ने बताए । उनले पछिल्लो समय सुरक्षा थ्रेट पनि बढेको जनाए । ‘अहिले हतियार पक्राउ पर्ने क्रम बढेको छ, यसले सुरक्षा थ्रेट पनि बढाएको छ,’ उनले भने, ‘यसलाई रोक्न हरसम्भव प्रयासमा छु, तर, हतियार बरामद भएको हिसाबले लुकीछिपी ल्याउने क्रम रोकिएको छैन ।’   

( कान्तिपुर दैनिक )