टालिनसक्दै उप्किन्छन् सडक
News Desk
Sep-09 , 2021 तारिख 04:13 बेलुका

रौतहट — पूर्वपश्चिम राजमार्गको ढल्केवर–पथलैसा सडक खण्डमा लगातारको वर्षाले गहिरो खाडल नै बन्यो । खाडल बचाउँदै सवारीसाधन हाँक्दा पनि सकस परेपछि सडक कार्यालयले राजमार्गका खाल्डा अलकत्रा र मिक्स ढुंगा मिसाएर टाले । फेरि, वर्षा हुँदा टालिएको सडक उप्किएर ठूला खाल्डा बनेका छन् । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले खाडल पुर्न प्रयोग गरेको इमोस्नल (कालोपत्र) दुई साता पनि टिक्न नपाउँदै भत्किन थालेको छ । ठुल्ठूला खाल्टा टाल्न नपाउँदै फेरि उस्तै हुन थालेको छ । यसले दुर्घटनाको जोखिम बढेको स्थानीय बताउँछन् । रौतहटको धन्सारदेखि सर्लाहीको वाग्मतीसम्मको झन्डै २७ किलोमिटर खण्डमा वर्षाले पिच उप्किएर भएको खाल्टो पुर्न सडक कार्यालयले इमोस्नल प्रविधिको कालोपत्रे गरेको थियो । असार दोस्रो सातादेखि यस क्षेत्रमा खाल्डा पर्ने क्रम जारी छ ।

डिभिजन कार्यालयले टाल्न नपाउँदै सडकमा फेरि खाडलमा बन्न थालेको छ । सडक डिभिजनका इन्जिनियर रमेशकुमार गोइतले पानी परेको बेला टाल्ने काम भएकोले टिकाउ नभएको बताए । ‘राष्ट्रिय राजमार्ग हो । खाडल भएपछि टाल्नलाई घाम पर्खिने कुरै भएन,’ उनले भने, ‘पानीमै इमोस्नलमा गिट्टीबालुवा हालेर टाल्ने काम भएकाले भत्किन थालेको हो ।’ सडक कार्यालयले धन्सारदेखि वाग्मतीसम्मको राजमार्गको खाडल टाल्दै आएको छ । एक पटक टाल्दा २०/३० लाख खर्च हुने इन्जिनियर गोइतले सुनाए । सडकले पछिल्लो समय राजमार्गको खाडलमा इमोस्नल प्रविधिबाट टाल्न थालेको छ । यसमा गिट्टीबालुवा राखेर घोले पुग्छ । यसलाई पकाउनु पर्दैन । केही समयअघि अलकत्रा पकाएर गिट्टीबालुवा राख्ने गरिन्थ्यो । खाडल भएको ठाउमा पुरेर माथिबाट रोलर चलाइन्थ्यो । इमोस्नल प्रविधि अपनाउँदा रोलर लगाउनु पर्दैन, खाल्डोमा सिधै मेटेरियल हाले पुग्छ । यही कारण टिकाउ नभएको ठेकेदार देवराज कार्कीले बताए ।

अहिले बाकेदेखि धन्सारसम्म ५६ किलोमिटर राजमार्गको टाल्न र माथिबाट थप कालोपत्रको कामको ठेक्का लागिसकेको सडक डिभिजन कार्यालयले जनायो । सडकका अनुसार साह, एलाइट जेभीले १० करोडमा ठेक्का सकारेको हो । ‘अहिले वर्षा भइरहेको छ । घाम लाग्न थालेपछि काम सुरु हुन्छ,’ गोइतले भने, ‘त्यसपछि वर्षाका बेला खाल्डो हुने समस्या रहँदैन ।’ धनुषाको ढल्केवरदेखि पश्चिम पथलैयासम्म राजमार्गका खाल्डो नपुरिँदा दुर्घटनाको जोखिम बढेको छ । राजमार्गमा अधिकांश दुर्घटना खाल्डो छल्ने क्रममा भइरहेको ट्राफिक प्रहरीको बुझाई छ । गहिरो खाल्डोले केही न केही ठाउमा सवारी दुर्घटना हुने गरेको देखिन्छ । निरन्तरको वर्षाले टालटुल गरेको राजमार्गको उस्तै हालत देखिएको छ । टालटुलका भरमा चल्दै आएको राजमार्ग हरेकवर्ष वर्षाका समयमा गहिरो खाडल बन्दा सडकमा सवारी चलाउन समस्या हुने चालक दुर्गा बत्स्यालले बताए । दुई दिनअघि चन्द्रनिगाहपुरबाट इँट्टा बोकेर चितवन जाँदै गर्दा लमाहनजिक खाल्डो छल्ने क्रममा ठूलो दुर्घटनाबाट जोगिएको बत्स्यालले सुनाए ।

‘जहिले पनि सडक कार्यालयका कामदारहरू खाल्टो टालेको देख्छु । तर टाल्न नपाउँदै उप्किने कस्तो काम हो यो,’ उनले भने, ‘बलियो कालोपत्रे नगरेसम्म खाल्टो हुने समस्याको अन्त्य हुँदैन ।’ राजमार्गमा खाल्डैखाल्डा बने पनि सम्बन्धित निकायले गुणस्तर र बलियो बानाउन चासो नदिएको चालकको गुनासो छ । भत्किएको सडकमा दुर्घटनासँगै टायर कट लाग्ने, पट्टा भाँचिनेजस्ता समस्या बढेको बत्स्यालको भनाइ छ । राजमार्गमा खाडल भएकै कारण साना गाडी र मोटरसाइकल चलाउन समेत समस्या हुने गरेको छ । सडक कार्यालयका अनुसार बढी भार क्षमताको मालवाहक सवारीसाधनका कारण पनि टालेको स्थानमा चाँडै उप्कने गरेको छ । खाल्डाखुल्डीले मोटरसाइकल, टेम्पु, जीप, कारलगायत साना सवारी दुर्घटनामा पर्ने खतरा बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रपुरका प्रमुख प्रहरी निरीक्षक ज्ञानबहादुर माझीले बताए ।

‘असार अन्तिमदेखि भइरहेको लगातार वर्षाका कारण पूर्व–पश्चिम राजमार्गका अधिकांश स्थानमा खाल्डो परेको र तीव्र गतिमा चलाइएका सवारी खाल्डोमा परेर गम्भीर किसिमको दुर्घटना हुने खतरा बढेको छ,’ उनले भने, ‘राजमार्गको खाल्टो पुर्न सडकको ध्यानाकर्षण गराएका छौं ।’ राजमार्ग पुरानो भइसकेकाले पानी परेको समयमा सवारी गुड्दा कालोपत्र उप्किने समस्या बढ्दै गएको सडकको भनाइ छ । ५० वर्षअघि राजमार्गमा बनाइएका पुलसमेत जीर्ण भएर पुलमा ठुल्ठूला खाडल बनेको पाइएको छ ।  \

( कान्तिपुर दैनिक )