सम्पत्ति शुद्धीकरण मुद्दा खेपिरहेका परशुराम बस्नेतले सर्वोच्च अदालतबाट पाए सफाइ
News Desk
Sep-10 , 2021 तारिख 06:27 बिहान

काठमाडौँ - सम्पत्ति शुद्धीकरण मुद्दा खेपिरहेका परशुराम बस्नेतले सर्वोच्च अदालतबाट सफाइ पाएका छन् । एमालेको युवा संघमा आबद्ध रहेका बस्नेतविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले २०७० को जेठ ५ मा  विशेष अदालतमा मुद्दा चलाएको थियो ।

विराटनरमा रहेर गुन्डागर्दीमार्फत सम्पत्ति कमाएको र त्यसको स्रोत खुलाउन नसकेको भन्दै विभागले उनीविरुद्ध ११ करोड ४१ लाख रुपैयाँ स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अभियोग लगाएको थियो ।

विशेष अदालतले २०७४ को चैत २५ मा बस्नेतलाई सफाइ दिने फैसला गरेको थियो । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु रत्नबहादुर बागचन्द र नारायणप्रसाद पोखरेलको इजलासले बस्नेतलाई सफाइ दिने फैसलाविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो । बिहीबार सर्वोच्चका न्यायाधीशद्वय दीपककुमार कार्की र टंकबहादुर मोक्तानको इजलासले बस्नेतलाई सफाइ दिने विशेष अदालतको चार वर्ष पुरानो फैसलालाई सदर गरेको हो । फैसलाको पूर्णपाठ आउन बाँकी छ ।