News Desk
परासी, लुम्बिनी — २५ भाद्र २०७८
परासी, लुम्बिनी, सुनवल नगरपालिका–१२ की सीता पन्थी तीजका लागि माइतीघर कावासोती आउन मंगलबार बिहान ११ बजे बर्दघाटबाट सार्वजनिक गाडी चढिन् । सडक सञ्चालनमा रहेको प्रहरीको सूचना पाएपछि उनी माइती हिँडेकी थिइन् । तर सुनवलबाट ४६ किलोमिटरको दूरीमा रहेको कावासोती पुग्न ६ घण्टा लाग्यो । दाउन्ने खण्डको १५ किलोमिटरमा मात्र उनी ५ घण्टा जाममा परिन् । जसोतसो कावासोती आइपुगिन् । ‘पानी पर्दा पहिरोले घण्टौं जाम हुन्छ, घाम लाग्दा धूलोले अगाडिका सवारीसाधन देखिँदैनन्,’ उनले भनिन्, ‘वर्षौंदेखि सडकको अवस्था जीर्ण हुँदा पनि मर्मत किन नगरेको होला ? यो सडकमा हिँड्नै डरमर्दो छ ।’ यो सडक हुँदै गुड्ने अधिकांश सवारीसाधन जाममा फस्छन् । वर्षौंदेखिको समस्याले दाउन्ने खण्ड आउनसाथ यात्रुलाई जामको त्रासले सताउँछ ।
चालकसमेत सडकको दुरवस्थाले आजित छन् । बुटवल–काठमाडौं रुटका बस चालक कमल जीसीलाई दाउन्ने सडक सम्झँदा यो रुटमा सवारी नै चलाउन छोडौंजस्तो हुन्छ । दिनहुँ जाम र पहिरोको समस्याले समयमा गन्तव्य पुग्न सकिँदैन । ‘सडक बिग्रेपछि तुरुन्त बनाउनुपर्नेमा वर्षौंसम्म पनि मर्मत नगर्दा सवारीसाधन बिग्रने र इन्धन बढी लाग्ने गर्छ,’ उनले भने, ‘एकातिर साहुको रिस, अर्कोतर्फ यात्रुको गुनासो । सबैभन्दा पीर त एम्बुलेन्समा बिरामी छटपटाएर जाममा परेको देख्दा सारै दुःख लाग्छ ।’ उसै पनि बिग्रिएको पूर्व–पश्चिम राजमार्गअन्तर्गतको दाउन्ने खण्डमा भदौ दोस्रो साता परेको अविरल वर्षाका कारण एक दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको छ । केही स्थानमा सडक नै भासियो । सडक विभाग र सुरक्षाकर्मीको तीन दिनको प्रयासले सवारी आवागमन खुल्यो तर दाउन्ने खण्डमा सहज रूपमा यात्रा गर्न अझै कठिन छ । वैकल्पिक मार्ग नहुँदा घण्टौं जाममा परेर यात्रु यात्रा गर्न बाध्य छन् ।
पूर्व–पश्चिम राजमार्गको निकै व्यस्त सडक खण्ड हो दाउन्ने । पश्चिम नेपालका सवारीसाधन यही सडक हुँदै केन्द्रीय राजधानी र पूर्वी भेगसँग सम्पर्क कायम गर्छन् । तर सडकको दुरवस्थाका कारण चालक र यात्रु वर्षौंदेखि सास्ती भोग्न बाध्य छन् । सडक जीर्ण हुँदा हरेक दिन घण्टौं जाम हुन्छ । पहाडको खोंचमा रहेको यस सडकमा दुर्घटनाको जोखिम पनि उत्तिकै छ । हरेक दिन सानाठूला सवारीसाधन दुर्घटनामा पर्ने गरेका छन् । साँघुरो बाटोमा सवारी पल्टिएपछि पन्छाउने स्थान नहुँदा दिनहुँ जाम हुने गरेको छ । सामान्य टालटुलबाहेक सडकको अवस्था सुधार नगर्दा दिनहुँ जाम र पहिरोको जोखिम बढेको हो । हिउँदमा सुक्खा पहिरो जान थालेपछि सवारी सञ्चालनका लागि थप कठिनाइ हुने गरेको छ । सडकको दायाँबायाँ पानीको निकास नहुँदा वर्षायामको पानीले सडक भत्काएको छ । बुटवल–नारायणगढ सडक विस्तार हुने क्रम जारी रहेकाले सडक विभागले यस खण्डमा खासै चासो दिएको देखिँदैन । मर्मत सम्भार र विस्तारको जिम्मा चाइना स्टेट कम्पनीको भएकाले सरकारी निकाय उदासीनजस्तै छ । साँघुरो र उकालो बाटोमा भारतीय ट्यांकर र ठूला सवारी गुड्दा सडकको अवस्था थप बिग्रिएको छ ।
सडक डिभिजन कार्यालयले पहिरो गएका ठाउँमा डोजर लगाउनेबाहेक अन्य काम गरेको छैन । ‘सुनवलको तुरिया खोलाको पुल भासिएकाले अहिले बेलिब्रिज राख्ने काम भइरहेको छ । दाउन्ने खण्ड नै साँघुरो भएकाले केही समस्या थपिएको हो,’ सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले भने, ‘ठेकेदार कम्पनी र सडक डिभिजनले चौबीसै घण्टा दाउन्ने खण्डमा डोजर राखेर पहिरो हटाउने र खाल्टाखुल्टी पुर्ने काम गरिरहेको छ । सडक विस्तारका क्रममा रहेकाले भर्खरै कालोपत्र गर्न समस्या छ ।’ २०२२ सालमा शिलान्यास भएको राजमार्गको क्षमता मुस्किलले ३० टन हो तर अधिकांश ओभरलोड मालवाहक सवारीसाधन चल्ने गर्छन् । भैरहवाको सुनौली नाकाबाट भित्रिने भारतीय ट्रक, लहरी तथा कन्टेनर ५० टनभन्दा बढी भार बोकेर गुड्छन् । ‘दाउन्ने खण्डमा वैकल्पिक मार्ग नहुनु र साँघुरो सडकका कारण दुर्घटना र सडक जामले ट्राफिक व्यवस्थापनमा नै समस्या आएको छ,’ पश्चिम नवलपरासीका ट्राफिक प्रमुख वासुदेव नेपालले भने, ‘नियमित रूपमा मर्मत सम्भार नहुनु र पहाडबाट झर्ने पानीको निकास नहुँदा समस्या आएको हो ।’
दाउन्ने सडक खण्डको १५ किलोमिटर पहाडी क्षेत्रमा पर्छ । भीर फोरेर निर्माण गरिएको यस सडकमा दिनहुँ दुर्घटना र पहिरोको जोखिम छ । दुर्घटनाको जोखिम बढेपछि स्थानीय बासिन्दा, यातायात व्यवसायी र यात्रुले यस सडकको वैकल्पिक उपाय खोज्नुपर्ने माग गर्दै आएका छन् । एकातर्फ विशाल पहाड र अर्कोतर्फ भीर भएकाले यसतर्फ कसैले पनि चासो देखाएका छैनन् । तर अहिले लुम्बिनी प्रदेशको बर्दघाट नगरपालिका र गण्डकी प्रदेशको दुम्कीबासको डाँडाजोर जोड्ने कच्ची सडक निर्माण भएपछि यसको विकल्पका रूपमा प्रयोग गर्न सकिने सम्भावना बढे पनि यसको स्तरोन्नतिमा प्रदेश र केन्द्रले चासो दिएका छैनन् । तत्काल ठूला सवारीसाधन गुड्न नसके पनि स्तरोन्नति गरे केही वर्षमा नै यो सडकले दाउन्नेको सास्ती कम गर्न सघाउ पुर्याउने आशा स्थानीयको छ ।
बर्दघाट नगरपालिकाको विकट पटुके बस्तीका स्थानीयलाई नगरपालिकाको केन्द्रसम्म पहुँच पुर्याउन ग्रामीण कच्ची सडक निर्माण गरेको भए पनि यसलाई पक्की सडकका रूपमा विकास गर्न सकेमा दाउन्ने सडकको वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिनेछ । तर यसका लागि स्थानीय तहले मात्र नसक्ने भन्दै बर्दघाट नगरपालिकाले प्रदेश र केन्द्रमा यसको योजनाबारे जानकारी गराएको बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले बताए । ‘वैकल्पिक मार्ग विस्तार गर्न सकेमा दाउन्ने खण्डको सास्ती कम हुने थियो,’ उनले भने, ‘योजना निर्माण गरेर प्रदेश र केन्द्रमा पेस गरे पनि बजेट विनियोजन हुन सकेको छैन ।’ नौ वर्षअगाडि स्थानीयको पहलमा त्रिवेणी जान सहजताका लागि खोलिएको ट्र्याकलाई नगरपालिकाले फराकिलो बनाएको छ । बर्दघाट नगरपालिका–१० भुताहादेखि विनयी त्रिवेणीको दुम्कीबाससम्म १४ किलोमिटर सडक निर्माण गरिएको हो । यस सडकलाई गण्डकी र लुम्बिनी जोड्ने फास्ट ट्र्याकका रूपमा लिइएको छ ।
टरेन राजमार्ग अवरुद्धको समस्या
पानी परेर पुल भासिएर बन्द भएको महेन्द्र राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको तुरिया पुल र रूपन्देहीको देवदह–३ स्थित घोडाहा पुल भासिएका हुन् । निरन्तर परेको पानीको बहाव ठूलो भएपछि पुल नै छेडेर पानी बस्तीमा पसेको थियो । पुल भासिएपछि उक्त सडक खण्डमा दैनिक गुड्ने २ हजारभन्दा बढी सवारीसाधन बुटवलदेखि भैरहवा हुँदै माउ खोला पुलबाट परासी निस्किरहेका छन् भने उतादेखि आउने साधन भैरहवा हुँदै बुटवल आई गन्तव्यतर्फ लाग्ने गरेका छन् । जताततैका गाडी एउटै सडकबाट पार हुँदा भैरहवादेखि नै सडक जाम हुने समस्या देखा परेको छ ।
दोहोरो साधन गुड्ने मुख्य सडकको पुल भासिएपछि एउटै सडकमा धेरै सवारीसाधन गुड्नुपरेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए । बुटवलको चौराहादेखि नै सडक बन्द रहेको सूचना दिई गाडीहरूलाई भैरहवातर्फ पठाइने गरेको र सडकमा निरन्तर प्रहरी खटाइएको उनको भनाइ छ । १३ दिनदेखि बन्द रहेको देवदहको घोडाहा पुलमा बिहीबारदेखि डाइभर्सनमार्फत साना सवारीसाधन गुड्न सुरु गरेको सडक डिभिजन कार्यालय रूपन्देहीका प्रमुख मरासिनीले बताए । उनले ठूला साधन पनि शुक्रबारदेखि निर्बाध चल्ने बताए ।
( कान्तिपुर दैनिक )