News Desk
सर्लाही — २५ भाद्र २०७८
सर्लाही , कविलासीकी पानो देवीले बुहारीको नागरिकता बनाउन दुई दिनदेखि जिल्ला प्रशासन कार्यालयमा धाइरहेकी छन् तर अझै बनेको छैन । बिहीबार पनि उनले बुहारीलाई नागरिकता लिनेको लाइनमा उभ्याएर कार्यालयको एक छेउमा एक वर्षको नातिलाई काखमा राखेर खेलाउँदै थिइन् । ‘नागरिकताको आवश्यकता भएकाले नै सबैजना आउनुभएको होला । यस्तोमा मेरोजस्तै व्यथा अरूको पनि होला । त्यसैले लाइन बस्नुभन्दा अरू विकल्प देखेको छैन,’ उनले भनिन्, ‘कर्मचारीहरूलाई पनि भ्याइनभ्याई छ, कसलाई भन्नु ? बरु लाइनमै आफ्नो पालो कुरेर बुहारी बसेकी छन् ।’ विष्णु गाउँपालिका–६ का जिसप्रितकुमार मण्डलले भर्खर एसईई सकाएका हुन् । उनले कक्षा–११ मा भर्ना हुन नागरिकताको आवश्यकता परेपछि ३ दिनदेखि प्रशासन गुनासो गरे । पहिलो दिन लाइनमा बस्दा कागजात पूरा नभनेको भन्दै कर्मचारीले फिर्ता पठाइदिएको र दोस्रो दिन लाइनमा बस्दाबस्दै आनो पालो नै नआएको उनले सुनाए ।
‘कक्षा ११ मा भर्ना हुन नागरिकता चाहिएकाले बनाउन आएँ तर भीड थेगिनसक्नु छ,’ उनले भने, ‘३ दिनदेखि धाउँदा पनि नागरिकता पाउन सकेको छैन ।’ दरबन्दीअनुसार कर्मचारी नहुँदा जिल्ला प्रशासन कार्यालय सर्लाहीमा विभिन्न काम लिएर आउने सेवाग्राही सास्ती खेप्न बाध्य छन् । नागरिकता लिने लाइनमा विद्यार्थी, महिला, ज्येष्ठ नागरिक, गर्भवती र साना बच्चा बोकेका महिला धेरै देखिन्छन् । सबै कागजात तयार पार्दा पनि नागरिकता लिन तीन/चार दिन धाउनुपरेको उनीहरूको गुनासो छ । कोरोना महामारीका कारण लामो समयसम्म निषेधाज्ञा जारी गरिँदा सेवाग्राही कार्यालयसम्म पुग्न पाएका थिएनन् । त्यसमाथि एसईई उत्तीर्ण गरेर कक्षा ११ मा भर्ना हुने विद्यार्थी र नजिकिँदै गरेको निर्वाचनका लागि मतदाता परिचयपत्र बनाउन नागरिकताको आवश्यकता भएकाले जिल्ला प्रशासनमा सेवाग्रहीको भीड बढेको छ । जिल्लामा राष्ट्रिय परिचयपत्र बनाउन सुरु गरिएको छ ।
तर त्यसका लागि पनि नागरिकता अनिवार्य भएकाले सेवाग्राहीको चाप बढेको छ । कार्यालयले कर्मचारी अभावको मार खेपिरहेको समयमै सेवाग्राहीको चाप बढ्दा समयमै सेवा दिन नसकेको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले स्विकारे । त्यसमािथ तत्कालीन विद्रोही माओवादीले जिल्ला प्रशासन कार्यालयमा आगजनी गर्दा सम्पूर्ण कागजात नष्ट भएका थिए । जसका कारण नागरिकताको प्रतिलिपि लिन आउनेलाई सेवा दिन कठिनाइ भइरहेको उनको भनाइ छ ।कार्यालयमा ३ जना अधिकृत हुनपर्नेमा हाल २ जना मात्र कार्यरत छन् । नायब सुब्बामा १० जनाको दरबन्दी रहेकोमा ३ जना मात्र छन् । त्यसमध्ये पनि पनि एक जनाको सरुवा भएर पनि रमाना नदिइएको प्रजिअ महतोले बताए । उनले खरिदारको दरबन्दी ५ जनाको हुनुपर्नेमा ४ जना मात्र खटिइरहेको जानकारी दिए । कर्मचारी पठाइदिन केन्द्रमा बारम्बार ताकेता गरिरहेको उनको भनाइ छ ।
( कान्तिपुर दैनिक )