News Desk
काठमाडौं- राष्ट्रिय उपभोक्ता मंचको अध्यक्षमा प्रेमलाल महर्जन निर्वाचित भएका छन् । सोमबार सम्पन्न मंचको १६ औं साधारण सभाले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो । त्यसैगरि मंचको कार्यसमिति सदस्यहरुमा पुष्पराम पौडयाल, गोविन्द सुवेदी, रश्मिला मल्ल, कमल प्रजापती, तिर्थनारायण महर्जन, सोबिता श्रेष्ठ र राजेन्द्रमान जोशी निर्वाचित भएका छन् । मंचको विधान अनुसार एक अध्यक्ष र ७ जना सदस्यहरु निर्वाचित हुने प्रावधान अनुरुप कार्यसमिती चयन गरिएको छ । मंचले निर्वाचित कार्य समिति सदस्य मध्येबाट अन्य पदाधिकारीहरुको जिम्मेवारी तोक्नेछ ।
यसै माझ निर्वाचन अघि राष्ट्रिय उपभोक्ता मंचको १६ औं साधारण सभाको पहिलो सत्र सहित वार्षिक उत्सव कार्यक्रम आयोजना गरिएको थियो । राष्ट्रिय उपभोक्ता मंचका केन्द्रिय अध्यक्ष प्रेमलाल महर्जनको सभाध्यक्षता तथा नेपाल सरकारका पुर्व सचिव भरत बहादुर थापाको प्रमुख आतिथ्यतामा सोमबार ललितपुरको जावलाखेलमा कार्यक्रम आयोजनामा आएको हो ।
कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै नेपाल सरकारका पुर्व सचिव भरत बहादुर थापाले आम जनता सरकारको प्राथमिकतामा पर्न नसक्नु दु:खद भएको बताउदै मन्त्री नेताहरुले कार्यकर्ता मात्रै जनता देख्न थालेकोले देशमा अराजकता बढेको बताए । प्रमुख अतिथी थापाले उपभोग्य वस्तुमा कडा बिसादी हाल्ने गरिएको हुँदा नयाँ नयाँ रोगहरु भित्रिरहेको बताउदै आम नागरिकलाई सुसुचित गर्न आवश्यक रहेको उल्लेख गरे । साथै उनले आगामी दिनमा मंचको भूमिका उसैगरि प्रभावकारी रुपमा अघि बढने अपेक्षा आफुले लिएको उनले बताए ।
कार्यक्रममा राष्ट्रिय उपभोक्ता मंचका केन्द्रिय अध्यक्ष प्रेमलाल महर्जनले मंचले उपभोक्ता अधिकारको सुनिस्चितताका लागि वस्तुनिष्ठ तबरले लागि पर्दै आएको जनाउदै नेपालभर कुल ७४ जिल्ला, ७ प्रदेश र नगरस्तरमा पनि मंचको संजाल रहेको र मंचका गतिविधीले राष्ट्रिय उपभोक्ता मंचको शिर उचो बन्दै आएको महशुश हुने गरेको जिकिर गरे ।अध्यक्ष महर्जनले बिल उत्पादक, अद्रिस्य व्यापारी, डिलर हुँदै उपभोक्तासम्म तेल बिक्री हुँदै आएकोले अद्रिस्य व्यापारीको तहलाई हटाउँदा तेलमा ३०-४० रुपैया कम हुन जाने बताउनुका साथै अ द्रिस्य रुपमा चिनी र तेलको मुल्य बढाउने खेल भैरहेको भन्दै सरकारले जनहितमा काम गर्नका लागि अवान्छनिय गतिविधीलाई नियन्त्रण गर्न चुक्न नहुने बताए ।
उनले उपभोक्ता अधिकारकर्मीहरु नै कालोबजारीलाई कार्वाही नगर्न वाणिज्य विभागमा विन्ती बिसाउन जाने गरेको भेटिएको प्रति रोष प्रकट गर्दै बजारमा अझै सुधार हुन नसकिरहेको बताए । कार्यक्रममा मंचका केन्द्रिय सल्लाहकार रत्न राज पाण्डेले आम उपभोक्ताहरु ठगीई रहदा उनीहरुलाई कहाँ गएर मुद्धा गर्नुपर्छ भन्ने बिषयमा हेक्का नरहने गरेको बताउदै मंचले कानुनी प्रावधानका बिषयमा पैरवी गर्न र सम्बद्ध सबैले आम उपभोक्ताको हितमा आवाज उठाई रहनुपर्ने आवश्यकता औंल्याए ।
मंचकी ललितपुर महिला कमिटि अध्यक्ष मिना श्रेष्ठले आफुहरुले जेष्ठ नागरिक सेवा केन्द्र संचालनमा ल्याएता पनि कतैबाट सहयोग नपाएको र जिल्लामा अनुगमन न्युन रहेको महशुश गरेको बताईन् । सुनसरी राष्ट्रिय उपभोक्ता मंचका कार्यवाहक अध्यक्ष पूर्ण राईले मंचको केन्द्रिय कार्यालयको सहयोगमा आयोडिन सम्बन्धी जनसचेतनामुलक कार्यक्रम, अनुगमन कार्यक्रम आदी संचालन गरेको स्मरण गर्दै आगामी दिन थप रुपमा उर्जाशिल भै काम गर्न प्रेरणा मिलेको बताए ।
राष्ट्रिय उपभोक्ता मंच काठमाडौंका अध्यक्ष मदन श्रेष्ठले जिल्लाका विभिन्न स्थानमा जनचेतनामुलक कार्यक्रम गर्दै आएको जानकारी दिदै केन्द्रिय नेतृत्वको भूमिका गर्व गर्न लायकको रहेको बताए । त्यसैगरि मंचका भक्तपुर जिल्ला अध्यक्ष मनोज थापाले भक्तपुरमा मंचको गर्विलो उपस्थिती रहेको जनाउदै अनुगमन, सचेतना कार्यक्रम आदीको प्रभावकारीताका कारण त्यसो हुन सकेको बताए ।
कार्यक्रममा धन्यवाद मन्तव्य व्यक्त गर्दै राष्ट्रिय उपभोक्ता मंचका ललितपुरका जिल्ला अध्यक्ष ध्रुवलाल तण्डुकारले ललितपुरको विकट क्षेत्रसम्म अनुगमन गर्न पुगेको बताउदै स्वास्थ्य संस्थासम्म पनि पुगेर आम नागरिकको पक्षमा काम गरेको अनुभव सुनाएका थिए । उनले अनुगमनका क्रममा भाटभटेनी लगायत ठुला डिपार्टमेण्ट स्टोरहरुले पनि उपभोक्ताहरुलाई ठगिरहेको पाइएको बताए ।
कार्यक्रम मंचका उपाध्यक्ष पुष्पराज पौडेलले संचालन गरेका थिए ।