संसद्‌मा जारी अवरोध खुलाउनका लागि आह्वान गर्ने सर्वदलीय बैठकको निर्णय
News Desk
Sep-14 , 2021 तारिख 06:22 बिहान

काठमाडौँ - संसद्‌मा जारी अवरोध खुलाउनका लागि आह्वान गर्ने निर्णय सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकले गरेको छ । सभामुख सापकोटाले निष्पक्ष भूमिका निर्वाह नगरेको भन्दै संसद् अवरुद्ध गर्दै आएको एमालेले सोमबारको सर्वदलीय बैठक बहिस्कार गरेको थियो । 

'एमालेसहितको अर्को बैठक राख्नका लागि आग्रह गरेका छौं,' राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले भनिन्, 'संसद् अवरोध नयाँ कुरा होइन । संवाद नगरेर निष्कर्षमा पुग्न सकिदैन । प्रतिपक्षी दलले पनि संवादमा आउनु पर्छ ।'

बैठकमा सभामुख सापकोटा र कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा बोलाउनका लागि पटक पटक कोसिस गर्दा पनि सम्पर्क हुन नसकेको जानकारी गराएका थिए ।

'हटलाइनमा फोन गर्दा पनि फोन स्वीच अफ छ,' सापकोटाले बैठकमा भनेको कुरा उद्धृत गर्दै पौडेलले भनिन् ।

त्यसैगरी बैठकमा कानुन मन्त्री कार्कीले ओलीसँग सम्पर्क हुन नसकेको र उपनेता सुवास नेम्वाङसँग भएको जानकारी दिएका थिए । 'नेम्वाङले अध्यक्षले सर्वदलीय बैठकमा कोही पनि उपस्थित नहुन निर्देशक दिएको बताउनुभयो,' मन्त्री कार्कीले भने ।