श्रीकृष्ण पौडेलद्धारा राइनास नगर सभापतिमा उम्मेदवारी घोषणा
News Desk
Sep-24 , 2021 तारिख 06:10 बिहान

लमजुङ - नेपाली कांग्रेसका युवा नेता श्रीकृष्ण पौडेल लमजुङको राइनास नगरको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । पौडेल नेपाल विद्यार्थी संघ (नेविसंघ)लमजुङ का पूर्व जिल्ला सचिवसमेत हुन । पौडेलले पार्टीलाई दरिलो र बलियो बनाउन आफुले सभापतिमा उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

पौडेल दूरदर्शी र प्रष्ट विचार राख्ने प्रखर वक्ताका रुपमा परिचित छन् । पार्टी र भातृ संगठनहरुको संरचना तल्लो तहसम्म पुर्याउने लक्ष्यसहित आफु चुनावी मैदानमा होमिएको उनको भनाई छ । सभापतिमा उम्मेदवारी घोषणा गरेसँगै उनले पार्टीका नेता र कार्यकर्तासँग भेटघाट र छलफललाई तीव्रता दिएका छन् । उनले आफू सभापति भएर पार्टीमा युवाको आकर्षण बढाउन विभिन्न अभियान सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् ।

पार्टीको नगर सभापतिलाई भावी मेयरको प्रबल दावेदार मानिन्छ, नेता पौडेलले आफू सभापति बनेमा मेयर नबन्ने स्पष्ट पारेका छन् । प्रखर वक्ताका रुपमा परिचित नेता पौडेल विशेषगरि युवा माझ लोकप्रिय छन् । उनी सभापति बनेमा पार्टीले गति लिने पार्टि पंक्तिमा चर्चा चल्ने गर्दछ । नेता पौडेलले आफू सभापतिमा निर्वाचित भएमा राइनास नगरपालिका र १० वटै वडामा पार्टी कार्यालय स्थापनामा जोड दिने योजना रहेको सुनाए । साथै, उनले आगामी स्थानीय तहको निर्वाचनमा नगरपालिकाका साथै सबै वडामा पार्टीलाई जिताएरै छाड्ने अठोट लिएका छन् ।