विद्यालयमा शिक्षक न विद्यार्थी
News Desk
Sep-29 , 2021 तारिख 03:25 बेलुका

वीरगन्ज — १३ असोज २०७८  

वीरगन्ज , भदौ अन्तिम साता वीरगन्ज–१७ सिवान टोलस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा शिक्षा महाशाखाको टोली अनुगमनमा जाँदा एक जना कार्यालय सहयोगीबाहेक कोही भेटिएनन् । महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दकुमार कर्ण नेतृत्वको टोली बिहान ११ बजे विद्यालयमा पुग्दा न शिक्षक थिए न विद्यार्थी नै । कक्षाकोठा र कार्यालय पनि अस्तव्यस्त थियो । विद्यालयका प्रधानाध्यापक वृजकिशोर पाण्डेलाई तत्काल बोलाएर स्पष्टीकरण सोधियो । असोज ५ मा अनुगमन टोली वीरगन्जको बहुअरीमा रहेको शारदा माध्यमिक विद्यालयमा साढे २ बजे पुग्दा पठनपाठन बन्द भइसकेको थियो । शिक्षक नभएकाले घर आएको विद्यार्थीले गुनासो गरे । विद्यालयका एक शिक्षकले वैशाख ९ देखि असोज ५ को बीचमा एक दिन पनि हाजिरी नगरेको पाइयो । लामो समयसम्म हाजिर नगर्ने शिक्षक र प्रधानाध्यापकलाई स्पष्टीकरण सोधिएको छ । कोरोना न्यून भएपछि सञ्चालनमा आएको वीरगन्जको नगवास्थित शुक्रराज विद्यालयमा शिक्षक र विद्यार्थीको हाजिरी नै छैन । अनुगमन गरिएका अधिकांश विद्यालयमा स्वास्थ्य सुरक्षा मापदण्डसमेत पालना गरिएको छैन ।

महाशाखा प्रमुख कर्णका अनुसार मास्क र सेनिटाइजर खरिदका लागि शिक्षा महाशाखाले प्रत्येक विद्यार्थीका लागि २ सय रुपैयाँ सबै विद्यालयमा पठाएको छ । तर अनुगमनमा जाँदा अधिकांश विद्यार्थीले मास्क र सेनिटाइजर लगाएको पाइएन । ‘सिवान टोलमा रहेको विद्यालयको कक्षाकोठामा पानी जमेको, इँट्टा भण्डारण गरिएको, कुन कक्षाकोठा र कुन अफिस छुट्याउनै नसकिने अवस्था थियो,’ शिक्षा महाशाखा प्रमुख कर्णले भने, ‘शिक्षक उपस्थित नहुने, स्कुल समय अगाडि नै पठनपाठन बन्द गर्नेलाई पहिलो पल्टका लागि स्पष्टीकरण सोधिएको छ । केही विद्यालयको खातासमेत रोक्का गरिएको छ ।’ कोरोना संक्रमण न्यून भएपछि गत भदौदेखि वीरगन्जका विद्यालयहरू सुरक्षा मापदण्ड अपनाई सञ्चालन गर्ने निर्णय गरिएको थियो । विद्यालय खुलेपछि धेरै ठाउँबाट गुनासो आयो कि मनोमानी हिसाबले जुन बेला पनि विद्यालयमा आउने र जाने भइरहेको छ,’ महाशाखा प्रमुख कर्णले भने, ‘अनुगमन समितिले केही स्कुलमा गुनासो आएकै जस्तै अवस्था पायो । विद्यालयको व्यवस्थापन फितलो । स्कुल बन्द भएको । शिक्षक र प्रधानध्यापक नआएको । त्यस्तो स्कुलमा पहिलो पटकका लागि स्पष्टीकरण सोधिएको छ । प्रअ र विद्यालय व्यवस्थापन समितिलाई सचेत गराउने काम भइरहेको छ ।’ अनुगमन समितिले कार्यालय समयको सुरुको दुई र अन्तिम समयको दुई घण्टा विद्यालय अनुगमनमा कर्मचारी परिचालन गरेको छ ।

समितिका सदस्य प्रकाश शर्माका अनुसार भदौ अन्तिम सातादेखि विद्यालयहरूको अनुगमन थालिएको हो । ‘अनुगमनपछि केही सकारात्मक परिवर्तन देखिएका छन्,’ शर्माले भने, ‘अनुगमन अगाडि साढे २ बजे बन्द हुने शारदा माविमा अहिले ४ बजेसम्म पठनपाठन हुने गरेको छ ।’ समितिले हालसम्म ३० वटा विद्यालयको अनुगमन गरिएको छ । ‘अनुगमनका नाममा हामी विद्यालय र शिक्षक पछ्याउँदै हिँडेका होइनौं, शिक्षक भनेको बुद्धिजीवी समुदाय हो, पेसागत रूपले पोख्त हुनुहुन्छ,’ कर्णले भने, ‘हामी पछ्याउँदा स्कुल चल्ने नपछ्याउँदा नचल्ने होइन । विगत लामो समयदेखि विद्यालय बन्द थिए । माहोल मिलेको थिएन । हाम्रो अनुगमनले त्यो माहोल बनाउने काम गरेको छ ।’ वीरगन्ज महानगर मातहत ९० वटा सामुदायिक विद्यालय छन् । जसमध्ये दुईवटा विद्यालयको विभिन्न सुविधाहरू रोक्का गरिएको छ । सञ्चालनमा नदेखिएकाले दुई वटा विद्यालयको सुविधा रोक्का गरिएको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।     

( कान्तिपुर दैनिक )