नाकामा अझै सास्ती
News Desk
Sep-29 , 2021 तारिख 03:30 बेलुका

सर्लाही — १३ असोज २०७८   

सर्लाही , सरकारले दक्षिणतर्फको नाका खुलाएको खबर पाएपछि मदनपुरका दिनेश ठाकुर परिवारसहित भारतमा रहेका आफन्त भेट्न हिँडे । घरबाटै गाडी भाडामा लिएर सोमबार बिहान मलंगवा नाका पुगेका उनी पारि जान भने पाएनन् । माथिबाट नाका खोल्ने आदेश नआएको भन्दै सुरक्षाकर्मीले रोके । गाडी फिर्ता गरेर ठाकुरले चोर बाटोबाट भए पनि सीमा पार गर्ने निधो गरे । आफन्तकामा लग्नुपर्ने सामान टाउकोमा बोके । श्रीमतीले एक हातले झोला र अर्को हातले बच्चालाई समाइन् र उनीहरूले सीमा पार गरे । ठाकुर परिवारजस्तै धेरैले यसरी नै सीमा वारपार गर्दै आएका छन् । सर्लाहीको नेपाल–भारत नाका मलंगवामा सुरक्षाकर्मीले रोकेपछि छेउमा रहेको चोर बाटोबाट स्थानीय आउजाउ गर्छन् । सरकारले दक्षिणतर्फको नाका खोल्ने निर्णय गरे पनि कार्यान्वयन हुन नसक्दा चोर बाटोबाटै आउजाउ चलिरहेको हो । 

 सरकारले निर्णय गरे पनि कार्यान्वयन नहुँदै नागरिकले सास्ती खेप्नु परिरहेको ठाकुरले बताए । ‘सरकारले नाका खुला गरेको सूचना पाएपछि आफन्तलाई भेट्न भारत जान खोजेका थियौं, सुरक्षाकर्मीले जानै दिएनन्,’ उनले भने, ‘धेरै व्यक्ति नाकामा पुगेपछि अलपत्र परेका छन् ।’ गत मंगलबार सरकारले नेपालका सबै नाका खुला गर्ने निर्णय गरेको थियो । आइतबार मात्र जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले समेत सर्लाही सदरमुकाम मलंगवासहित आठवटा नाका खुला गर्ने भनेर निर्णय गरेको छ । तर कार्यान्वयन हुन सकेको छैन । नाकामा दुवै देशका सुरक्षाकर्मीहरूले पूर्ववत् व्यवहार गरिरहेको सर्वसाधारणको गुनासो छ । दुवै देशका सुरक्षाकर्मीले माथिको आदेश नआएको भन्दै नाका खुलाउन नमानेका हुन् । प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले डीसीसीएमसीको निर्णयअनुसार जिल्लाका आठ वटै नाका खुलाउन थालिएको बताए ।    

( कान्तिपुर दैनिक )