News Desk
बुटवल — १५ असोज २०७८
बुटवल , कोरोना महामारीका बीच गत वर्ष कपिलवस्तुमा चारपटक परिवार नियोजनका स्थायी बन्ध्याकरण शिविर आयोजना भए । त्यसमा १ सय १३ महिलाले परिवार नियोजन गरे । पुरुष भने जम्मा एक जना थिए । उनी पनि स्वतःस्फुर्त आएका होइनन् । पत्नीको पाठेघर खस्ने समस्या भएका कारण स्थायी नियोजन गर्न नहुने भन्दै फर्काइएपछि उनी आएका हुन् । पश्चिम नवलपरासीमा गत वर्ष ४ सय ८९ जनाले परिवार नियोजन गरे । त्यसमा पुरुष जम्मा ९ जना थिए । त्यसबेला स्वास्थ्यकर्मीले बुझाएको सर्वेक्षणमा उनीहरू पनि विभिन्न समस्याका कारण पत्नीहरूले स्थायी नियोजन गर्न नहुने भएकाले आएको उल्लेख छ । परिवार नियोजनका अस्थायी र स्थायी उपाय अपनाउन बच्चा जन्माउने महिला अघि सर्नुपर्छ । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०७७/७८ मा १ हजार ७ सय २४ जनाले स्थायी परिवार नियोजन गरे । त्यसमध्ये १ हजार ४ सय ८९ जना महिलाले परिवार नियोजन मिनील्याप गरे । त्यसमा भ्यासेक्टोमी गर्ने पुरुष जम्मा २ सय ३५ मात्रै थिए । जिल्लागत रूपमा रूपन्देहीमा १ सय ४४ महिलाले परिवार नियोजन गर्दा १३
पुरुष थिए । बर्दियामा ३ सय ४४ महिलाले परिवार नियोजन गर्दा पुरुष १५ जना थिए । दाङमा ९६ महिलाले बन्ध्याकरण गर्दा पुरुष जम्मा ९ जना भेटिए । प्यूठानमा ६२ महिलाले स्थायी परिवार नियोजन गर्दा पुरुष १३ जनाले मात्रै गरे । पुरुषका लागि अस्थायी परिवार नियोजनको साधन कण्डम मात्रै छ । स्थायी नियोजनका लागि भ्यासेक्टोमी हुन्छ । चिकित्सहकहरूका अनुसार पुरुषहरूले गर्ने स्थायी नियोजन भ्यासेक्टोमी सरल हुने र यसबाट नकारात्मक असर पर्दैन । अस्थायी साधन कण्डम प्रयोग गर्दा पनि यौन असुन्तुष्टि हुने या चरम सुख नपाउने हुँदैन । तर, कमजोर भइने, पुरुषत्व गुम्ने र यौन सन्तुष्टि नमिल्ने भ्रमका कारण पुरुषहरूलाई परिवार नियोजनतर्फ आकर्षित गर्न नसकिएको लुम्बिनी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीले बताए । तराईको तुलनामा पहाडी जिल्लाका पुरुष परिवार नियोजनप्रति केही संवेदनशील छन् । तर, उनीहरू पनि नियोजनको विधि अपनाउन अघि सर्दैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा १० लाख १ हजार ८ सय ६ महिलाले मिनील्याप गर्दा ३ लाख १६ हजार २ सय ६७ पुरुषले मात्रै भ्यासेक्टोमी गराएका थिए ।
भ्यासेक्टोमी गर्दा पुरुषमा रहेको शुक्रकिट बहने नलीलाई काटिन्छ । मिनील्याप महिलाको डिम्बको दुई नसा काटेर गरिन्छ । यसले कमजोर हुने वा यौनक्रियामा बाधा हुने गर्दैन । बन्ध्याकरण शिविरमा महिलाले मात्रै सेवा लिएपछि गत वर्ष लुम्बिनीका केही स्थानमा पुरुषका लागि परामर्श र अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको थियो । त्यसमा दुई वा दुईभन्दा बढी सन्तान जन्माएका दम्पतीलाई भेला गरेर स्थायी परिवार नियोजनबाट कुनै हानि नहुने भन्दै परिवार नियोजन गर्न आग्रह गरिएको थियो । तर, परामर्शपछि पनि पुरुषहरू नियोजन गर्न तयार भएनन् । स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयकी नर्सिङ अधिकृत नेहा थापाले महिलाको तुलनामा पुरुषले बन्ध्याकरण गर्न सजिलो हुने भए पनि बुझाउन नसकिएको बताइन् । ‘महिलाको तुलनामा पुरुषको बन्ध्याकरण सहज छ । महिलाले मिल्दैन तर पुरुषले फेरि सन्तान जन्माउन चाहे उल्टाउन पनि मिल्छ,’ उनले भनिन्, ‘तर पनि पुरुषले परिवार नियोजन गर्नै मान्दैनन् ।’
( कान्तिपुर दैनिक )