ज्येष्ठ नागरिक दिवसकाे उपलक्ष्यमा ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठानको वेमिनार कार्यक्रम
News Desk
Oct-02 , 2021 तारिख 04:53 बिहान

काठमाडौं- ३१ औं ज्येष्ठ नागरिक दिवसकाे उपलक्ष्यमा ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठानले वेमिनार कार्यक्रम आयोजना गरेको छ । शुक्रबार आयोजित उक्त वेमिनार कार्यक्रम गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा वरिष्ठ पर्यटन व्यवसायी एवम् लेखक कर्ण शाक्य, नेपाल महिला चेम्बरकी महासचिव तथा भरतमोहन स्‍मृति फाउण्डेशनकी संस्थापक, जेष्ठ नागरिकको सेवामा कृयाशिल व्यक्तित्व लिमा अधिकारी लगायतको सहभागीता रहेको थियो।

सो अवसरमा मुख्यमन्त्री पोखरेलले ज्येष्ठ नागरिकहरुको सम्मान गर्न सकेमा मात्रै असल भक्ती प्रदर्शित हुने धारणा राख्दै गण्डकी प्रदेश सरकारले जेष्ठ नागरिकहरुलाई प्राथमिकतामा राख्दै कल्याणकारी कार्यक्रम पस्कदै जाने प्रतिबद्धता व्यक्त गरे । साथै, मुख्य मन्त्री पोखरेलले मानिस बाल्यकाल, युवा र वयष्क हुँदै समय क्रमसँगै बुढयौलीमा प्रवेश गर्ने सन्दर्भ उल्लेख गर्दै प्रकृती प्रदत्त जीवन चक्रका क्रममा आउने बुढयौली समयलाई सुखमय बनाउन हरेक नागरिकले आफ्नो स्वास्थ्य प्रति बेलैमा सजगता अपनाउनु पर्ने उल्लेख समेत गरे ।

त्यसैगरि, वरिष्ठ पर्यटन व्यवसायी एवम् लेखक कर्ण शाक्यले जेष्ठ नागरिक प्रति सकारात्मक सोच बोकेर असल व्यवहार गर्नुपर्ने दायित्वबाट कोही पनि विमुख हुन नहुने राय पेश गरे ।

कार्यक्रममा नेपालमा वृद्ध भत्ताका सुत्रधार मानिने पूर्व अर्थमन्त्री स्वर्गिय भरतमोहन अधिकारीकी सुपुत्री समेत रहेकी नेपाल महिला चेम्बरकी महासचिव तथा भरतमोहन स्‍मृति फाउण्डेशनकी संस्थापक लिमा अधिकारीले स्वर्गिय पिताजीको स्मरण गर्दै उनको पदचापलाई पछयाउदै जाने उदेश्य अनुरुप फाउण्डेशनको स्थापना गरि आफुहरुले जेष्ठ नागरिकहरुको हितमा कार्यक्रमहरु पस्कदै आएको बताइन् । साथै, उनले स्वर्गिय अधिकारी २०५१ सालमा नेपालकाे पहिलाे कम्युनिस्ट सरकारकाे अर्थमन्त्री हुँदा ७० बर्ष नाघेका ज्येष्ठ नागरिकका राज्यकाे तर्फबाट मासिक १०० रूपैंया भत्ताकाे शुरूवात गरेकाे स्मरण गर्दै थुप्रै सरकार परिवर्तन भएता पनि यो लोकप्रिय कार्यक्रम भएका कारण वृद्ध भत्ताकाे कार्यक्रमले अटुट रुपमा निरन्तरताका साथ नियमितता पाउदै आएको जिकिर पेश गरिन ।