News Desk
पर्सा — २० असोज २०७८
पर्सा , भारतभन्दा नेपालमा सस्तो हुँदा डिजेलको तस्करी हुन थालेको छ । नेपालको तुलनामा हाल भारतमा डिजेल र पेट्रोल क्रमशः २७ र ३० रुपैयाँ महँगो पर्छ । त्यसैले नेपालबाट भारततर्फ तस्करी बढेको हो । हाल वीरगन्जमा प्रतिलिटर पेट्रोल १२८ रुपैयाँ पर्छ भने डिजेल प्रतिलिटर १११ रुपैयाँमा विक्री भइरहेको छ । जगरनाथपुर गाउँपालिकाबाट ट्याक्टरमार्फत तस्करी गरी भारततर्फ लग्दै गरिएको डिजेल । तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय पर्सा गत आइतबार ना३त २५६६ नम्बरको ट्र्याक्टरमा डिजेल राखेर चोर बाटोबाट भारततिर लैजाने क्रममा पर्सा प्रहरीले नियन्त्रणमा लियो । प्रहरीले वीरगन्जको जानकी टोलाको बाटो हुँदै भारततर्फ लग्दै गरेको अवस्थामा जगरनाथपुर गाउँपालिका–२ बाट ट्र्याक्टरसहित डिजेल बरामद गरेको थियो । चालक ट्र्याक्टर छाडी फरार भएको प्रहरीको भनाइ छ । ट्याक्टरमा ७० लिटर डिजेल फेला परेको थियो ।
३ वर्षयता भारतमा भन्दा नेपालमा इन्धन सस्तो पर्दै आएको छ । त्यसैले भारततर्फ इन्धन तस्करी भइरहेको हो । वीरगन्जलगायतका सीमावर्ती बजारका पेट्रोल पम्पमा इन्धन भर्न आउने भारतीय सवारीसाधनको चाप बाक्लै हुन्छ । मोटरसाइकलदेखि चारपांग्रे सवारी आउने गरेका छन् । भारतबाट मालसामान बोकेर भन्सार नाका तथा पर्सा–बारा औद्योगिक करिडोरका उद्योगमा आउने मालबाहक सवारीसाधनले पनि यही इन्धन भरेर फर्कने गरेका छन् । सवारीसाधनमा इन्धन भरेर फर्कनेलाई कारबाही गर्न नसकिए पनि अन्य भाँडाकुँडामा बोकेर तस्करी गर्नेलाई प्रहरीले पक्राउ गर्न सक्छ । तर, ग्रामीण नाकामा प्रहरीको बाक्लो उपस्थिति हुँदासमेत यदाकदा मात्र यस्ता तस्कर पक्राउ पर्छन् ।
मुलुकमै सर्वाधिक इन्धन आयात हुने नाका वीरगन्ज/आईसीपी भन्सार नाकाबाट समेत इन्धनको आयात बढेको तथ्यांकले देखाएको छ । गत र अघिल्लो आर्थिक वर्षमा पनि कोरोना महामारीको समयमा सवारीसाधन कम चलेका थिए । तर, ती दुवै आर्थिक वर्षमा वीरगन्ज नाकाबाट इन्धन आयात बढेको भन्सार कार्यालयको तथ्यांकले देखिन्छ । गत आवमा वीरगन्ज नाका हुँदै ६४ अर्ब ६० करोड ५४ लाख ६७ हजार रुपैयाँ बराबरको ११ लाख ८९ हजार ७ सय ७३ किलो लिटर डिजेल आयात भएको छ ।
अघिल्लो आवमा ५८ अर्ब २३ करोड ४ लाख ८३ हजार रुपैयाँ बराबरको १० लाख २३ हजार ५ सय ९४ किलो लिटर डिजेल आयात भएको थियो । भन्सार तथ्यांकले पेट्रोलको आयात पनि बढेको देखाएको छ । गत आवमा यो नाका हुँदै १७ अर्ब ८४ करोड २६ लाख २५ हजार रुपैयाँ बराबरको ३ लाख २८ हजार ९ सय ५२ किलो लिटर पेट्रोल आयात भएको छ । अघिल्लो आवमा यो नाका हुँदै १७ अर्ब २४ करोड १३ लाख ९९ हजार रुपैयाँ बराबरको ३ लाख ११ हजार १ सय ३७ किलोलिटर पेट्रोल आयात भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जिल्लाको ग्रामीण भेगबाट भारततर्फ इन्धन तस्करी बढी हुने गरेको बताए । ‘विशेष गरी खेतीपाती प्रयोजनका लागि जेनरेटर तथा ट्र्याक्टरमा प्रयोग गर्न भनी ट्र्याक्टरमै बोकेर खेततर्फ लग्ने चलन छ,’ उनले भने, ‘खेतीपातीको बहानामा इन्धन भारततर्फ लग्ने गर्छन्, नियन्त्रणका लागि सक्दो प्रयास जारी छ ।’
( कान्तिपुर दैनिक )